बढ्दो वातावरण प्रदूषण विश्वमा एउटा विकराल समस्या बन्दै गइरहेको छ । वातावरण सफा र स्वच्छ राख्न अनेक प्रकारका उपायहरु अपनाइने गरिएको छ । त्यस्तै छिमेकी राष्ट्र भारतमा पनि यस्तै एउटा गजबको काइदा अपनाइएको छ । भारतमा फोहोरको उचित व्यवस्थापन गर्नेलाई निःशुल्क वाइफाइ इण्टरनेट सेवा दिने लोभलाग्दो अभियान शुरुआत भएको छ । व्यवस्थापनमा स्नातक गरेका दुई जना भारतीय युवा प्रतीक अग्रवाल र राज देशाईले दैनिक जीवनमा इण्टरनेटको महङ्खव बुझ्दै ‘वाइफाइ ट्र्याश विन’ अभियानको थालनी गरेका हुन् ।
योजनाअनुसार फोहोरलाई ट्र्याश विन अर्थात् फोहोर फ्याँक्ने भाँडोमा फालेमा निःशुल्क रुपमा वाइफाइ चलाउन पाइन्छ । ‘जब कसैले ट्र्याश विनमा फोहोर फाल्छ, तब त्यो स्मार्ट भाँडोमा एउटा कोड चम्कन थाल्छ, वास्तवमा त्यो वाइफाइ कोड हो र यसबाट सित्तैमा इण्टरनेट चलाउन पाइन्छ,’ अग्रवालले भने । हालै मात्र डेनमार्क, फिनल्याण्ड र सिङ्गापुरको भ्रमण गरी त्यहाँको फोहोर व्यवस्थापनको गहन अध्ययन गरेर फर्केका ती दुई युवाले वातावरण स्वच्छ राख्न मानिसको व्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको ठहर गर्दै यस्तो अभियान ल्याएका हुन् । एक सङ्गीत समारोहका अवसरमा गएको बेला यस्तो सोच आएको उनीहरुको भनाइ छ ।
फोहोर फाल्ने भाँडोमै वाइफाइको हट स्पट तयार गर्ने र सोही कोड उपलब्ध गराएर निःशुल्क वाइफाइ उपलब्ध गराउन सकिएमा मानिसहरुमा खुला ठाउँमा फोहोर नफालेर फोहोर फाल्ने भाँडोमै फ्याँक्ने चेनता जागृत हुने उनीहरुले अपेक्षा राखेका छन् । शहरलाई सफा र स्वच्छ राख्नु नै यस नवप्रवर्तन सोचको लक्ष्य रहेको उनीहरुको भनाइ छ । उनीहरुले आफ्नो नयाँ आविष्कारलाई दिल्ली, कोलकाता बैङ्गलोरजस्ता शहरहरुमा प्रदर्शनीमा राखिसकेका छन् । उनीहरुको यस प्रयासले राम्रो प्रशंसा बटुलिरहेको छ भने सरकारी स्तरबाट समेत सहयोगको आश्वासन प्राप्त भएको छ ।