१३ वर्षकी नेपाली स्विमर गौरीका सिंह रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी भइन् । अब खेलै शुरू भा’छैन नेपालले त रेकर्ड बनाइहाल्यो । शायद यो ओलम्पिकमा सबैभन्दा पहिलो रेकर्ड पनि यही हो । शुभकामना छ नखेलीकनै रेकर्ड बनाउन सफल भएकोमा । तर, अब खेलेरै पनि नयाँ रेकर्ड बनाउनुपर्छ । भलै रेकर्डहरु बनाइरहने कुरामा नेपाल विश्वमा अग्रपङ्क्तिमा आउने गर्छ भन्ने कुरा कति पाठकलाई याद नहुन सक्छ । लौ हेर्नुस नेपालले बनाएका अचम्म अचम्मका रेकर्डहरु ।
सरकार बनाउने खेलमा नेपाल शायद विश्वमै पहिलो नम्बरमा आउँछ । सरदर ९ महीनामा एउटा सरकार बन्ने गरेको रेकर्ड छ । प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेताको रेकर्ड पनि बनाए । पहिलोपटक उनी ९ महीनामै सरकारबाट हटेका थिए । अब ९ महीनापछि काङ्ग्रेसलाई हो वा देउवालाई सरकार बनाउन दिने सहमति भएको छ रे । ९ महीना सरकार चलेको रेकर्ड भएपछि शायद प्रचण्डले छाड्लान् पनि ।
अहिले भुइँचालो पीडितहरु राहत पाइएन भनेर कराइहरेका छन् । राहत माग्दैमा पाइने कुरा होइन नि । किनकि, रेकर्ड बनाएको खै त ? उदाहरणका लागि करीब ४ वर्षअघि पश्चिम नेपालमा आएको बाढीका कारण थुप्रै नेपाली अहिलेसम्म टहरा वा पालमुनि बसेर जीवन धानिरहेका छन् । यसरी भूकम्प पीडित पनि टहरा र पालमा, बाढीपिडित पनि टहरा र पालमा । कहिलेकाहीँ त लाग्छ धेरै मानिस टहरा र पालमुनि बस्ने भएका कारण नै हाम्रो देश नेपाल र हामी नेपाली कहलिएका हौं । जेहोस् हरेक ९ महीने सरकारले राहत दिने प्रतिबद्धता व्यक्त त गरेकै छन् । समय पुगेपछि उनीहरुले पालमा बस्ने नेपालीलाई पनि राहत अवश्य बाँड्नेछन् । तर, भुइँचालो त पोहोर गएको हो । करीब १ वर्षमात्र भयो । कमसेकम ४/५ वर्षको रेकर्ड नबनाई त्यसै पाइन्छ राहत ?
कराउनुको पनि एउटा सीमा हुन्छ नि । फेरि यो नेपाल भारतको सीमा जस्तो होइन नि जतिखेर मन लाग्यो उतिखेर मिचिरहने ?
