एटीएमबाट भएका चोरीका घटनाबारे हामीले कयौंपटक सुनेका छौं । प्रहरी प्रशासन र बैङ्कले यस्ता घटना नियन्त्रण गर्न विभिन्न उपाय अपनाइरहेका छन् । तर, ती उपायहरुले चोरी रोक्न सकेका छैनन् । यस्तैमा भारतमा नोयडा र ग्रेटर नोयडास्थित एक बैङ्कले भने एटीएममा चोरी हुनबाट रोक्न नयाँ तरीका अपनाएको छ । ग्रेटर नोयडाको कसना थाना क्षेत्रमा रहेको बैङ्कको एटीएममा चोरी गर्न पसेका चोरहरु भागेको समाचार सार्वजनिक भएको छ ।
मध्य राति एटीएममा चोरी गर्न भनेर गएका चोरहरु एटीएम मेशिनबाट अनौठो अनौठो खालका आवाज आएपछि डराएर भागेका हुन् । लामो समयसम्म पनि आवाज बन्द नभएपछि तिनीहरु भागेका थिए । सीसीटीभी क्यामराबाट एटीएमको निगरानी गर्ने समूहले एटीएम काउण्टरभित्र विभिन्न खाले डरलाग्दो आवाज निकाल्ने स्पिकर जडान गरेका थिए । त्यही आवाज सुनेर चोरहरु भागेका हुन् । बैङ्कले सो घटनाबारे प्रहरीलाई जानकारी दिएको भए पनि तिनीहरु प्रहरीको पहुँचभन्दा पर पुगिसकेकाले समात्न नसकिएको बताइएको छ । यसअघि चोरहरुले ग्रेटर नोयडामा नै पूरै एटीएम मेशिन नै उखेलेर लगेका थिए । एजेन्सी