विश्वको सबैभन्दा ठूलो जापानी अटोनिर्माता कम्पनी टोयोटाले टोकियोस्थित मुख्यालयमा रहेको आठमध्ये दुईअोटा लिफ्ट बन्द गरेको छ । कम्पनील लागत घटाउन र खर्च कटौती गर्ने यस्तो कदम चालेको बताएको छ । विश्वव्यापी अर्थतन्त्रमा देखिएको सुस्ती र जापानी मुद्रा येनको भाउमा भएको वृद्धिले नाफा घटाउँदै लगेका कारण कम्पनीले एयर कण्डिशनिङ तापक्रमलाई समेत समायोजन गरेको छ ।
कम्पनीलाई सहयोग गर्न चालिएका यस्तै प्रकारको कदम कम्पनीले सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटको समयमा समेत चालेको थियो । यद्यपि, कम्पनीले चालेका यस कदमबाट कति लागत बचाउने अनुमान गरिएको छ भन्ने कुरा भने खुलाइएको छैन । ‘यस्ता नीति नौला होइनन्,’ टोयोटाका प्रवक्ताले भने । कर्मचारीमाझ जनचेतना फैलाउने, अरूको भर नपर्ने र नोक्सानी घटाउने टोयोटाको प्रतिबद्धताबारे स्मरण गराउनु नै यस कदमको प्रमुख लक्ष्य रहेको बताइएको छ ।
जापानी प्रधानमन्त्री सिञ्जो आवेले येनको भाउ घटाउने लक्ष्यसहित ल्याएको स्टिमुलस कार्यक्रमयता टोयोटाले लगातार ३ वर्षसम्म कीर्तिमानी नाफा कमाएको तथ्याङ्क छ । कमजोर येनका कारण जापानी वस्तु विदेशी बजारमा सस्तो पर्न गएको र यसकारण निर्यातकर्ताहरुको प्रवर्द्धन भएको पाइएको छ । सन् २०१६ को मार्चमा सकिएको आर्थिक वर्षमा कम्पनीले २ दशमलव ३ ट्रिलियन नाफा कमाएको थियो । यद्यपि, यो वर्ष भने नाफामा कमी आउन सक्ने कम्पनीले चेतावनी दिएको छ । एजेन्सीहरु