अख्तियारका प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिको फाइल हरायो रे । फाइल हराएपछि उनको नियुक्ति पनि हराउनुपर्ने हो । त्यो चैँ शायद हराउँदैन होला । फाइल लोकमानको मात्र हराएको भने होइन । मन्त्रालयहरूमा, विभागहरूमा र अदालतहरूमा समेत बेलाबेलामा थुप्रै महत्त्वपूर्ण फाइलहरू हराउने गरेका छन् ।
उदाहरणका लागि पोलिमर नोट छपाइमा भएको अनियमिततासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले जिल्ला अदालतबाट मगाएको फाइल धेरै समयसम्म सर्वाेच्च पुगेन । किनकि जिल्ला अदालतभित्रै त्यो फाइल हराएछ । तैपनि यस मुद्दामा पछि सर्वाेच्चले निर्णय त ग¥यो, तर त्यो निर्णयको फाइल नेपाल राष्ट्र बैङ्क नपुगेकाले त्यहाँबाट फाइल अस्ट्रेलिया पठाउन सकिएको छैन ।
यसरी फाइल हराउने गतिविधि गणतन्त्र आएपछि झनै बढ्दै गएको देखिन्छ । सडक ठेक्कामा फाइल हराउछन् । गुठीका जग्गा, सरकारी जग्गाका फाइल हराउँछन् । तेल र ग्यासका फाइल हराउँछन् । टेलिफोनका तार काटिने मात्र होइन जलविद्युत् आयोजनाहरूका फाइल पनि गायबै हुन्छन् । ढुङ्गा गिटी उत्खननका फाइल त कता हराए कता । यो फाइल आफू राष्ट्रपति छँदैमा पनि खोज्न सकेका थिएनन् डा. रामवरण यादवले । पूर्वराजा वीरेन्द्रको परिवारको हत्याको फाइल पनि हराएकै होला । त्यसैले त्यसको रहस्य अहिलेसम्म गोप्य नै छ । अथवा त्यसको फाइल नै पो बनेन कि भन्ने पनि छ ।
लाउडा काण्ड, धमिजा काण्ड, डलर काण्डलगायत थुप्रै काण्डका फाइल त झन् कता हराए कता । त्यसैगरी युद्धकालीन फाइलहरू त यसै हराउने नै भइहाले । वर्तमानकालीन बजार अनुगमनका फाइलहरू पनि खुल्दै, बन्द हुँदै दराजभित्रै हराउँछन् ।
यसरी अरू पनि थुप्रैथुप्रै फाइलहरू देशमा बेपत्ता हुने वा पारिने गरेका छन् । अथवा यसो भनौँ, फाइलमा पहुँच हुने मानिसलाई मन पर्ने फाइल रहन्छन्, मन नपर्ने फाइलहरू हराउँछन् ।
यसो विचार गर्दा सबैखाले फाइलहरू राखेर काम पनि छैन । किनकि फाइलका प्रकार नै सम्हाल्नै नसक्ने गरी धेरै नै भइसके । नेपाली कागजका फाइल, विदेशी कागजका फाइल, इण्डेक्स फाइल र बक्स फाइल मात्र होइन पेन ड्राइभ, गुगल ड्राइभलगायत डिजिटल फाइल पनि । के के हो के के । त्यसमा पनि भ्रष्टाचारका फाइल, अनुगमनका फाइल, सामाजिक अपराधका फाइल, बैङ्किङ कसुरका फाइल आदि विविधतै विविधता बोकेका फाइलहरू ।
लौ हेर्नाेस् न । अहिले पुरानापुराना खुंखार अपराधी खुलेआम शहरमा घुमिरा’छन् । शायद उनीहरूको पनि फाइल कतै हरायो होला । हुन पनि देशमा सज्जनभन्दा अपराधी धेरै हुने परिस्थिति बन्दै गएपछि कति जनालाई, कति दिनसम्म जेलमा थुनेर राखिरहन सक्छ र सरकारले ? बरू सबै अपराधीहरूलाई घोषित रूपमै खुला छाडिदिनु उत्तम हुन्थ्यो । अथवा उनीहरूको फाइल बन्द गर्दिए वा हराइदिए हुन्थ्यो । वास्तवमा यो एक्कादुक्का फाइलहरू हराउनुको सट्टा आजसम्मका जति फाइलहरू छन् देशमा, ती सबै हराइदिऊँ । पुराना सबै फाइल बिर्सिदिऊँ । विगतलाई सम्झेर, पोको पारेर राखेर खासै केही हुनेवाला पनि छैन । त्यसैले त एक दशकपछि आएर गङ्गामायाले पनि अनशन तोडिन् । अहिले भाषाको पनि खुट्टा काटेरै भए पनि नयाँ बनाउने विद्वान्हरू आएका छन् । किनकि अब ‘डिलर्निङ’ शुरू गर्नुपर्छ । अर्थात् सबै कुरा नयाँ तरीकाले गर्नुपर्छ । अनि न बन्छ नयाँ नेपाल ।
लोकमान सिंहको नियुक्तिपत्र भूकम्पले हराइदिएको भनेर मन्त्रिपरिषद् र सामान्य प्रशासन मन्त्रालयले भनेको रहेछ । अर्थात् वास्तवमा भूकम्पले देशमा नयाँ क्रान्तिको शुरूआत गर्दिइसकेको रहेछ, त्यसलाई जारी राख्नुपर्छ ।
बरू अब नयाँ बन्ने फाइलहरूचाहिँ मन्त्रालय, विभागहरूका दराजहरूमा होइन गुगल ड्राइभ, क्लाउडमा लगेर सेभ गर्न शुरू गरौँ । कमसेकम त्यहाँ त भूकम्प जाँदैन । तर ‘क्लाउड’ नै ‘ब्रस्ट’ अर्थात् विस्फोट हुन्छ पनि भन्छन् । त्यसो भयो भने भिन्दै कुरा हो । नत्र यो फाइल हराउने रोगका कारण देश कहिल्यै पनि उठ्न नसक्ने गरी थलिनेछ ।