पछिल्लो समयमा नेपालमा मात्र होइन, विश्वभरि नै चीनमा निर्मित सामग्रीहरुको बिगबिगी छ । चीनले सबै क्षेत्र र देशका न्यून वर्गदेखि उच्च वर्गसम्म सबैको हैसियतअनुसार सस्ता र महँगा सामग्री उत्पादन गर्दै आएको छ । हामी नेपालीका पनि दैनिक जीवनमा प्रयोग हुने सामानहरुलाई नियाल्ने हो भने यसमा ‘मेड इन चाइना’ नै धेरै छन् । चिनियाँ सामान आर्थिक दृष्टिकोणले सस्तो भए पनि वातावरणका लागि भने निकै महँगो भएको एक नयाँ अध्ययनले देखाएको छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका ऊर्जा वैज्ञानिक स्टिभन डेभिसले हार्वार्ड युनिभर्सिटी र युनिभर्सिटी अफ मेरिल्याण्डका अनुसन्धाताहरुसँग मिलेर गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार अन्य देशमा बनेका सोही वस्तुको तुलनामा चीनमा बनेका वस्तुहरुले उच्च कार्बनडाइअक्साइड उत्सर्जन गरेको पाइएको छ । त्यहाँका कारखानाहरुले पुरानो प्रविधिमा आधारित भएर त्यस्ता वस्तुहरु उत्पादन गरेको र सामग्री उत्पादनका लागि उच्च कार्बन उत्सर्जन गर्ने कोइला भट्टीहरुबाट उत्पादित बिजुली प्रयोग गरेकाले यस्तो भएको हो । सबैभन्दा बढी प्रदूषणकारी प्रोपलिन उत्पादन गर्ने पेट्रोकेमिकल प्लाण्ट भएको पाइएको छ । प्रोपलिन अधिकांश प्लाष्टिकजन्य उत्पादनहरुमा प्रयोग हुने मुख्य तत्त्व हो ।
चीनमा एक पाउण्ड प्रोपलिन उत्पादन गर्दा ईयूमा भन्दा २१ गुणा बढी कार्बन उत्र्सजन हुने सो अध्ययनका एक अनुसन्धानकर्ता युनिभर्सिटी अफ क्यालिफोर्नियाका ऊर्जा वैज्ञानिक स्टिभन डेभिसले बताएका छन् । अनुसन्धाताहरुले चीनमा उत्पादन हुने विभिन्न वस्तुका जीवन–चक्रको मूल्याङ्कन गर्नुका साथै चिनियाँ कम्पनीहरुले वस्तु र सेवा कसरी विनिमय गर्छ भन्ने विश्लेषण गरेका थिए । त्यस्तैगरी, अनुसन्धाताहरुले विभिन्न कारखानाले खपत गरेको ऊर्जा र ऊर्जाबाट कति कार्बनडाइअक्साइड उत्सर्जन भयो भन्ने गणना गरेका थिए । यी तथ्यहरु नेचर क्लाइमेट चेञ्ज नामक जर्नलमा प्रकाशित भइसकेको छ ।