दशैं सकियो । तिहार पनि सकियो । ठूल्ठूला चाडपर्वको बिदा सकिएर क्या बोर भैरा’थ्यो, धन्न सरकारले छिमेकका राष्ट्रपतिको भ्रमणको बहानामा अर्को एक दिन भने पनि छुट्टी थपिदियो । छुट्टी एक दिन भनिए पनि ट्राफिकले यता पनि नहिँड्नू, उता पनि नजानू भनेकाले २ दिन पूरै बिदाजस्तै भयो । आहा ! क्या मज्जा भयो । अलि बढी नै बिदा मनाउने बानी परेकाले होला, छुट्टी सकियो भनेपछि काममा फर्किन सारै अल्छी लाग्छ । जेहोस्, प्रचण्ड सरकारलाई धेरै धन्यवाद छ बिदा लम्ब्याइदिएकोमा ।
हुन त नेपालमा एकथरी यस्ता मानिस छन्, जो मौका पाउनसाथ जुनसुकै कुरामा पनि विरोध शुरु गरिहाल्छन् । छिमेकीका राष्ट्रपति देशमा आउँदा ससम्मान एक दिन छुट्टी के दिएका थिए, धूवाँधार विरोध शुरु गरिहाले नेपालका खाँटी राष्ट्रवादीले । ट्रक वा बसले कुखुरा कुल्चँदा देशै बन्द गर्ने ठाउँमा त्यत्रो विशाल देशको राष्ट्रपतिको १८ वर्षपछि नेपाल भ्रमण हुँदा पनि खुशीयालीमा जाबो १–२ दिन बिदा दिँदा विरोधै गर्नुपर्ने त थिएन ।
सडकमा नागरिकलाई सवारी चलाउनमा अवरोध गरियो, काठमाडौंको सडकलाई उत्तर कोरियाको जस्तो सुनसान पारियो भनेरसमेत विरोध गरेको पनि देखियो । कोटेश्वरबाट कलङ्की जान गाह्रो भो भनेर पनि विरोध भयो । ए बाबा ! वैकल्पिक बाटो प्रयोग गरेको भए त भैहाल्थ्यो नि । फेसबूके विद्वान्हरुले सुझाएजस्तै कोटेश्वरबाट उता सिन्धुली–बर्दिबास–हेटौंडा–नारायणगढ–मुग्लिङ–नौबिसे हुँदै थानकोटबाट कलङ्की गएको भए भैहाल्थ्यो । घुमघाम पनि हुन्थ्यो । विरोध गर्न पाएपछि त नेपालीलाई के चाहियो र ?
अझ कतिपयले ल ठीक छ काठमाडौंमा त ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भनेर छुट्टी दिएको ठिकै होला । तर, सडक यातायात नै नपुगेका सदरमुकामका जिल्ला कार्यालय वा कर्णाली, हुम्ला, जुम्लाजस्ता ठाउँका स्कूल, कलेजमा किन छुट्टी दिएको भनेर पनि विरोध गरे । समावेशी सरकारले छुट्टी दिँदा त समग्रमा नै दिनु पर्यो नि । त्यही भएर त विदेशमा भएका हाम्रा राजदूतावास, वाणिज्य दूतावास आदि सबैमा त्यही छुट्टी दिइयो । सरकारले कसैलाई दिने कसैलाई नदिने गर्न मिल्छ र भन्या ? खै कुराबुझेको ? १८ वर्षमा ठूलो भाञ्जा मावलीमा देउसी खेल्न आउँदा सबै मिलेर खुशीयाली मनाउनुपर्छ भनेजस्तै होइन र भन्या ?
राष्ट्रप्रमुख विद्या भण्डारी एयरपोर्टमै स्वागत गर्न पुगेकोमा समेत् विरोध गरेको देखियो । विद्यालाई भारतीय राष्ट्रपतिलाई अलि चाँडै भेटने हतार थियो होला नि त । त्यसमा पनि ‘अतिथिदेवो भव’ भनेर मान्ने नेपाली परम्परालाई जीवित राख्न पनि भण्डारी एयरपोर्टमै मुखर्जीलाई स्वागत गर्न गएकी हुन् कि?
नेपालमा कसैले यसो रमाइलो गरौं भनेर योजना बनायो कि त्यसको विरोध गर्ने वा त्यसमा भाँजो हाल्ने चलन चल्न थालेको छ । नत्र छुट्टीको विरोध गर्नुपर्ने थिएन । यसो क्यासिनो गएर जूवा खेलौं भने प्रशासनले धरपकड गराउने । पार्कतिर गएर माया प्रेम साटौं भन्यो त्यसमा पनि प्रशासनकै अवरोध हुन्छ । तिहार अगाडि पनि गृह मन्त्रालयले राति १० बजेपछि देउसीभैलो नखेल भनेर उर्दी जारी ग¥यो । प्रहरीले पटाका नपड्काऊ भन्यो । विद्युत् प्राधिकरणले धेरै झिलीमिली बत्ती नबाल भन्यो । कोही जूवातास नखेल भन्ने । कोही रक्सीबियर नपिऊ भन्ने । डाक्टरहरु मिठाई, चिल्लो नछोउ भन्ने ।
तर, ज–जसले जे–जे भने पनि यहाँ कसले भनेको कसले सुन्छ र ? ज–जसले जेजे नगर भने पनि नगर भनेका सबै चिज गरेरै तिहार चैं राम्रैसँग मनाइयो । अब सरकारले कुनै बहानामा छठसम्म मात्र होइन ठुली एकादशी र वाला चतुर्दशीसम्मै पूरै छुट्टी गर्दिए चैं मजस्ता छुट्टीप्रेमीको पनि कल्याण हुन्थ्यो भन्ने छ । आखिर धेरै छुट्टी दिएर प्रधानमन्त्री वा मन्त्रीको केही जाने होइन ।
चीनका राष्ट्रपति सी आउने ठेगान नभइसके तापनि उनी आउँदा बिदा दिने पनि भनिसकेका छन् हाम्रा उदार प्रम प्रचण्डले । बरू त्यो बिदा पनि अहिल्यै दिएदेखि सीलाई नेपाल आउनलाई प्रेसर पर्थ्यो कि ? यता हाम्लाई पनि एक दिन भने पनि बढी छुट्टी पाइन्थ्यो । यो कुरा मन पर्यो भने एक लाइक चैं ठोकिहालौं है ?