तपाईं चलचित्र हेर्न जाने समयमा सारै थकित हुनुभएको छ ? आरामदायी तरीकाले सिनेमा हेर्न पाए पनि हुने थियो भन्ने सोचमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । तपाईंले अब सुती सुती सिनेमाको मज्जा लिन सक्नुहुनेछ, त्यो पनि सिनेमा हलमा नै । दक्षिण कोरियाको सोलस्थित गङनममा रहेको एक मल्टिकम्प्लेक्स सिनेमा हल सीजेसीजीभीले अब टिकटसँगै डसना र सिरानी पनि उपलब्ध गराएको छ । यति मात्र होइन, ३५ डलर तिरेर टिकट लिएपछि आरामसँग सिनेमाको मज्जा लिने मात्र नभई पेय पदार्थ तथा कुकिज पनि प्राप्त गर्न सकिनेछ । त्यस्तै कोट झुण्डाउने र मोबाइल चार्जरको सुविधासमेत उपलब्ध रहेको बताइएको छ ।
यसबारे प्रतिक्रिया माग्दा सिनेमा हलका महाप्रबन्धक किम जी ताईले ग्राहकको मागअनुसारको सुविधा दिन आफू पछि नपरेको बताएका छन् । कोरियामा मानिसहरुले आजकाल धेरैभन्दा धेरै सुविधा खोजिरहेको समयमा आफूले पनि यसमा हिस्सा लिएको उनले बताए । सिनेमाका पारखीलाई दिइने मनोरञ्जन यति मै सीमित हुँदैन । यस सिनेमा हलमा पछिल्लो ब्लगबष्टर सिनेमा हेरे तपाईंलाई अर्को आकर्षक उपहार पनि मिल्नेछ । त्यो हो, सँगैको भवनमा रहेको फ्रेञ्च–इटालियन रेष्टुरेण्ट सिने दी शेफमा डिनरको व्यवस्था ।
तपाईंलाई लाग्ला, यस्तो भएपछि त्यहाँ ग्राहकको लाइन त सधैं रहिरहला तर होइन । भ्यालेण्टाइन डे, क्रिसमस र नयाँ वर्ष जस्ता पर्वमा मात्र त्यहाँको सिनेमा हल लगभग भरिन्छ । अरु बेला आधाभन्दा अलि बढी । त्यसो भए अब तपाईंलाई जिज्ञासा लाग्ला, डसना कति दिनमा फेरिन्छ त ? यसको पनि काइदाकै नियम छ त्यहाँ । जाडो समयमा प्रत्येक २ सिनेमाको प्रदर्शनीपछि फेरिन्छ भने गर्मीयाममा हरेक सिनेमा प्रदर्शनीपछि । ‘नियमित सिनेमा टिकटभन्दा यो निकै महँगो भए पनि विशेष सुविधा खोज्ने ग्राहककै लागि यो सेवा हो, सुविधा खोज्नेले कहिलेकाहीं यो रकम तिरिहाल्छन्,’ ताईले भनेका छन् । एजेन्सी