कुवेतको प्रहरीले एक यस्तो भिखारीलाई पक्राउ गरेको छ, जसको बैङ्क खातामा ५ लाख कुवेती दिनार (१६ करोड रुपया) छ । प्रहरीले कुवेत शहरको एक मस्जिद अगाडि भीख मागिरहेको उक्त मानिसलाई पक्राउ गरेको हो । स्थानीय पत्रिका ‘खलीज टाइम्स’ले सुरक्षा सूत्रलाई उद्धृत गर्दै बताएअनुसार यो भिखारी गैरकुवेती हो । भीख माग्ने क्रममा भिखारीले आफुसँग घर नभएको र पैसाको अत्यन्त आवश्यकता रहेको भन्दै मस्जिद जाने मानिसहरुसँग पैसा दिन याचना गरिरहेको थियो । कानून तोडेको आरोपमा प्रहरीले उक्त भिखारीलाई पक्राउ गरेको थियो ।
प्रहरी थानामा लगेर जाँच गर्दा स्थानीय बैङ्कमा उक्त व्यक्तिको खातामा ५ लाखभन्दा बढी कुवेती दिनार भएको पाएको थियो । अन्य खाडी मुलुकहरु बहराइन, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जस्तै कुवेतमा पनि भीख माग्नु गैरकानूनी मानिन्छ । गएको अप्रिलमा मात्र कुवेतले २२ जना भिखारीलाई देशबाट बाहिर निकालेको थियो । जसमा एशियालीहरु पनि थिए । कानूनले भीख माग्ने कामलाई बर्जित गरेको भए पनि पछिल्लो समय खाडी मुलुक कयौं विदेशीहरुका लागि आकर्षक भीख माग्ने ठाउँ भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।