ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारूको पीरमा दारु

Dec 23, 2016  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

उता भारतमा १ हजार र ५ सय भारतीय रूपयाँ (भारु)को प्रतिबन्ध लगाएर मोदीले एक प्रकारले कालो बजारी र तस्करलाई गोली हानेका थिए । तर, गोलीको छर्राले भने नेपालीलाई पो घाइते बनाइरहेको छ । किनभने, भारतमा कालाबजारी र तस्करदेखि सर्वसाधारण सबैले आफूसँग भएका ठूला बचत नोट साट्ने मौका पाइसकेका छन् र समय अझै बाँकी छ । तर, सरकारी अधिकारीले पटकपटक आश्वासन दिए पनि नेपालीसँग भएका ठूला भारु साट्न नपाएर उनीहरु छटपटाइरहेका छन् ।

अहिले देशमा यसै पनि यस्तो परिस्थिति बनेको छ कि देश पूरै रोइरहेको जस्तो छ । विवाहको सिजन छ । भारु नपाएर खासगरी तराईतिर दुलाहादुलही मण्डपमा रोइरहेका छन् । त्यस्तै, पसले पसलपसलमा रोइरहेका छन् । व्यवसायी र उपभोक्ता बजारबजारमा रोइरहेका छन्, खोलावारि खोलापारि दुवैतिर । भारुका कारण बैङ्कर बैङ्कभित्रै रोइरहेका छन् । कालाबजारी तस्कर लुकेर भित्रभित्रै रोइरहेका छन् । राष्ट्र बैङ्कका अधिकारी निरीह भएर रोएजस्तो गरिरहेका छन् । भलै प्रधानमन्त्री, मन्त्री, नेतालाई अरुको रूवाइको वास्ता गर्न फुुर्सद हुँँदैन । किनभने, उनीहरु आफ्नै पक्ष, प्रतिपक्षको खिचातानीमा ‘किन चाउरिइस् मरिच भन्दा आफ्नै पीरले भनेजस्तै’ सधैं रोइरहेकै छन् ।

त्यसो त नेपाली शेयर लगानीकर्ता बजार घटेकोमा रोइरहेकै थिए । कृषक खेतमै रोइरहेकै थिए । खाडीलगायत विदेशी भूमिमा रूने थुप्रै नेपाली वर्षाैंदेखि यसै छँदै थिए । भूकम्पपीडित २ वर्षदेखि रोई नै रहेका थिए । यो चिसोमा घर तयार बनाइदेलान् भनेर आश गरेका भूकम्पपीडित त उल्टो इञ्जिनीयर सबैले सामूहिक राजीनामा दिएर हिँडेकाले उनीहरु थप अझ कति समय रोइरहनुपर्ने हो, शायद कसैले अनुमान गर्न सक्तैन होला । नेतामा राष्ट्रियता, नैतिक, मूल्य मान्यता आदि सबै स्खलित भएकाले देश झन्झन् रूञ्चे पो बन्दै गएको छ । यसमा झन् भारुको भार थपिएको छ । यसरी, यस्तो लाग्छ यो देश पूरै भावुक बनिसकेको छ ।

भलै ठूला दरको नोटको अमौद्रीकरण गर्ने भारतको यो कदमले नेपाल र नेपालीका लागि एउटा सुनौलो मौका ल्याएको थियो, नेपाली रूपैयाँलाई भारतीय मुद्रासँग पेग गर्न बन्द गर्ने ।

तर, सधैं रूने र झुक्ने मात्र बानी परेका नेपाली अधिकारीमा यसलाई या त मौका हो भनेर चिन्ने खुबी भएन या विभिन्न डरका कारण बुझेर पनि उनीहरुले नबुझेजस्तो गरिरहेका छन् ।

शायद नेपाली अधिकारीलाई लागेको होला कि भारुसँग पेग नगर्नेबित्तिकै नेपाली अर्थतन्त्र गल्र्यामगुर्लुम ढल्छ । अनि खासगरी बोर्डर क्षेत्रका नेपालीले खुब दुःख पाउँछन् । तर, चुरो कुरो वा सत्य अर्कै छ ।

भारुसँगको पेग हटाउनेबित्तिकै भारतले चाहिँ धेरै गुमाउनेछ । एक त भारतले नेपालसँगको झण्डै ६ सय अर्बको मोनोपोली बजार गुमाउनेछ । त्यसपछि नेपाली व्यवसायीले भारतको सट्टा कुनै पनि तेस्रो मुलुकबाट मालसामान झिकाउन सक्नेछन् । मृगलाई आफ्नो अमूल्य नाभीको महङ्खव थाहा नभएर सधैं भौंतारिइरहेको जस्तै बनेको छ नेपालीको अवस्था । अहिलेसम्म नेपालीले आफूले कमाएको डलरले भारु किनेर त्यो भारुले भारतीय सामान किनिरहेको तथ्य तथाकथित् नेपालीविज्ञ र अर्थशास्त्रीलाई कसरी बुझाउने होला ? ‘हाम्री आमा साह्रैनै बाठी छन्, चामलसँग पीठो पो साटिछन्’ भनेजस्तो भइरहेको कुरा नेपाली नेतालाई कसले सम्झाइदिने होला ?

नेपाली नेता र सरकारी अधिकारीको ताल देख्दा यस्तो लाग्छ कि नेपाली सधैं रोइरहनुपर्नेछ । के यस्तै रूवाइकै बीच नेपालीले यो सन् २०१६ साल पनि बिदा गर्नुपर्ने भयो, होइन त ? भारुको पीरमा दारू खाएर केही महीना दुःख पाए पनि दीर्घकालीन रुपमा नेपाल र नेपालीलाई भारुसँगको नाता तोड्दा फाइदै फाइदा छ भन्ने कुरा नेपालका नीति निर्माता र नेपालीका भाग्यविधाता अधिकारीलाई लौन कसले र कसरी बुझाउने होला ?

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)