हामी एटीएम पैसा झिक्नका लागि प्रयोग गर्ने गर्छौं । केही समयअघि भारतमा दूधका लागि पनि एटीएम खोलिएको थियो । यस्तैमा भारतको उत्तर प्रदेशस्थित मथुरा शहरमा पानीका लागि पनि एटीएम स्थापना गरिएको छ । त्यहाँको सोंख गाउँमा एटीएमजस्तै मेशिनबाट पानी वितरण गर्ने
प्रणालीको सिने तारिका तथा भारतीय संसद्की सदस्य हेमा मालिनीले सोमवार उद्घाटन गरिन् । यसबाट त्यहाँको पानीको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । मथुराको यो गाउँले धेरै समय अगाडिदेखि पानीको अभाव बेहोर्दै आएको थियो ।
यो मेशिनमा आरओ प्लाण्ट भएको र यो उत्तर प्रदेशमै पहिलो भएको बताइएको छ । उक्त मेशिनले करीब २ हजार ५ सय परिवारलाई पानीको आपूर्ति गर्नेछ । पानीका लागि पैसा तिर्न प्रि–प्रेड कार्ड उपलब्ध गराइनेछ । यसबाट वितरण गरिने पानी निकै सस्तो अर्थात् प्रति २० लिटर २ रूपया पर्ने बताइएको छ । यद्यपि, विद्यालय जाने विद्यार्थीले भने उक्त मेशिनबाट निःशुल्क पानी पाउनेछन् । २० हजार लिटर क्षमताको उक्त संयन्त्र स्थापनाका लागि करीब १८ लाख ५६ हजार रूपया खर्च लागेको बताइएको छ ।