अर्को उदाहरण हेर्नुस । बाबुराम भट्टराईले भत्काएको काठमाडौंको धुलोका कारण अहिले आएर धेरै काठमाडौंबासी रुघाले आक्रान्त छन् । भए होला । तर उनको काम भत्काउनेमा थियो बनाउनेमा पुगिसकेकै थिएनन । भत्काउने रेकर्ड त बनाएकै हुन् नि । त्यसैले त काठमाडौं अहिले पनि हेर्दा युद्धग्रस्त सिरियाको पाल्मिरा, होम्स, एलेप्पो शहर जस्तो देखिन्छ । सिरियामा त युद्ध भएर धुलाम्मे भयो । हाम्रोमा त युद्ध नभए पनि शहर धुलाम्मे बनाएर राख्ने रेकर्ड बनेको छ । यसरी रेकर्ड बनाउनु चानचुने कुरा त होइन नि ।
त्यो त रेकर्ड बनाउने काम केवल बाबुरामको थियो भन्ठान्नुहोला । त्यसो चाँहि होइन है । नेपालमा प्रत्येक सरकारले रेकर्ड बनाइरहने सत्कर्म गरी नै रहेका छन् वा हुन्छन् । जस्तै, प्रायः ठाउँमा असारमा पिच बना’को सडक पाँचै दिनमा सखाप हुन्छ । अस्ति भर्खर भीमसेनगोला र पुरानो बानेश्वरका स्थानीयले सडकमा धान रोप्न थालेपछि सरकारले पनि आफ्नो कर्तव्य ठानेर तुरुन्त पिच गरिदियो । बनाएन बनाएन भनेको त बनाइदियो । तर, सडकले १ महीनामै पुरानै अवस्थामा फर्किने रेकर्ड पनि बनायो ।
यसरी विश्वमा नहुने यस्ता रेकर्ड नेपालले अरु पनि प्रसस्तै बनाएको छ । जस्तै, एअरपोर्ट जानुस् । शौचालय कहाँ छ भनेर खोजी रहनै पर्दैन । टाढैबाट तपाईंको नाकले पत्ता लगाइहाल्छ । तपार्इंको लगेज तपार्इंले नै नपाउन सक्ने रेकर्ड थुप्रै हुने गर्छन् । सुरक्षामा त झन रेकर्डै रेकर्ड हुन्छन । नत्र संसारभरका तस्कर, लागू पदार्थ कारोबारीका लागि स्वर्ग भनेर हाम्रो एक मात्र अन्तरराष्ट्रिय एअरपोर्टले यत्तिका वर्षदेखि कसरी पहिचान पाइरहन सफल हुन्थ्यो र ?
अरु क्षेत्रका रेकर्ड पनि हेरौं न । देशमा त्यत्रो भूकम्प गयो । एउटै हाउजिङ वा अपार्टमेण्ट भत्किएनन् । निजीक्षेत्रले बनाएका प्रायः सबै भवनका पूर्वाधार ठीक रहेछन् । तर, सरकारले व्यवसाय गर्ने भनेर हात हालेका थुप्रै कर्पोरेशन आज धराशयी भएका छन् । यो पनि त एउटा रकेर्ड नै हो । तर, त्यसमा बस्न डराएर नेपाली उपभोक्ताले अर्काे रेकर्ड बनाइदिएका छन् । त्यसले गर्दा यत्रा भुताहा गगनचुम्बी भवनको शहर भनेर चिनिने रेकर्ड बनाएको छ काठमाडौंले ।
नेपालमा ऊर्जा विक्री गर्ने कम्पनी घाटामा जाने गरेको छ । यो पनि विश्वकै एक रेकर्ड हो । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले उसले घाटामा गएर बनाउने गरेको रेकर्ड केहि समय यता बिग्रिन थालेको छ । कत्रो मेहनत गरेर आयल निगमले बनाउँदै आएको रेकर्ड बिग्रन थालेकोमा चिन्ता गर्ने नेता थुप्रै छन् देशमा । अनि नेपाल विद्युत् प्राधिकरणले बनाएको रेकर्डको त सबैले प्रशंसा गर्नैपर्छ, किनभने त्यो अझै टुट्न सकेको छैन ।
यसरी नेपालमा राजनीतिका खेलाडी र ठूलाबडाले अनेक तिगडम गरेर बनाएका यस्ता रेकर्डको सूची लामै छ । त्यसको बयान गरेर यहाँ साध्य हुँदैन । तर १३ वर्षीया यी गौरीका नानीले ओलम्पिकमा छानिएर बनाएको रेकर्ड भने आफ्नै स्वच्छ मेहनतले हो । अब त्यहाँ खेलेर पनि उनी र अन्य खेलाडीले नयाँ नयाँ रेकर्ड बनाउन सफल होऊन । अहिलेलाई यही शुभकामना ।