ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली धनी कि गरीब?

Aug 19, 2016  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हाम्रा घर, टोलमा पानीको आपूर्ति नभएर के भो र ? हाम्रा घर अफिस सबैतिर सबैले मिनरल वाटरका बोतल र जार किनेर खाएकै छौं ।

हाम्रा खोलानालाबाट बिजुली नआएर के भो र ? हामीले विश्वका धनी देशबाटै सोलार, ब्याट्री र डिजेल, पेट्रोलका जेनेरेटर किनेर बत्ति बालेकै छौं । अझ छिमेकी देश भारतबाटै प्रत्येक वर्ष थप बिजुली आयात गरेर काम चलाएकै छौं । अझ घरघरमा इण्डक्शन चूलो, टीभी, फ्रिज, रेडियो, कम्प्युटर सबैखाले सुविधा पाएकै छौं ।

हाम्रा सडक साघुँरा, खाल्टो परेका, प्रायः ट्राफिक जाम भइरहने खालका भएर के भो र ? संसारमै पाइने महँगा, राम्रा, बिलासी गाडी चलाएकै छौं ।

हाम्रा चोक, आँगन, शहर, बजार, फोहोर, धूलो, हिलो, मैलो, गन्हाउने भएर के भो र? हाम्रा शरीर विदेशका एकसेएक महँगा अत्तरले सुगन्धित भैरहने सौभाग्य पाइरहेकै छन् ।

हाम्रा दाजुभाइ गरीब, दुःखी, विपन्न, बाढी पीडित, भूकम्प पीडित, भोक रोगले ग्रसित भएर के भो र ? हामी मोटोपन घटाउने औषधि खानदेखि योगा, जिम, फिटनेस क्लबमा समेत गएर आफ्नो स्वास्थ्य सुधार्न प्रशस्त पैसा खर्च गरी नै रहेका छौं ।

हाम्रा खेत, बारी, कान्ला सबै बाँझै भएर के भॉछ र ? हामीले संसारबाटै अनेकथरि खाद्यान्न, भिटामिन, माछा, मासु, फलफूल, मदिरा आदि मगाएर खाने हैसियत बनाएकै छौं ।

हाम्रा युवाजति मलेशिया कोरियालगायत अरबको खाडी गएर के भो र ? हाम्रा ज्येष्ठ नागरिकले आश्रय नपाएर के भो र ? देशभर थुप्रै वृद्धाश्रम बनिरहेकै छन् । रेमिट्यान्सका कारण हाम्रो अर्थतन्त्रको चक्का राम्रैसँग घुमिरहेकै छ । देशमा बसेका नागरिकले महँगा मोबाइल, मोटरसाइकल, घडी, टीभी, घर, जग्गा जोडेर बस्ने सुविधा पनि पाएकै छन् ।

हाम्रा चेली विदेशमा यौनदासी बनाइए होलान् । दुःखको कुरो हो । तर, सुखको कुरा यो छ कि हाम्रा चेली राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश, न्यायाधीश आदि पनि त बनेकै छन् । हाम्रा आमाहरुको समयमा औषधि उपचार नपाई पेटमा बच्चा रोकिन्छ । दुःखको कुरा हो । तर, डण्डिफोर, पिलो हटाउनेदेखि ग्याष्ट्रिकको उपचार गराउन विदेश जाने भाग्यमानी नेपाली पनि यहि देशमा थुप्रै भैसकेकै छन् ।

यहाँ मजदूर, किसान नाङ्गै बस्छन्, भोकै सुत्छन् त के भो र ? उनकै हितका लागि भनेर लडेका कम्युनिष्ट नेता शक्तिशाली बनेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख, प्रतिपक्षी दलका नेता बनेकै छन् । अर्बौं रूपैयाँ सम्पत्तिका मालिक बनि नै सकेका छन् ।

त्यसैले नेपाल र नेपालीलाई अब गरीब र पिछडिएको भन्न छाडौं । बरु अति सम्पन्न, धनी भन्न थालौं कि ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)