गोलभेंडा तरकारी, मासुलगायतका परिकारहरुमा अनिवार्य रुपमा चाहिने सामग्रीमध्ये एक हो । नेपालीले आलुजस्तै गरी गोलभेंडालाई पनि हरेक प्रकारको तरकारीमा प्रयोग गर्ने गरेका छन् । तर, एउटै गोलभेंडाको मूल्य २ सय १४ रूपया (२ डलर) पर्ने भयो भने हामी गोलभेंडा किन्छौं होला त ? अवश्य पनि किन्नुअघि हामीले सयौंपटक आफ्नो खल्ती छाम्नुपर्ने स्थिति हुन्छ । अहिले नेपालमा यो स्थिति आइसकेको छैन । तर, अफ्रिकी मुलुक नाइजेरियामा भने अहिले गोलभेंडामा इबोला महामारी फैलिएर ठीक त्यस्तै भएको छ ।
अन्तरराष्ट्रिय समाचार संस्था एएफपीमा छापिएको समाचारअनुसार ‘टुटा इब्सोलुटा मथ’ अर्थात् ‘टोम्याटो इबोला’को सङ्ज्ञा दिइएको यो रोगले त्यहाँका ८० प्रतिशतभन्दा बढी गोलभेंडा खेती नष्ट भएको छ । यो रोगका कारण २ सयभन्दा बढी गोलभेंडा खेती गर्ने कृषकले १ अर्ब नाइराभन्दा बढीको घाटा बेहोरेका छन् । गोलभेंडामा देखिएको यो नयाँ रोगका कारण यो रोप्न र खेती गर्न निकै गाह्रो भएको छ । यसअघि ३ सय नाइरादेखि १ हजार ५ सय नाइरा पर्ने गोलभेंडाको एक होलसेल बास्केटको मूल्य बढेर अहिले ४२ हजार नायरा (२ सय १२) डलर पुगेको छ ।
गोलभेंडा नाइजेरियन खानामा प्रयोग हुने अत्यावश्यक सामग्री हो । यो सुप, खिचडीदेखि तरकारी र मासुसम्म हरेक परिकारमा प्रयोग हुन्छ । तर, गोलभेंडाको अभावले अहिले आममानिसदेखि होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गर्नेहरु सबै प्रभावित बनेका छन् । आफ्नो रेष्टुराँका लागि गोलभेंडा किन्नु टाउको दुखाइको विषय हो भनेर रेष्टुराँ सञ्चालिका रोड इडेटले कहिल्यै पनि सोचेकी थिइनन् । तर, गोलभेंडाको बढ्दो मूल्यले अहिले उनको टाउको दुखाइरहेको छ र नाइजेरियन परिकारको पारखी ग्राहकहरु पनि घटिरहेका छन् । ‘हामीहरुले टोमाटो अर्मागेडनको सामना गरिरहेका छौं,’ एएफपीलाई उनले भनिन् ।
‘मेरो ३६ वर्षको अनुभवमा मैले कहिल्यै पनि यस्तो स्थिति देखेको थिइनँ,’ उनले अझ अगाडि भनिन् । ताजा गोलभेंडा किन्न सक्ने स्थिति नै नबनेपछि मानिसहरु टोम्याटो प्युरी, टोम्याटो सस र केचअफ किन्नतिर आकर्षित बनेको तर यसको मूल्य पनि बढ्दै गइरहेको गुनासो माइक्रोब्लगिङ साइट ट्विटरमा कयौं नाइजेरियनले गरेका छन् ।
अहिले गोलभेंडा त्यहाँ सुनसरह नै बनेको बताइएको छ । एक लिटर इन्धन किन्न १ सय ४५ नाइरा खर्च गर्नुपर्ने स्थिति रहेकोमा अहिले तीनओटा गोलभेंडा किन्न २ सय नाइराभन्दा बढी तिर्नु परेको एक गृहणीले बताएकी छन् । यो रोग अहिलेसम्म एशिया विशेषगरी दक्षिण एशियाली मुलुकहरुमा देखा परेको छैन । गोलभेंडामा लागेको यो रोगका कारण विदेशबाट नेपालमा आयात हुने उच्च ब्राण्डका टोम्याटो सस, केचअफ र प्युरीको मूल्य महँगिन सक्ने विश्लेषण गरिएको छ । रासस/एएफपी