अमेरिकामा ट्रम्पले राष्ट्रपतिमा जित्या मात्र के थे, नेपालमा पो खैलाबैला शुरु भो । नेपालीलाई नेपालमा भन्दा विदेशी भूमिमा केही भयो भने बढी चासो र चिन्ता हुने गर्छ, त्यसैले होला । पहिले पनि ९/११ मा ट्वीन टावर ढलेर संसारै हल्लाको थियो । अहिलेचाहिँ ११/९ को दिन ट्रम्प पावरमा आएर विश्वमा हल्लाखल्ला मच्चिएको छ ।
रमाइलो संयोग नै पर्यो, अमेरिकाले भोट गन्दै गर्दा भारतले चाहिँ नोट गन्दै रै’छ । के थाहा र ? त्यसमा पनि उता अमेरिकामा तेस्रो बिहे गर्ने ट्रम्प चुनाव जितेर ह्वाइट हाउस छिर्ने प्रबन्ध मिलाउँदै गर्दा यता भारतमा बिहे नै नगरेका (अर्थात् पत्नीलाई परित्याग गरेर छुट्टै बसेका) मोदी आईसी नोटको व्यवस्थापनमा लागेका रहेछन् । यो संयोग मात्र होला कि सल्लाह गरेरै भएको होला ? किनकि, ट्रम्पले मोदीको तारिफ गरेको त सुनिएकै हो । फेरि दुवै मुसलमानका कट्टर विरोधी पनि हुन् ।
ट्रम्प र मोदी दुवैले विश्वलाई नै धक्काचाहिँ दिए । भलै ट्रम्पका कारण नेपाललाई त्यति असर नपर्ला । त्यस्तै मोदीको आईसीले पनि विश्वबजारलाई त्यति असर नगर्ला । तर, नेपाललाई त अवश्य गर्छ । किनकि, थुप्रै नेपाली भारतमा काम गरिरहेका छन्, जसलाई स्वदेशमा पैसा पठाउन समस्या पर्छ ।
त्यसबाहेक नेपालमा सेतो र कालो दुवै थरी आईसी चलाउनुपर्ने बाध्यतामा थुप्रै व्यवसायी पनि छन् । त्यसमा पनि दिल्लीमा पानी पर्दा नेपालमा छाता ओढ्ने बानी परेका धेरै भएकाले के था, हाम्रा प्रधानमन्त्रीले पनि नेपाली ५०० र १००० दरका नोट नचल्ने भनेर अचानक उर्दी जारी गरिहाल्ने पो हुन् कि ? अस्ति भारतका राष्ट्रपति नेपाल आउँदा स्वाट्ट छुट्टी घोषणा गरिदिएजस्तै ।
साँची भारतका १००० दरका नोट नचल्ने भएपछि अन्ना हजारेले आफ्नो नाम अन्ना दोहजारे राख्लान् कि ‘अन्नासय’ मात्र हँ ? उनले उता जे गरे पनि नेपालका आईसी हजारीलाल र करोडमल साहूहरुलाई चैं मोदीको निर्णयले निकै अप्ठेरो पर्ने कुरा बुझिन्छ । हुन पनि राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले भनेजस्तै ‘विदेशी मुद्रा सेफमा थन्क्याएर राख्न पाइन्छ त ?’ चलाउनसम्म पो पाइन्छ त । चलायमान बनाइराख्नु पर्दैनथ्यो त ?
आईसीको कुरा आफ्नो ठाउँमा पेचिलो छ नै । तर, अमेरिकीले नेपालबाट प्रभावित भएर महिलालाई राष्ट्रपति बनाऊलान् भनेको त धोखा पो दिए । हिलारीले जितेको भए अरु केही नभए पनि चरीमायालाई भेट्न त नेपाल पक्कै आउँथिन् । तर, अब नारीको सम्मान गर्न नजान्ने अमेरिकीको पनि विरोध जनाउन हाम्रा नारी आन्दोलनका हर्ताकर्ता नेतृहरूले अमेरिकामा एउटा डेलिगेशन लिएर पो जान्छन् कि ?
तर, जे जे भयो भैगो । ट्रम्प एकै पटक भए पनि नेपाल आइदिएदेखि एक दिन भने पनि अफिस छुट्टी पाइन्थ्यो कि भन्ने आशा भने सरकारी कर्मचारी तथा स्कूले विद्यार्थीमा बाँकी नै छ । अरु कुरा त्यस्तै त्यस्तै भए पनि ट्रम्पको राष्ट्रवादी नीतिलाई चाहिँ मान्नैपर्छ । शायद त्यसैले पनि उनको जित सुनिश्चित भयो । अब उनले बाचा गरेअनुसार मेक्सिकोकै खर्चमा अमेरिका–मेक्सिको सीमामा तारबार लगाऊलान् । यूरोपेली राष्ट्रलाई नेटोको बजेटमा बढी पैसा तिर्न पनि बाध्य गर्लान् । विदेशी आप्रवासीलाई लखेट्लान् । तर, हाम्लाई के फरक पर्छ र ?
हुन सक्छ ट्रम्पलाई नेपाल नामको देश छ भन्ने पनि थाहा नै छैन कि ? दोस्रो, इमिग्रेण्ट्स नभई अमेरिका चल्दैन । त्यसैले ट्रम्पले डीभी रोक्न सक्ने छैनन् । त्यसो भए’सि हाम्रा होनहार जति पाए सबै उतै गैहाल्लान् । लालबाबु पण्डितले त नेपालीलाई अमेरिका जानबाट रोक्न सकेनन् भने अरु कसले सक्ला र अब ? त्यसैले ट्रम्पका कारण नेपाली डराइरहनु पर्दैन ।
बरू अब नेपालमा पनि मोदी र ट्रम्पजस्ता राष्ट्रवादी एउटा नेता जन्माउने बेलाचाहिँ भयो कि ? केपी ओली अहिलेसम्म पनि प्रम रहिरहेको भए ट्रम्प, मोदी र ओलीको जोडी (तीन जनाको समूहलाई के भन्नुपर्छ हँ ?) बन्न सक्थ्यो । ओली पनि मोदी र ट्रम्पजस्तै राष्ट्रवादी थिए । ट्रम्पले मेक्सिको सीमामा तारबार लगाउने भनेजस्तै ओलीले पनि नेपाल–भारत सीमाभरि पर्खाल ठड्याउँथे होलान्, त्यो पनि भारतकै खर्चमा । त्यसो भएदेखि अहिलेजस्तो आतङ्कवादीको घूसपैठ भयो वा आईसीको अवैध तस्करी भयो भनेर भारतले नेपाललाई आरोप लगाइरहन पनि पाउँदैनथ्यो । नेपालीहरु भारू र भारतीय दुवै प्रभावबाट अलि मुक्त हुन्थे कि ?