कुनै पनि कम्पनी प्रमुखको खराब व्यवहारले कम्पनीलाई करोडौं डलर घाटा हुनसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको मिसिसिपी स्टेट युनिभर्सिटी, ड्रेक्सेल युनिभर्सिटी र नर्थन इलिनोय युनिभर्सिटीका अनुसन्धानकर्ताले संयुक्त रुपमा तयार पारेको आधारपत्रअनुसार सीईओका मादक पदार्थ सेवन गरेर सवारी चलाउनेदेखि घरेलु झगडाजस्ता व्यवहारबाट कम्पनीको शेयरमूल्य १ दशमलव ६ प्रतिशतले घट्नेछ । फलतः कम्पनीलाई औसत ११ करोड डलरसम्म घाटा हुनसक्छ । कम्पनीका प्रमुख कार्यकारीको अमर्यादित व्यवहारले भने शेयरमूल्यमा तत्कालै ४ दशमलव १ प्रतिशत वा २२ करोड डलरभन्दा बढीको नोक्सानी हुनेछ ।
कम्पनीको विश्वसनीयतामा यसले कमी आउनसक्ने अध्ययनका लेखक तथा नर्दन इलिनोय युनिभर्सिटीका फाइनान्सका सहप्राध्यापक याडम योरले बताएका छन् । ‘यदि हाकीमले आफ्नी श्रीमतीलाई नै ढाँटिरहेको छ भने उसले हामीलाई पनि ढाँट्नसक्छ भन्ने चिन्ता शेयरधनीमा रहन्छ,’ योरले भने । योर र उनका सहलेखकहरुले सन् १९७८ देखि सन् २०१२ सम्म हाकीमका व्यक्तिगत जीवनको दुरुपयोग, हिंसा, बेइमानीजस्ता २ सय १९ ओटा उदाहरणको अध्ययन गरेका थिए । यसमा आधाभन्दा बढी यौन उत्पीडनका उदाहरण थिए । सो कार्यमा ९६ प्रतिशत पुरुष संलग्न रहेको पाइएको थियो ।
अनुसन्धाताले विगत १६ वर्षमा स्ट्याण्डर्ड एण्ड पुअर्स (एसएण्डपी)को सूचीमा समावेश हुन सफल २ हजार २ सयओटा कम्पनीबीच तुलनात्मक अध्ययन गरेको थियो । यसमा खराब व्यवहार गर्ने हाकीम भएको कम्पनीको मूल्य वर्षमा १० देखि ११ प्रतिशतले घटेको पाइयो । त्यस्तै, सम्पत्ति फिर्र्तामा मापन हुने कम्पनीको सञ्चालन प्रदर्शन पनि उक्त आर्थिक वर्षमा १ दशमलव ७ प्रतिशतले कमी आएको पाइयो । यसले कम्पनीमाथिको विश्वास गुमाउनेमा शेयरधनी मात्र नरहेको देखाएको छ । हाकीम शङ्काको घेरामा आएपछि ग्राहक र आपूर्तिकर्ताहरुले समेत उसलाई प्रतिस्थापन गर्न चाहने अध्ययनका क्रममा पाइएको छ । यसले कम्पनीलाई कम प्रभावकारी बनाउनुका साथै वासलातमा समेत नोक्सानी पु¥याउने अनुसन्धानकर्ताले बताएका छन् ।