मोबाइल र कम्प्युटर जस्तै हेडफोन पनि हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । गीत सुन्न होस् वा कसैसँग च्याट गर्न, धेरैजसो समय हाम्रो कानमा हेडफोन झुण्डी नै रहेको हुन्छ । पछिल्लो समय ह्याकिङका विभिन्न घटना सार्वजनिक भइरहेका छन् । ह्याकरहरुले ह्याकिङका नयाँ नयाँ तरीकाहरु अपनाइरहेका छन् । हेडफोन पनि ह्याक हुन सक्छ भनेर सुन्दा हामीमध्ये धेरैलाई अचम्म लाग्न सक्छ । इजरायली अनुसन्धाताहरुको एक समूहले हेडफोन ह्याक भएको खुलासा गरेको अमेरिकी मासिक पत्रिका वायर्डले एक समाचारमा छापेको छ ।
ह्याकरहरुले कुनै मलवेयरको माध्यमबाट शुरुमा हेडफोनलाई माइक्रोफोनमा बदल्ने र सोही माइक्रोफोनको माध्यमबाट कम्प्युटर वा ल्यापटपमा गरिने च्याट वा कुराकानी रेकर्ड गर्ने गरेको पाइएको छ । हेडफोन ह्याकलाई पुष्टि गर्न इजरायलको ‘बेन ग्युरियोन युनिभर्सिटीका अनुसन्धाताहरुले ‘प्रूफ अफ कन्सेप्ट’ पनि तयार पारेका छन् । जसमा ह्याकरहरुले अडियो रेकर्ड गर्न वा कुराकानी सुन्न हेडफोन कसरी हाइज्याक गर्छन् भन्ने बताइएको छ । हेडफोन कम्प्युटरमा कनेक्ट नै नहुँदा वा डिजेबल भएको बेलामा पनि ह्याक भएको पाइएको छ ।
हेडफोन ह्याक गर्न ह्याकरहरुले सबैभन्दा पहिला कम्प्युटरको अडियो कोडेक चिपसेट रियल टेक अडियोलाई ह्याक गरेर कम्प्युटरको आउटपुट च्यानललाई इनपुट च्यानलमा बदल्ने अनि हेडफोनले इनपुट डिभाइसझैं काम गराउने गरेको अनुसन्धाताहरुले बताएका छन् । अनुसन्धाताहरुले अन्य कोडेक चिप्स र स्मार्टफोनमा यस्तो परीक्षण गरेका छैनन् । तर, अन्य कोडेक चिप्स र स्मार्टफोन पनि यस्तो ह्याकिङको चपेटामा आउन सक्ने आशङ्का गरिएको छ । अधिकांश डेस्कटप कम्प्युटर र ल्यापटपमा रियलटेक चिप्स हुने भएकाले यसलाई सुधार्ने कुनै तरीका नभएको समाचारमा वायर्डले उल्लेख गरेको छ । यसका लागि हेडफोन अनप्लग गर्नु नै एक मात्रै उपाय भएको बताइएको छ । एजेन्सी