कार्यालयमा काम गर्ने होस् वा अन्य जो कोहीलाई पनि छुट्टी आवश्यक पर्छ । कामबाट केही समय छुट्टी लिँदा ताजा महसूस हुन्छ । यसले उत्पादकत्व पनि बढाउँछ । तर, अमेरिकामा भने मानिसहरु छुट्टी लिनै चाहँदैनन् । यसैकारण त्यहाँ वर्षेनि ५२ अर्ब ४० करोड डलरबराबरको पेड लीभ खेर जाने गरेको नयाँ तथ्य फेला परेको छ । अमेरिकी आर्थिक विश्लेषक संस्था अक्सफोर्ड इकोनोमिक्सले गरेको एक अनुसन्धानमा यस्तो पाइएको हो । कर्मचारीले पेड लीभ नलिएको अवस्थामा त्यहाँ तनाव सृजना हुनुका साथै त्यसले कम्पनीको आर्थिक परिणाम र व्यावसायिक स्थितिलाई समेत प्रभावित पार्नसक्ने अध्ययनले देखाएको छ । अमेरिकी व्यवसायले २ खर्ब २४ अर्ब डलरबराबरको पेड लीभ भुक्तानी गर्नुपर्ने भएको तथ्य सार्वजनिक भएको छ ।
यस दायित्वमा बिरामी बिदा र व्यक्तिगत बिदा नपर्ने भए पनि यो कर्मचारीले वर्षौंसम्म प्रयोग नगरेका पेड लीभबाट निर्माण भएको अध्ययनमा पाइएको छ । यसबाट गतवर्ष मात्र ६५ अर्ब ६० करोड डलर ऋण बेहोर्नुपरेको बताइएको छ । यस अध्ययनलाई यूएस ट्राभल एशोसिएशनले तयार पारेको हो । यस अध्ययन प्रतिवेदन तयार गर्न अक्सफोर्ड इकोनोमिक्सले १ सय १४ ओटा सरकारी कम्पनीको फाइलिङ गर्ने सेक्युरिटी एक्सचेञ्ज कमिशनको समीक्षा गर्दै निजीक्षेत्रका ३ लाख ७७ हजार कर्मचारीबीच गरिएको अध्ययनबाट तयार गरिएको हो । पेड लीभ नलिनु कर्मचारीका लागि मात्र नभई कम्पनीका लागि पनि हानिकारक छ । लीभ नलिएका कारण कर्मचारीको उत्पादकत्वमा समेत कमी आउने र यसले कम्पनीको नाफा प्रभावित पार्ने बताइएको छ ।