आजकाल अनलाइनमा सामान बिक्ने कुरा सामान्य भइसक्यो । हरेक कुरा हामी अनलाइनमार्फत खरीद गर्न सक्छौं । तर, गोबरले बनाइएको गुइँठा पनि अनलाइनमार्फत विक्री हुने कुरा भने त्यति सामान्य होइन । तर, भारतमा यस्तै भएको छ । भारतीय अनलाइन खुद्रा विक्रेताहरुले गोबरले बनाइएका गुइँठा पनि हट केक जस्तो अनलाइनमा विक्री गर्दै आएका छन् । ग्रामीण क्षेत्रका प्रायजसो महिला गाईको गोबरमा पराल मिसाएर यस्तो गुइँठा बनाएर घाममा सुकाउँछन् । सुकेपछि त्यसलाई आगो बाल्न प्रयोग गरिन्छ । प्रायः ग्रामीण क्षेत्रमा पाइने यस्ता वस्तुको आजकाल शहरी क्षेत्रतर्फ पनि माग बढ्दै गएको बताइएको छ ।
गाउँको लोक संस्कृतिमा भिज्न र आफ्नो बाल्यकालको सम्झनाका लागि पनि यस्ता वस्तुको माग बढी हुने गरेको छ । एमेजोन र इबेजस्ता अनलाइन खुद्रा विक्रेताहरु शहरी क्षेत्रका मानिसको यस्तो चाहना पूरा गर्न अघि बढ्दै छन् । ठूलो परिमाणको गुइँठा अर्डरका लागि आफूले छूटको समेत व्यवस्था गरेको केही विक्रेताहरु बताउँछन् । केही उपभोक्ताले भने गुइँठा उपहारका रुपमा प्याक गर्नसमेत भनिरहेको उनीहरुको भनाइ छ ।
‘गत अक्टोबरयता हामीकहाँ गोबरको गुइँठा विक्री गर्न चाहने केही विक्रेताहरुले नाम टिपाइरहेका छन् र केही ग्राहकले यसको अर्डरसमेत दिएका छन्,’ एमेजोन भारतका प्रवक्ता माधवी कोचरले बताएकी छन् । यस्तो अर्डर प्रायजसो गोबरको गुइँठा खरीद गर्न कठिन हुने शहरी क्षेत्रबाट आउने गरेको उनको भनाइ छ । यस्तो गोबरको गुइँठालाई प्रतिप्याकेट १ सयदेखि ४ सय रुपया पर्ने बताइन्छ । रासस/एपी