सङ्घीयताको आगो फेरि सल्कन शुरु भएको छ । वीरगञ्जबाट, बुटवल, सुर्खेत हुँदै कैलाली पुगिसकेको छ । पहिले गौरमा महाभारतमा शुरु भयो, त्यसपछि टीकापुर, अहिले फेरि रुपन्देहीमा । सङ्घीयताको आगोमा बेलाबेलामा धर्मनिरपेक्षता, राजतन्त्रको घिउ पनि थपिने गरेको छ ।
आगो नलागोस् पनि किन ? महेन्द्रले विसं २०१८ सालमा देशमा १४ ओटा ठूला टालो र ७५ ओटा स–साना टालो बनाइद्या’थे । अब तिनलाई जोडेर ७ ओटा बनाउने कुरा आयो । त्यो क्रममा कसैलाई अर्काको भूभाग आफ्नोमा पार्नुपर्ने, कसैलाई चिर्नुपर्ने, कसैलाई जोड्नुपर्ने । त्यसो गर्ने क्रममा बाटो वारिपारि घर भएका एकाघरका परिवारलाई हिजो भारत पाकिस्तान छुटिँदाको बखतजस्तै अर्र्कैअर्कै देशमा परेजस्तो गरी छुट्टिनुपर्ने भावी पीडाले सताइरहेको छ । कसैको चुनावी क्षेत्र र भोट घट्ने पीरले पोलिरहेको छ । त्यसैले यी र यस्तै चिन्ताले छटपटिएका आत्मा स्वभावतः सङ्घीयताको विरोधमा आगो बाल्न लाग्ने नै भए । भलै देशमा कसैलाई सङ्घीयता चाहिएर आएको होइन । नेतालाई एउटा नारा दिनु’थ्यो । दिए । तर, त्यै नारामा झुण्डिएर कार्यकर्ताले सङ्घीयता ल्याएरै छाडे देशमा । तर, अब निल्नु न ओकल्नुजस्तो भएको छ यो । यता टाल्यो उता खाडल, उता टालो यता भ्वाङ ।
हुन पनि चिर्नु पनि पर्ने, जोड्नु पनि पर्ने । यी दुवै एकैचोटि कसरी हुन्छ र ? त्यसमा पनि एकाथरी छन् जे गरे नि नहुने । जस्तै, एमालेले दिँदै नदिने, मधेशवादी लिँदै नलिने, माओवादी छाड्दै नछाड्ने । काङ्ग्रेसको त कुरै भएन । मियो नभएको दाइँजस्तो अथवा दाँत सबै झरेकी बूढीजस्तो अवस्थामा पुगेको बेला छ काङ्ग्रेस । यो धमिलो वातावरण देखेर ताली पडकाउन सधै तम्तयार असल छिमेकी छँदै छन् ।
त्यसो भने हुन्छ के वा गर्ने के त ?
यसको उपाय दुईओटा छ । एक, कि त यो १४ अञ्चल ७५ जिल्लाको टालो नै अझै राम्रोसित सिलाएर बलियो बनाउनतिर सबै लाग्नुपर्यो । नत्र यो सङ्घीयताको हुन्छ र हुन्न भन्नेबीचको आन्दोलन अझ चर्काउनुपर्यो । यसलाई देशव्यापी बनाउनुपर्यो । अहिलेसम्म देशका कुनाकाप्चासम्म आन्दोलनको आगो पुगेकै छैन । अनि कसरी हुन्छ सफल ?
कुनै पनि आन्दोलन सफल बनाउन गतिलो र अझ राष्ट्रियस्तरको नेता चाहिन्छ, जुन अहिलेसम्म देशले जन्माउन सकेको छैन । हामीसँग अहिले सबै टोलेनेता मात्र छन् । जस्तै, केपी ओली झापा परतिर सोच्दै नसोच्ने । माधव नेपाल रौतहटबाहिर पुग्नै नचाहने । देउवा पनि डँडेलधुरा र देउडा छोड्दै नछाड्ने । झलनाथ त इलामे चियाबगान वरिपरि नै मक्ख छन् । मधेशवादी नेतालाई त आफ्नै टोलकाले पनि नेता मानेका छैनन् । किनकि, यी नेतालाई आ–आफ्नो टोलको समस्या र समाधानको सामान्य कुराको पनि ज्ञान र सरोकार दुवै देखिँदैन । हो, मधेशवादी नेतालाई ककसले हावा भरिदिएका कारण बेलाबेलामा हेर्दा यिनीहरु लाखे नाचको ढट्वारेजस्ता चाहिँ देखिन्छन् । रह्यो कुरा प्रचण्ड प्रतापी सीतापतिको । उनी पनि रोल्पा, रूकुम, चितवन र कास्की घुम्दै रनभुल्लमै रहिरहन्छन् । अनि नेता नै नभए नेतृत्व कसले गर्ने, आन्दोलन कसले गर्ने ?
तर, यो सबै झिनामसिना कुराबाट आफूलाई अलग गर्न सक्ने, आआफ्नो टोलभन्दा माथि, गाउँ, जिल्ला, अञ्चलभन्दा पनि माथि उठेर देश हेर्न सक्ने नेल्सन मण्डेलाजस्तो अग्लो नेता नभएसम्म संविधान, सङ्घीयता, समृद्धि वा कुनै पनि आन्दोलन सफल हुन सक्तैन भन्ने हाम्लाई लाइरा’छ । तपाईंलाई कस्तो लाइरा’छ कोन्नी ?