भूकम्पबाट ढलेका घर मर्मत गर्ने जिम्मा पाएका इञ्जिनीयर धमाधम फिल्डबाट भाग्न थालेपछि सरकारले अब तिनको ‘ट्र्याकिङ’ शुरु गर्ने अरे । गाउँतिर जङ्गलमा चर्न गएका गाईवस्तुलाई ट्र्याकिङ गर्न घाँटीमा घण्टी झुण्ड्याएजस्तै । यो प्रावधानले इञ्जिनीयरलाई काममा फर्काउन सक्ला वा नसक्ला, यसै भन्न सकिन्न । किनकि, नेपालमा हरेक विषयमा नयाँ ढङ्गले काम गर्ने भनेर कुरा त हुन्छ । तर, अन्त्यमा गएर भनेको भन्दा काम अर्कै हुन्छ । त्यसैले यहाँ अब के हुन्छ भनेर कसैले भन्नै सक्तैन ।
उदाहरणका लागि केही हप्ताअघिसम्म पनि सारा देश लोकमान सिंहमय थियो । लोकमानलाई महाभियोग लगाउने प्रस्ताव पनि पेश भयो संसद्मा । तर, अब उनको विषयमा संसद् र नेताले के निर्णय गर्छन्, कसैले केही भन्न सक्तैन । यता संविधान संशोधनको चर्चा चुलिएको छ । हिजो आफ्नो शर्तअनुसार भए मात्र संशोधन पारित गर्ने भन्दै हिँडेका मधेशवादी दल एमालेको अड्डिपछि अहिले प्रस्तावित प्रावधानसमेत गुम्ला भन्ने डरले यथास्थितिमै सो पास गर्ने भन्न थालेका छन् । तर, जसले जे भने पनि एमाले आफ्नोे अडानबाट टसमस भएको छैन । अब प्रायः सबैजसो दल सङ्घीयताको लफडा एउटा आयोगलाई सुम्पिएर स्थानीय चुनावमा जाने मनस्थिति बनाएको स्पष्ट देखिन थालेको छ । त्यै भएर होला रेडियो सुन्दरी कोमल ओलीपछि चलचित्र सुन्दरी रेखा थापालाई फूलमाला र लावा लस्करसहित राप्रपाले आफ्नोमा भिœयाएको छ, माओवादीलाई जिल्याएर । चुनावी सभामा भीड तताउनु पर्यो नि त । रेखा पनि कम्ता बाठी छिन् । सम्पत्ति नभएका प्रचण्ड अध्यक्ष भएको पार्टीमा जानुभन्दा त अर्बपति पशुपति राणा अध्यक्ष भएको पार्टीमा गइन् । प्रचण्डको सम्पत्ति विवरण नआएको भए त यो रहस्य थाहै नहुने रहेछ । हुन त प्रचण्डको सम्पत्तिमा तीन तला सुन हुनुपर्नेमा लेख्दा झुक्किएर तीन तोला हुन गएको रहेछ पनि भन्छन् । तर, काङ्ग्रेसको ढुलमूले नीति, एमालेको चुलबुले स्थिति, मधेशवादी दलको चलखेल, माओवादीको गोलमाललगायत सत्ता इतर र भितर दलहरुकोे यस्तो भद्रगोल र खिचातानीबीच चुनाव चैं हुन्छ त ? ख्वै के हुन्छ हुन्छ ।
लौ चुनाव होला रे, नहोला रे वा हुँदै गर्ला रे । तर, कमसेकम बिजुली उत्पादन गरेर, त्यसलाई बेचेर धनी बनौंला भनेको त असल छिमेकी भारतले फ्याट्ट अन्तरदेशीय प्रसारण निर्देशिका भनेर नयाँ अङ्कुश ल्याउने भो रे । अब पानीबाटै धनी हुने सपना पनि पूरा नहुने जस्तो भो । हुन त भारतले त्यस्तो नियत नभएको भनेर छ्यास्स एउटा विज्ञप्ति त जारी गरेको छ । तर, यो अन्योलले गर्दा बिजुली सपना पनि ख्वै के हुने हो, थाहा छैन ।
होइन, अब उद्योगधन्दा चलाएर धनी हुन सकिन्छ कि जस्तो पनि नलाग्ने होइन । किनकि, नयाँ तथा काङ्ग्रेसका युवा (?) उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका सरकारी मात्र होइन, प्राइभेट उद्योग पनि धमाधम खोल्ने भनेर भाषण ठोकेको ठोक्यै छन् मन्त्री भएका छिनदेखि नै । तर, अचम्म, उद्योग प्रवर्द्धन बोर्डको एउटै मिटिङसम्म बस्न सकेको छैन रे । त्यसो भएपछि नयाँ वैदेशिक लगानी त सबै रोकिने भैहाल्यो । स्वदेशी उद्योग पनि मन्त्रीका आश्वासनले मात्र खुलिहाल्लान् जस्तो देखिएको छैन । यसरी स्वदेशी लगानीले नपुग्ने, विदेशी लगानी देशमा आउनै नसक्ने भएपछि देश विकास चैं मन्त्री एक्लैले कसरी गर्ने रहेछन् कुन्नि ? त्यसैले यो उद्योग चलाएर धनी हुने, विकास गर्ने कुरा पनि ख्वै के हुन्छ, यसै अहिले भन्न नसकिने भो ।
यता नेपालमा सन् २०२५ तिर गएर मात्र लोडशेडिङ हट्छ भनेर नेपाल इन्भेष्टमेण्ट बोर्डले अनुसन्धान नै गरेर निकालेको निष्कर्षलाई एक जना घिसिङ कुलका कुलमानले अहिल्यै हटाइदिए बा । हटाउनेले हटाइसक्यो । तर, ‘लोडशेडिङ हट्नै सक्तैन, पुस माघमा गएर हेर्नुहोला नि’ भनेर विद्युत् प्राधिकरणकै पूर्व प्रमुख, सञ्चालक कराउँदै हिँडिरहेका छन् । कस्को कुरा पत्याउनु, कस्को नपत्याउनु ? ख्वै के हो के, बुझ्नै कठिन भो ।
त्यसैले नेपालमा कुनै पनि विषयमा अब के हुन्छ भनेर पहिल्यै कहिल्यै पनि क्यै भन्नै नसकिने भो बा !