ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रचण्डपथको विकासपथ

Sep 23, 2016  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

९ महीने सरकारको नेतृत्व गर्न नयाँ प्रममा प्रचण्ड आएर केके नयाँ पापा ल्याए त भनेर सोचिरहनु भएको होला । लौ पढ्नुहोस् प्रचण्ड सरकारको अहिलेसम्मको कामको फेहरिस्त ।

प्रम भएर आउनेबित्तिकै प्रचण्डपट्टीका आफ्ना थुप्रैले पद, पैसा र पुरस्कार पाए । यता अख्तियारमा कुरो मिलाए । उता भारतलाई रिझाए ।

दशैं आयो । त्यसैले प्रचण्ड सरकारले पनि २/४ ठाउँमा सुपथ मूल्यको पसल चलाउने भयो । अनि सरकारी हाकिमलाई यसो अनुगमनमा पनि खटाउने रे ।

उता प्रचण्डकै सरकारका तर काङ्ग्रेसी कोटाका मन्त्रीले बन्द भएको सरकारी औषधि उद्योग पनि खुलाउने रे । अनि त्यसले उत्पादन गर्ने औषधि जति जम्मै सरकारले किन्दिने अरे । समाजवादी उद्योग मन्त्रीजीले बन्द भएका सरकारी अरु उद्योग पनि खोल्ने प्रयत्न गर्दै छन् रे । किनकि, आफ्ना अर्थात् नेपाली (काङ्ग्रेसजन) थुप्रैले त्यसभित्र जागीर पाउनेछन् । मन्त्रीले वा सरकारले पनि कामधाम गरेको देखिनेछ ।

नेपालमा निजीक्षेत्रलाई बलियो बनाए पनि काम छैन रे । बलियो त सरकार र सरकारले चलाउने उद्योगधन्दा नै बनाउनुपर्छ रे । विश्व बैङ्क, एडीबी आदि पनि त सरकारलाई नै बलियो बनाउने कुरा गर्छन् । त्यसभित्र केही न केही रहस्य त पक्कै होला । त्यसैले बन्द भएका पुराना सबै सरकारी उद्योगहरु पुन सञ्चालनमा ल्याउने भनेको होला । यसरी मरिसकेका पुराना सरकारी उद्योगहरु ब्युँताएपछि तिनले आफ्ना उत्पादन बनाउन शुरु गर्लान् । ती सबै उत्पादनहरु सरकारले महँगोमा किनेर सस्तोमा बेच्न शुरु पनि गर्ला । अनि हेरौं त नेपालका निजीक्षेत्रका उद्योगले कसरी गर्दारहेछन् प्रतिस्पर्धा ? कसरी लिन सक्दारहेछन् बजारबाट चोखो नाफा ? त्यसैले प्रचण्ड नेतृत्वको सरकारले क्यै गरेन भनेर मनमा सोच्नेलाई यो भन्दा ठूलो झापड के हुन सक्छ ?

 

उता भारतमा जाँदा प्रचण्डले फेरी पनि पञ्चेश्वर जलविद्युत् आयोजना बनाउने कुरा गरेर आएका रहेछन् । शायद भारतीय कम्पनीलाई बनाउन अनुरोध पनि गरिसके होला । यता भारतीय कम्पनी जीएमआरले भने नेपालमा बनाउने भनेको माथिल्लो कर्णालीमा लगानी जुटाउन नसकेर त्यो आयोजना हाललाई नबन्ने भएको छ । तर, जीएमआरले बनाउँदिन भनेको छैैन । पञ्चेश्वर पनि बन्दैन भन्ने कुरा सबैलाई थाहा छ । तर, बन्दैन कसैले भन्दैन । त्यो भन्ने कुरै हुँदैन । किनकि, एउटा न एउटा ध्रुपद गाइरहनु पर्दछ । मेलम्चीको गीत ३० औं वर्षदेखि गाउँदा गाउँदा अहिले आउला आउला जस्तो भा’छ नि त, त्यसैले । त्यसकारण प्रचण्ड प्रम भएर के भो त भन्न मिल्दैन ।

विकास निर्माण कै काम हेर्नुस न । काठमाडौंभित्रै जताततै सडकैभरि धुलम्मे हुनेगरी त्यत्रो धुम्साखान विकास भै‘राछ । अब विकास निर्माणको काममा त अलि अलि हिलो, धूलो, चिप्लो त भैहाल्छ । यस्ता विकास निर्माणका काम अन्यत्र पनि भै‘राछन् । मुग्लिन नारायणगढदेखि देशका कुना कुनामा र सडक गल्लीमा त्यो पनि स्पष्टै देखिने गरी विकास भै‘राछ । शायद प्रचण्ड कमरेड ओली कामरेडलाई केही गरेर देखाउन चाहन्छन् ।

तर, प्रचण्डले केही गर्न खोज्यो कि मौसमले निहुँ खोजी हाल्छ । उनी पहिलोपटक प्रम भएका बेला पनि कटुवालले निहुँ खोज्ने मौसम आयो । अहिले अख्तियार, ओली को कोले हो निहुँ खोजी रा‘छन् । यी सबैलाई त प्रचण्डले मिलाउलान् । तर, पानी पर्ने मौसमलाई के गरी मिलाउने ? किनकि, प्रचण्डको सरकार बाटोमा आएर विकासको नमूना देखाउन शुरु के गर्या‘थे दर्के पानी परेर निर्माणाधीन सडकहरु धुलाम्मेबाट हिलाम्मे पोे भए । यसबाट सडक बनाउने ठेकेदार हैरान, देश निर्माण गर्छु भन्ने ठेकेदार याने प्रचण्ड पनि हैरान् ।

त्यसैले यो जेठमै बजेट पास गरेर ल्याएर पनि काम छैन जस्तो छ । अब असोज यसै उसै गै‘हाल्छ । किनकि अब दशैं शुरु भै’हाल्छ । दशैंमा खाएर, खेलेर  उग्राउनै पर्‍यो, कमसेकम तिहार, छटसम्मलाई पुग्ने गरी । त्यसपछि विकासको मौसम शुरु हुने भनेको कहिले कहिले । त्यसपछि फेरी विपक्षीहरुले बेमौसमको बाजा बजाउन शुरु गरिहाल्छन् ।

तर, यसबीच प्रचण्डले जेजे विकास गरे वा गरिरहेका छन् त्यसका लागि भने नेपालीले उनलाई युगौंयुगसम्म सम्झिरहने छन् है ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)