गूगल कम्पनीका कर्मचारीले अन्य उच्च प्रविधि कम्पनीका कर्मचारीले भन्दा धेरै सुविधा पाउँछन् । यो त धेरैले जानेकै कुरा भयो । तर, कर्मचारीले पाउने विभिन्न छुट्टीहरुसम्बन्धी यसको नियमचाहिँ लगभग अरु प्रविधि कम्पनीसँग मिल्छ । जस्तो कि, काम गर्न थालेको पहिलोदेखि तेस्रो वर्षसम्म कर्मचारीले वर्षमा १५ दिन छुट्टी लिन पाउँछन्, चौथो वर्षमा २० दिन छुट्टी लिन पाउँछन् र ६ वर्षभन्दा बढी काम गरेकाहरुले वार्षिक २५ दिन यसरी बिदा लिन पाउँछन् ।
तर, छुट्टीसम्बन्धी गूगलको नियममा अन्यत्र कतै नसुनिएको एउटा थप व्यवस्था पनि छ, जुन व्यवस्थाअनुसार गूगलका कर्मचारीले आफूले लिन पाउने छुट्टी अर्को सहकर्मीलाई दान दिन पाउँछन् ।
केही वर्षअघि एकजना कर्मचारीका बाबु हो कि आमा बिरामी भएपछि गूगलका ती कर्मचारीलाई आफूले पाउने बिदाले पुगेन । त्यो अवस्था देखेपछि एक सहकर्मीले आफूले पाउन सक्ने बिदाका दिनमध्ये केही त्यो अर्को साथीलाई दान दिन पाउने प्रस्ताव गरे । त्यसै बेलादेखि छुट्टीदानको प्रणाली शुरु भयो ।
यो विवरण गूगलको मानव संसाधन प्रमुख ल्याज्लो बोकले हालै सम्पन्न ‘कर्मचारीका पितामातालाई कार्यस्थलमा ल्याउने दिवस’का अवसरमा मञ्चमा उभिएरै सुनाएका हुन् । यस अवसरमा गूगल कर्मचारीका मातापिता विभिन्न देशबाट गूगलको माउण्टेल भ्यू क्याम्पसमा जम्मा हुन्छन् र गूगल तथा आफ्ना छोराछोरीको कामबारे जानकारी लिन्छन् ।
(बिजनेश इन्साइडरबाट साभार)