संसद्मा लोकमान । सडकमा लोकमान । पत्रिकामा लोकमान । टीभीमा लोकमान । रेडियो र अनलाइनहरूमा लोकमान । बिहान, दिउँसो र साँझ पूरै लोकमान । महीनौं दिनदेखि यो ‘लोकमान’ नामक मन्त्र देशैभरि गुञ्जिरहेको छ । कोही रोएर लोकमान भनिरहेका छन् । कोही हाँसेर, कोही रिसाएर, कोही बल लगाएर, चिच्याएर लोकमान लोकमान भनिरहेका छन् ।
यो कुरा देशको होइन । निर्यातको कुरा होइन । जीडीपीको कुरा पनि होइन । यो भूकम्प पिडितको वा भूमिबिहिनको कुरा पनि होइन । न त यो उद्योगधन्दा, विकास, पुनर्निर्माण, राष्ट्रिय गौरवका आयोजना, जलविद्युत् परियोजना बनाउनेजस्तो कुरा नै हो । यो त लोकमानको कुरा हो ।
अहिले बेरोजगारीका कुरा वा कालाबजारीका कुरा गरेर समय खर्चने बेला होइन । न त अहिले संविधान संशोधन, चुनाव, नेपाली संस्कृति या यस्तैउस्तै अमूर्त कुरा नै गर्ने बेला हो । यो त ‘लोकमान’ को समय हो । र, समय बलवान् छ ।
अहिले किसानका, मेशिनका कुरा गरेर कुनै फाइदा छैन । न त अहिले पर्यटन र कृषिका वा शिक्षा, यातायात, फास्ट ट्र्याक वा रेलमार्ग, विमानस्थल वा वित्तीय बजार आदिजस्ता कुनै पनि विषयमा केही गर्ने वा भन्ने बेला हो । अहिले त पूर्ण लोकमानका विषयमा ध्यान गर्ने बेला पो हो ।
किनकि नेपालको इतिहासमा लोकमान एक मात्र यस्ता व्यक्ति हुन् जो एउटा सरकार, न्यायपालिका, व्यवस्थापिकाभन्दा माथि उठ्न सक्छ । लोकमान त्यस्ता व्यक्ति हुन् जो पञ्चायत, प्रजातन्त्र, लोकतन्त्रदेखि गणतन्त्रसम्म एकछत्र राज गर्न सक्ने क्षमता र हैसियत राख्छन् ।
लोकमान त्यस्ता व्यक्ति हुन्, जसलाई सरकारी जागीर खान कुनै लोकसेवा वा कुनै जाँच दिनु परेन । उनी यस्ता दक्ष हुन् कि के काङ्ग्रेस, के कम्युनिष्ट, के सचिव, के व्यापारी, सबैलाई ‘निहुरीमुण्टी न’ बनाएर राख्नेक्षमता राख्छन् । विगतमा लोकमानले जसलाई डामे, उनीहरू कि त राजनीतिको रङ्गमञ्चबाटै विलीन भए वा प्यारालाइसिस भएसरह बाँचिरहेका छन् ।
उनी त्यसै लोकमान बनेका पनि होइनन् । लोकले मानेकै कारण लोकमान भनिएका हुन् । उनलाई सबैले नमानेको भए अख्तियारमा उनको नियुक्ति भएदेखि यत्तिका वर्षसम्म कसरी टिकिरहन सक्थे ?
त्यसकारण अहिले आएर सडकदेखि संसदसम्म लोकमान गुन्जिनुमा दुई/तीन राजनीतिक दल र तिनका नेताहरू आफू उन्मत्त, निर्भयी बन्न बाधक बनेका कारण नै यस्ता साहसी लोकमानलाई मानिसहरुले दुःख दिन खोजिरहेका हुन् । हिजो पिठ्यूँमा बोक्ने, आज अलिअलि तल बितल पर्नेबित्तिकै ठोक्ने ? नेपाली नेताहरूलाई कसले रोक्ने होला ?
बीपीले देशलाई के दिए ? गणेशमान वा कृष्णप्रसाद भट्टराईले नै पो के दिए ? कमसेकम लोकमानले त देशलाई भ्रष्टाचारको नारा दिए । संसद् र सांसदलाई बिजनेश दिएका छन् । नेपाली जनतालाई नैतिकताको पाठ सिकाएका छन् । हामीले खोजेको, हामीले रोजेको त यस्तो पो हो त । त्यसैले म त भन्छु, लोकमान जिन्दावाद ! बरू तपाईंहरू पनि म सँगसँगै ‘भजमन लोकमान कि जय’ भन्नोस् न !