गृहिणीका तुलनामा कामकाजी महिलाका छोरीहरुले राम्रो जागीर पाउने सम्भावना बढी हुने एक अध्ययनले देखाएको छ । कामकाजी महिलाका छोरीहरुको ‘करियर’ उत्कृष्ट हुने अमेरिकास्थित हार्वर्ड युनिभिर्सिटीले गरेको अध्ययनले देखाएको छ । उनीहरुले राम्रो जागीर पाउनु र करियरमा सफलता हासिल गर्नुमा तिनीहरुका दाजुभाइको भूमिका र सहयोग पनि महङ्खवपूर्ण हुने अध्ययनमा पाइएको छ । यो प्रतिवेदन २४ ओटा विभिन्न राष्ट्रमा गरिएको अध्ययनका आधारमा तयार गरिएको हो ।
कामकाजी महिला आफ्ना छोराछोरीको भविष्यका बारेमा सधैं चिन्तनशील र जागरुक रहने अध्ययनकी प्रमुख अनुसन्धानकर्ता क्याथलिन म्याकगेनले बताएकी छन् । कामकाजी महिलाका छोरीहरुले आफ्ना समकक्षी गृहिणी महिलाका छोरीहरुको तुलनामा जागीरमा ४ प्रतिशत बढी कमाइ गर्ने अध्ययनको निष्कर्ष छ । कामकाजी महिलाका प्रत्येक तीन छोरीमध्ये एक जना व्यवस्थापक तहमा रहेको अध्ययनमा पाइएको छ । ‘कामकाजी महिला आफ्ना छोरीलाई त्यस्तो शीप र ज्ञान सिकाउँछिन्, जसले उनीहरुलाई भविष्यमा नेतृत्वदायी पदमा पुर्याओस्,’ म्याकगेनले भनेकी छन् ।
जागीरदार महिलाका छोरीहरुको करियर बढी सफल हुने तथ्य फेला परे पनि अध्ययनमा त्यस्ता छोराहरुको सफलताको विषयमा भने कुनै उल्लेखनीय सम्बन्ध नदेखिएको बताइएको छ । यद्यपि, कामकाजी महिलाका छोराहरु बढी सकारात्मक हुने र उनीहरुले आफ्नो पारिवारिक हेरचाहमा बढी समय बिताउने गरेको अध्ययनमा पाइएको छ । विश्व श्रम बजारमा महिला प्रवेश गर्ने क्रम तीव्र रुपमा बढिरहेको भए पनि पुरुषले घरायशी काममा सघाउने क्रम भने सुस्त बनेको अध्ययनले देखाएको छ । घरको काममा महिलाको बोझ अधिक हुने भएकाले सामाजिक जीवनमा उनीहरुको विकल्प सीमित हुने गरेको पाइएको छ ।