मानिस वृद्ध हुँदै गएपछि उनीहरु परिवार र छोराछोरीका लागि आर्थिक र सामाजिक रुपमा निर्भर बन्दै जान्छन् । उनीहरुलाई आश्रित जनसङ्ख्याका रुपमा हेरिन्छ । तर, कार्यबलमा ५० वर्षभन्दा माथिको उमेरका मानिसहरु रहेको खण्डमा उनीहरुले युवाका लागि बढीभन्दा बढी रोजगारी सृजना गर्नसक्ने एक नयाँ तथ्य फेला परेको छ । कार्यक्षेत्रमा वृद्ध मानिस रहेको खण्डमा युवा कर्मचारीको तलब बढाउनसमेत सहयोग पुग्ने बेलायती सरकारद्वारा नियुक्त गरिएकी अभियन्ता रोस अल्टमनले तयार पारेको एक अध्ययन प्रतिवेदनमा भनिएको छ । काम गर्ने उमेरमा हुने विस्तारले बेलायती अर्थतन्त्रमा वार्षिक ५५ अर्ब पाउण्डबराबरको योगदान गर्ने उनको अध्ययनले देखाएको छ ।
हरेक मानिसले १ वर्ष मात्रै पनि लामो समय काम गरेको खण्डमा यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा वार्षिक १ प्रतिशत थप्ने उनले बताएकी छन् । ‘कार्यक्षेत्रमा बढी वृद्धवृद्धा मानिसलाई राख्दा यसले रोजगारी बढाउने र तलब वृद्धिजस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने ऐतिहासिक र शैक्षिक प्रमाणहरुले देखाएका छन्,’ बेलायती सरकारको मुख्यालय ‘१० ड्राउनिङ स्ट्रिट’का पूर्वसल्लाहकारसमेत रहेकी अल्टमनले भनेकी छन् । वृद्ध मानिस लगातार काम गरिरहेको अवस्थामा उनीहरुसँग खर्च गर्नका लागि धेरै पैसा हुने हुँदा यसले आर्थिक विस्तार र रोजगारी सृजनामा सहयोग गर्ने उनको कथन छ ।
उता, वृद्ध मानिसलाई काम गर्न रोक लगाउँदा अर्थतन्त्रसमेत नराम्ररी प्रभावित हुने र यसले रोजगारी सृजनालाई समेत प्रभावित गर्ने बताइएको छ । ५० वर्षभन्दा माथि उमेरका मानिसले हालकै अवस्थामा काम गर्न छोड्दै जाने हो भने भविष्यमा बेलायतमा दक्ष श्रमिकको उच्च अभाव हुने निश्चितप्रायः रहेको अल्टमनले बताएकी छन् । सन् २०२२ सम्म बेलायतमा १६ देखि ४९ वर्षका मानिसको सङ्ख्या ७ लाखले घट्ने अध्ययनको निष्कर्ष छ ।