मन्त्रालय र मन्त्रीको सङ्ख्या घटाउने बहस चलिरहेको बेला मन्त्री बन्ने आकाङ्क्षीको लाइन झन लामो हुँदै गइरहेको छ । पार्टी नेता, कार्यकर्ता र पार्टीलाई चन्दा दिनेहरु त यसै पनि मन्त्रीपदका दाबेदार भैहाले । तर, यता तस्करदेखि ठेकेदारसम्म पनि मन्त्री हुने लाइनमा प्रयासरत देखिन्छन् । यसले गर्दा माओवादी र काङ्ग्रेस (माग्रेस)मा मन्त्री छान्न ठूलै सकस र सर्कस दुवै एकैसाथ शुरु भएको छ । यसले माग्रेसमा टेन्सन पनि थपेको छ ।
अब मन्त्री बनेपछि के चाहिँ हुने रहेछ भनेर त मन्त्री भएका वा हुन चाहनेलाई थाहा होला । तर, पञ्चायतपछि प्रजातान्त्रिक, लोकतान्त्रिक हुँदै गणतान्त्रिक कालपछि मन्त्री बनेकाहरु समाजमा धेरै नै भैसकेका छन् । देशका कुना काप्चा खासगरी शहरका गल्लीगल्लीमा पूर्व र भूतपूर्व मन्त्रीहरुको बिगबिगी बढेको छ । नेपालमा त यस्तो भैसक्यो कि मान्छेभन्दा मन्दिर धेरै, मन्दिर भन्दा मूर्ति धेरै । देवी देवता त यसै ३३ करोड छँदै छन् । यता जनताभन्दा नेता धेरै, नेताभन्दा मन्त्री धेरै हुने अवस्था बन्दै गएको छ । यसरी टोलटोलमा पूर्व, भूतपूर्व मन्त्रीहरु भेटिने स्थिति भएपछि आपूर्ति धेरै हुँदा मालको भाउ कम हुन्छ भनेजस्तै चारखुट्टेको भन्दा दुई खुट्टे मन्त्रीको भाउ कम हुँदै जाने परिस्थिति बन्दै गएको छ । तर, पनि मन्त्री हुन चाहनेहरुका चाहनामा कुनै कमी आएको देखिँदैन । लाइन झन लामो हुँदै जाँदो छ ।
यस्तो अवस्थामा मन्त्री छान्ने पो कसरी ? ककसलाई बनाउने मन्त्री ? तर, धन्दा मान्नु पर्दैन । सामाजिक सञ्जालबाटै जीवन र जगतका सबै समस्या समाधान गर्न सकिन्छ भन्ने मान्यता राख्ने केही फेसबूके र ट्विटे विद्वान्हरुबाट मन्त्री छान्ने अजव गजवका आइडिया सुझाइएका छन् । त्यसमध्येबाट सम्पादित एक सुझाव यहाँ पेश गरिन्छ ।
जस्तोसुकै लठैत, डुकुलण्ठुलाई पनि मन्त्री, प्रधानमन्त्रीको पीएसम्म बनाउन मिल्छ । तर, मन्त्रीचाँहि बनाउन मिल्दैन । बरु आजको दिनमा मन्त्री बनाउन सबैभन्दा उपयुक्त व्यक्ति भनेको सवारी चालक खासगरी ट्याक्सी वा ट्रक ड्राइभर हुन्छ । किनकि
- हिजोआजका ड्राइभरले कम्तीमा मेट्रिकसम्म पास गरेका हुन्छन् । औसतमा मन्त्री र सभासद्को भन्दा यो योग्यता बढी नै हो ।
- सडकमा गाडी चलाउँदा ट्याक्सी ड्राइभरले पूरै नभए पनि निकै उच्च तहको लेन अनुशासन पालना गर्ने गर्छन् । मन्त्री र मन्त्रीको ड्राइभरभन्दा उनीहरु बढी अनुशासित हुन्छन् ।
- परिवार पाल्नका लागि अहोरात्र काममा खटिन्छन् । मन्त्री, सभासद्जस्तो काम गरेको बहाना गरेर जहाँ पायो त्यहीँका सोफा, कुर्सीमा निदाएर बस्दैनन ।
- सधैं गाडीमा गुड्ने बानी हुनाले ड्राइभरहरुमा उड्ने र सरकारी सम्पत्तिको दुरुपयोग गर्ने मोह हुँदैन ।
- ग्राहकको सामान ढुवानी गरेर सम्बन्धित ठाउँमा सम्बन्धित व्यक्तिलाई नै बुझाउँछन् । मन्त्री र सभासद्ले जस्तो दाताले दिएका सामान र पैसा बीचैमा लुट्ने वा बेच्ने गर्दैनन् ।
- आफ्नो परिश्रमको फल मात्र खाने बानी परेका ड्राइभरहरुले मन्त्रीले जस्तो ‘म खाऊँ मै लाऊँ’ भनेर आफ्नै मात्र सुविधा बढाउने गर्दैनन् । यसले देशको सम्पत्ति पनि जोगिन्छ ।
यो ट्रक वा ट्याक्सी ड्राइभरको अपमान गरेको भन्ने नठान्नुहोला । आजको दिनमा कसैले पनि भन्न सक्छ प्रायः नेता, सांसद्, मन्त्रीभन्दा ड्राइभर सबै दृष्टिकोणले इमानदार र योग्य छन् । कुनै कुनै ट्याक्सी ड्राइभरले ग्राहकलाई बढी पैसा चार्ज ग¥यो भन्ने गुनासो पनि आउने गर्छ । तर, ट्याक्सीले बढी पैसा लिए पनि गन्तव्यमा पुग्ने, पुर्याउने ग्यारेण्टी हुन्छ । र, ट्याक्सी चढ्नुअघि बार्गेनिङ गरेर तय भएको पैसाभन्दा बढी तिर्नुपर्दैन । तर, मन्त्रीले पैसा लिए पनि काम हुन्छ भन्ने ग्यारेण्टी हुँदैन ।
त्यसैले ट्रक वा ट्याक्सी ड्राइभरलाई मन्त्री बनाउने सुझाव सवै दृष्टिकोणले उपर्युक्त देखिन्छ । अहिले सरकारले भूकम्पपिडीतलाई १ हजार ५ सय नयाँ ट्याक्सी नम्बर दिने घोषणा गरे लगत्तै ट्याक्सी किनेर ड्राइभर बन्ने आकाङ्क्षीको सङ्ख्या ६० हजार नाघेको छ । १ हजार ५ सयबाहेकले ड्राइभरी पेशा गर्न नपाएपछि यी सीधै खाडी होमिने सुरमा हुनेछन् । त्यसो हुनदिनु भन्दा त्यसमध्ये केहीलाई मन्त्री बनाइदियो भने केही भूकम्पपीडित ड्राइभरको साच्चै उद्धार पनि हुन्छ र प्रचण्ड–देउवा माग्रेसको केही भोट सुरक्षित पनि हुन्छ ।