ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूपीलाई कामरेडको हेलिकोप्टर पैसा

Aug 26, 2016  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

तपैं’ले थाहा पाउनु नै भयो होला, प्रधानमन्त्रीले भूकम्पपीडित (भूपी)लाई हेलिकोप्टर चार्टर गरेरै भए पनि पैसा बाँड्ने रे ! गजब छैन त यो आइडिया ? हाम्रा प्रमहरु कतिसम्म इन्नोभेटिभ हुन सक्छन् भन्ने कुरा यो घोषणाले पुनः प्रमाणित गरेको छ ।

अहिले संसारैभरि ‘हेलिकोप्टर पैसा’ भन्नेबारेमा एउटा हल्ला चलिरा’बेला पनि छ । यै मौकामा हाम्रा प्रम कामरेड प्रचण्डले पनि नेपालमा हेलिकोप्टरबाट पैसा बाँड्ने घोषणा गर्नु आफैंमा सुखद् कुरा त हो नै, त्यसमा पनि नेपालका भूपीहरुले कहिले सरकारले पैसा बाँड्ला र घर बनाऔंला भनेर २ वर्षदेखि कुरिरहेको स्थितिमा हेलिकोप्टरबाटै पैसा पाउने भएपछि अब के चाहियो र ? बरु हेलिकोप्टरचाहिँ धेरै खरीद गर्नु पर्लाजस्तो छ । किनकि, भएका एक/दुई हेलिकोप्टरले त भूकम्पपीडित १४ जिल्लाका झण्डै ४ सयभन्दा बढी गाविसका ४०औं लाख जनतालाई पैसा बाँडिसक्न कहाँ सकिएला र ? तर, सबै मन्त्री छुट्टाछुट्टै हेलिकोप्टर चढेर जान पाए भने त्यो काम पक्कै चाँडै सम्पन्न हुन्छ । अझ रकेटबाटै यस्तो काम गर्न पाए झन् चाँडो हुन्थ्यो ।

अनि सोच्नुस् त, नेपाली आकाशमा जताततै रकेट वा हेलिकोप्टरहरु उडिरहेको दृश्य कति रमाइलो होला ? नेपाली जनताले हाम्रा नेतालाई आकाशपथगामी हेलिकोप्टरबाट फुत्त झर्दै पैसा दिँदै, फेरि फुत्त हेलिकोप्टर चढ्दै गरेको देखेपछि उनीहरु आफूमाथि भगवान्कै निगाह भएको मान्दै धन्यधन्य हुनेछन् । देशकै ‘ग्रस नेशनल ह्याप्पिनेस’ ह्वात्तै बढेर भुटान त कता हो कता पछि पर्नेछ । संसार तिनछक पर्नेछ– हाम्रो सरकारको यो नवप्रवर्तन देखेर । अनि त अब आउने चुनावमा पूर्वकामरेड प्रम केपी ओलीको के पिताम चल्ला र ? कत्ति न लोकप्रिय भै’खाथे । अब प्रचण्डको अगाडि उनको लोकप्रियता सगरमाथा र थानकोटको डाँडो भनेजस्तो तुलनै गर्न नमिल्ने किसिमको हुनेछ । तर, हरेक मन्त्रीलाई हेलिकोप्टर दिन गाह्रो पो पर्छ कि ?

ओली सरकारका उपप्रम तथा गृहमन्त्री भीम रावलले सरकारी नपाएपछि सेनाको हेलिकोप्टर प्रयोग गरेको र त्यसबापत भाडा नबुझाएपछि निकै खैलाबैला भएको केही महीना मात्र भयो । त्यसैले हाम्रा पौराणिक हिरोहरु भगवान् विष्णुले गरूड, शिव भगवान्पुत्र कार्तिकेयले मयुर र लक्ष्मीले लाटोकोसेरो चढ्ने गरेजस्तै हाम्रा भगवान्सरह मन्त्रीज्यूलाई पनि त्यस्तै मयुर, गरूड, लाटोकोसेरो आदि केही खोजेर दिन पाए पैसोचाहिँ गाउँमा अलिक राम्रैसँग बाँडिहाल्थे कि ! तर, तिनलाई तालीम दिनचाहिँ अलि टाइम पो लाग्ला र त्यसमा पनि ढिलो होला कि ! त्यसो भए पनि अर्को उपाय छँदै छ नि । त्यो भनेको ड्रोन बनाएर वा चीनबाट मगाएर हरेक मन्त्रीलाई बाँडिदिने । त्यसरी पनि पैसा बाँड्ने काम छिटोछरितो हुन सक्छ र त्यो हेर्नेलाई हेलिकोप्टरजस्तै पनि लाग्नेछ ।

हुन त पैसाको सट्टा निर्माण सामग्रीहरु नै ट्रकहरुमा लादेर गाउँगाउँमा वितरण गर्दिन सकेचाहिँ भूपीहरुको घर पक्का बन्थ्यो । पैसाले घर बनाउने होइन । तर, त्यसो गर्दा प्रचण्ड सरकारले भगवान् अवतार धारण गरेर आकाशबाटै पैसा बाँडेको भन्ने जनताले थाहा नपाउने भएका कारण यो ट्रकवाला आइडिया किमार्थ लागू गर्नु हुँदैन । दोस्रोपल्ट प्रम बनेका कामरेड प्रधानमन्त्रीले अब रिबन काट्नेवाला छैन भनेर किन भनेचन् भनेको त बल्ल पो बुझियो । किनकि, हेलिकोप्टरबाट भूपी जनतालाई नगदनारायण नै बाँड्ने बृहत् योजना रहेछ । त्यसैमा ब्यस्त रहनुपर्ने भएर रिबनचाहिँ नकाट्ने भनेका रहेछन् । बाँकी कस्को तलब काट्ने, कस्को पद काट्ने, प¥यो भने कस्को गर्दन काट्नेजस्ता काम भने छोडेँ भनेका छैनन् नि !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)