मान्छेको जात नै यस्तो छ कि उसलाई जति भए पनि पुग्दैन । कसैलाई धेरै पाउँदा पनि अझ कम नै भयो भन्ने लाग्न सक्छ । कोही चाहिँ थोरैमा पनि चित्त बुझाउने खालका हुन्छन् । आफूले पाउने तलब, पुरस्कारप्रति हरेक मानिसको धारणा फरक फरक हुन सक्छ । यसमा महिला र पुरूषको सोच पनि फरक फरक छ । आफूले प्राप्त गर्ने तलबप्रति पुरूष कर्मचारीभन्दा महिला कर्मचारी बढी सन्तुष्ट हुने हालै भएको एक सर्वेक्षणले देखाएको छ । पुरूष कर्मचारीले आफूले पाएको रकमलाई बढी महत्त्व दिने भएकाले तिनीहरु सन्तुष्ट नभएका हुन् ।
अनुसन्धाता संस्था अर्नेष्ट एण्ड योङ (ईवाई)ले गरेको रिवार्ड सर्भेअनुसार हरेक चार कर्मचारीमध्ये एक जना चाहिँ आफूलाई दिइने पुरस्कारप्रति असन्तुष्ट रहेको पाइएको छ । त्यस्तैगरी पुरूष कर्मचारीले करार सम्झौतामा आफूलाई कति तलब दिइएको छ भन्ने कुरालाई बढी प्राथमिकता दिने तर महिलाले भने समग्र तलब भत्तामा ध्यान दिने बताइएको छ । सर्वेक्षणमा संलग्न ६६ प्रतिशत महिला कर्मचारीले आपूmलाई दिइएको तलब र पुरस्कारप्रति सन्तुष्ट रहेको अभिव्यक्ति दिएका र यस्तो जवाफ दिने पुरूषको सङ्ख्या ५५ प्रतिशतमात्र रहेको ईवाईले बताएको छ ।
यी तथ्यहरु १२ उद्योगका १ सय २८ रोजगारदाता र ४ सय ५२ जना कर्मचारीबीच गरिएको सर्वेक्षणको नतीजामा आधारित रहेको छ । सर्वेक्षणमा सहभागी २४ प्रतिशत कर्मचारीले कम्पनीले दिने गरेको पुरस्कारप्रति पूर्णतः असन्तुष्टि व्यक्त गरेका छन् । उता, २० प्रतिशत कर्मचारी चाहिँ यसप्रति कस्तो प्रतिक्रिया दिने भन्नेमा अनिश्चित रहेको र ६५ प्रतिशत चाहिँ सन्तुष्ट पाइएको छ । २५–३० वर्ष उमेरसमूहका कर्मचारीबीच सन्तुष्टिको स्तर निकै थोरै रहेको प्रतिवेदनमा बताइएको छ । प्रतिवेदनअनुसार ३०–३५ वर्षबीचका कर्मचारीले उच्च सन्तुष्टि व्यक्त गरेको र ३५–४० वर्ष उमेरसमूहमा सन्तुष्टि घटेको पाइएको छ ।