ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैं र मुग्लिन

Sep 30, 2016  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

दशैंमा मोटर वा मोटरसाइकल चढेर सरर्र काठमाडौंबाट आ–आफ्ना गाउँठाउँ पुगौंला भनेको त यसपाला मुग्लिन–नारायणगढ बाटोले बोर गर्ने भो भनेर चिन्ता लिनेहरु थुप्रै भेटिएका छन् । उनीहरु भनिरहेछन्, सरकारलाई यै बेला नै त्यो बाटो बनाउन किन चासो परेको होला ? जब राति बूढी ताती भनेझैं ।’

तर खाँटी कुरो हो– बाटो बनाउने सबैभन्दा उपर्युक्त समय चैं यही नै हो । किनकि, अहिले भुइँचालोले पहाड हल्लाएर बाटो बनाउन सहज बनाइदिएको छ । नत्र बम पड्काएर, डोजर चलाएर पहाड खन्न कम्ता गाह्रो   हुन्थ्यो ? समय र पैसाको खति त कत्ति कत्ति । कम्ता बाठा छन् हाम्रा हाकिमहरु !

मान्छेहरु कुरै बुझ्दैनन् । विचरा सडकका हाकिमले बनाउन त खोजेकै हुन् नि । तर, इन्द्र भगवानले साथ नदिएर पो कुरो बिग्य्रा त,  बेला न कुबेला पानी पार्दिएर । नेपाललाई धर्मनिरपेक्ष देश बनाएकोमा शायद इन्द्रलाई  चित्त बुझेको छैन क्यार । तैपनि त्यत्ति कुरामा त्यसरी रिसाउन त नहुने हो । इन्द्रजीलाई ठीक पार्न कृष्ण भगवान्लाई बोलाउन सके हुन्थ्यो ।

पौराणिककालमा पनि इन्द्रले अधिक पानी पारिदिएका कारण कृष्णले मानिसलाई गोवर्द्धन पर्वतको पूजा गर्न उक्साएर इन्द्रलाई हार ख्वाएर पानी पार्नबाट रोकेका थिए । त्यसैले अहिले नेपालमा पनि कोही कृष्ण काले चाहिएको छ । तर, एक थिए किसुनजी, मेलम्चीको पानी ल्याउँछु भन्दाभन्दै उहिल्यै गैहाले । पानी र पार्टीबाट डुबिरहेको देशलाई उतार्ने कृष्ण अहिले कोही छैनन् ।

अर्कोतिर कृष्णले त पर्वतको पूजा गर्नुपर्छ भन्थे । हामीले त भत्काइरहेकै छौं, कहिले अलिकति गिटीबालुवाका लागि, कहिले बाटो बनाउन, कहिले प्रदेश छुट्ट्याउन भनेर । शायद त्यसैले पनि रिसाए होलान् कृष्ण । त्यसमा पनि देशलाई धर्मनिरपेक्ष बनाएका कारण कृष्णसमेत रिसाएका हुन् कि ?

तपैंहरुमध्ये कोहीकोही यसो पनि भन्नुहोला– अहिले यति धेरै समय र पैसा खर्च गरेर पुरानो बाटो मात्र बनाएर जनतालाई सास्ती दिनुको सट्टा यता एक लेन मात्र चलाएर उता मुग्लिनपारिबाट अर्को एक लेनको मात्रै नयाँ बाटो बनाएको भए हुन्थ्यो नि त ।

तर होइन । सरकारले बडो सोचविचार गरेरै यो विध्वंस गरेको छ । हुन पनि भएको सडकलाई ध्वंस नगरी कसरी विकास हुन्छ ? किनकि, हिजोआजका नेताहरु ध्वंसमै विश्वास गरेर सरकारमा आएका हुन् । आफ्नो विश्वासलाई कसरी तोड्ने ? त्यसमा पनि मुग्लिनपारि सडक बनाउँदा हरियो डाँडा भत्काउनुपथ्र्यो । यो भने प्रकृति बिगार्ने कुरो हुन्थ्यो । बाटो पो बिगार्ने हो, प्रकृति त होइन नि ।

एउटा कुरो नि, तपैंलाई मुग्लिनकै बाटो भएर हिँड्नुपर्ने चैं किन नि ? यता जापान सरकारले बनाइदिएको सिन्धुली–बर्दिबास सडक भएर नारायणगढ छिचोले हुन्छ सिन्धुलीका ताजा जुनार खाँदै (भलै ती अहिले अलि अमिलै होलान्) । होइन भने लेलेबाट कान्तिराजपथ भएर हेटौंडा निस्किए पनि भयो । कि त यता दक्षिणकाली माताको दर्शन गर्दै सिस्नेरी–भीमफेदीको बाटो समाए पनि भयो ।

होइन भने नौबिसे–दामन हुँदै ‘ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धूलो उडाउँदै’

गए पनि भयो, टिस्टुङपालुङको गाजर, मूला टोक्दै । ‘काशी जाने कुत्तीको बाटो’ भनेझैं फेरि पश्चिमतिर जाने मान्छे पूर्वको सिन्धुली हुँदै किन जाने भनेर सोध्नुहोला । पहिले पनि पूर्व काँकडभिट्टा जाने मान्छे पश्चिम मुग्लिन हुँदै जानुपथ्र्यो नि त । अहिले पर्दाखेरि पश्चिमको मान्छे पूर्वकोबाटो भएर हिँड्नै नहुने ? कमसेकम अहिलेसम्म प्रदेशहरु त छुट्टिइसकेका छैनन् नि हौ !

नौबिसे बाइरोडको बाटो जाँदा भने एउटा समस्या छ है । नौबिसे नै पुग्न पनि कलङ्कीबाट नागढुङ्गासम्म छिचोल्न करीब आधा दिन लाग्छ । त्यो सडक हो वा खेत भन्ने छुट्ट्याउन सकिँदैन । भनेसि तपैंलाई मुग्लिनको किन चिन्ता ? यतैको मात्र चिन्ता लिनुस्, चिन्ताको डोज त पुगिहाल्छ । त्यति टाढा मुग्लिन नै किन पुग्नुहुन्छ ?

बरु चन्द्र ढकालले यहीँ कलङ्कीदेखि नागढुङ्गा एक स्टप र नौबिसेमा अर्को स्टप हुने गरी केबलकार बनाइदिएका  भए त हुन्थ्यो नि । चन्द्रागिरिजस्तो ठाडो डाँडोमा केबलकार चलाउने यत्रो सोच्ने मान्छेले यति चैं किन सोचेनछन् कुन्नि ?

जेहोस्, जेजसरी भए पनि दशैं मान्नै प¥यो । बाबुआमा मान्यजनको हातबाट टीका आशीर्वाद थाप्न राजधानीबाट जिल्ला, गाउँ जानै पर्‍यो, काठमाडौंलाई दन्त्यकथाको शहरजस्तो बनाएर भए पनि ।

दशैं शक्तिकी देवीको पूजा गर्ने चाड हो । तपैंलाई मुग्लिनबाटै नगई नहुने हो भने पनि जानुस् । तर, शक्तिकी देवीको पूजा गरेर, शक्ति सञ्चय गरेर, शक्तिशाली गाडी लिनुस् र मात्र लाग्नुस् गन्तव्यतर्फ । तर, होस गर्नुस् कि एक्सेलेटरमा चैं धेरै शक्ति लाएर नथिच्नुस् । नत्र फेरि यात्रा सडकको साटो त्रिशूली या नारायणी नदीतर्फको चैं होला ।

शुभयात्रा दशैं २०७३ को !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)