भारतको बिहार राज्यस्थित गया शहरमा भिखारीहरुको एक समूहले आफ्नै बैङ्क खोलेका छन् । त्यहाँको मा मङ्गलागौरी मन्दिरको ढोकामा श्रद्धालुको भिक्षामा आश्रित दर्जनौं भिखारीले ‘मङ्गला बैङ्क’ नामक बैङ्क खोलेका हुन् । यो बैङ्कको सञ्चालन र प्रबन्धसमेत भिखारीहरुले गरेका छन् । बैङ्कमा ४० जना सदस्य छन् । ‘बैङ्क प्रबन्धक, कोषाध्यक्ष, सचिव, एजेण्ट र बैङ्क चलाउने अन्य सबै भिखारी नै छन्,’ बैङ्क प्रबन्धक राजकुमार माझीले भने । सबै सदस्यले साताको मङ्गलवार २० रूपया जम्मा गर्ने बैङ्कका एजेण्ट विनायक पासवानले बताएका छन् ।
यो बैङ्क ६ महीना अगाडि मात्र भिखारीहरुको अभिलाषा पूरा गर्न स्थापना भएको बताइएको छ । यो बैङ्क खोल्न अन्त्यन्त निर्धन एवं समाजकल्याण राज्य समितिका अधिकारीहरुले प्रोत्साहित गरेका थिए । समाजमा भिखारीहरुलाई हेयको दृष्टिले हेर्ने र राम्रो व्यवहारसमेत नगर्ने भएकाले भिखारीहरुको सहायताका लागि बैङ्क खोलिएको बताइएको छ । कर्जामा दिइएको रकम फिर्ता गर्ने दबाब सृजनाका लागि कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज लगाइएको छ ।