ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्से र बोर्डको साँडे जुधाइमा लगानीकर्ता

Dec 30, 2016  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

जबजब नेपालको शेयर बजार अथवा नेप्से घट्न थाल्छ, शहरमा थरीथरीका नाटक मञ्चन शुरु हुन्छन् । कोही बजार बढ्नुपर्छ भनेर जुलुसै निकाल्छन् । लगानीकर्ताका पनि तरह तरहका सङ्घ छन् । उनीहरु स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डको अफिस धाएर ‘बजार बढाऊ, नत्र !’  भनेर खबरदारी गर्न थाल्छन् । कोही बजार भनेकै बढ्ने र घट्ने हो भनेर अफिस वा घरभित्र बसेर रमिता हेरेर बस्छन् । बाठा लगानीकर्ता आफ्नो लगानी कसरी सुरक्षित गर्ने भन्नेतिर लाग्छन् । साना तर बजारको भेउ त्यति नपाएका लगानीकर्ताहरु कुना पसी रोइरहन्छन् । तर, यता नेप्से र बोर्ड भने कहिले जुहारी, दोहोरी, तेहरी गाउन थाल्छन्, त्यो पनि मिडियामार्फत । कहिले भने साँडे र भालु जुधाई गर्छन् । त्यै भएर हो कि क्या हो, संसारभरि नै स्टक एक्सचेञ्ज भन्नेबित्तिकै साँडे र भालुसँगै बसेको चित्र वा मूर्ति राख्ने गरिन्छ ।

हुन पनि २ दशकभन्दा पुरानो भए पनि नेपालको शेयर बजार छिमेकी विकासोन्मुख देशको दाँजोमा समेत बाल्यकालमै मस्त छ । बजारलाई युवा अवस्थामा पुर्‍याउन लाग्नुपर्ने नेप्से र बोर्ड भने साँडे जुधाइ खेल प्रदर्शन गर्नमै व्यस्त छन् । लडाइँ पनि कस्ताकस्ता नमूना हेरौँ न ।
बोर्डले अक्सन प्रणाली शुरु गर भनेर नेप्सेलाई उर्दी दियो । नेप्सेले पनि नियमावलीको मस्यौदा गरेर बोर्डमा पठायो । तर, बोर्डले त्यो मस्यौदालाई थन्क्याएर सबै काम रोक्द्यो रे । बोर्डले नयाँ सफ्टवेयर भिœयाएर बजारलाई थप गतिशील बनाउन नेप्सेलाई उर्दी दियो, र नेप्सेले त्यो काम गर्न ठेक्का पनि दियो । तर, त्यो पनि बोर्डले रोक्द्यो रे । बजारको विकासका लागि नेप्सले बोर्डकै सिफारिशमा कार्यदल बनायो । तर, बोर्डले त्यो कार्यदललाई सहयोग गरेन रे ! लगानीकर्ताले पनि कस्को कुरा पत्याउने, कसको नपत्याउने ?

शेयर बजारको विस्तार गर्न भनेर काठमाडौं बाहिर पनि ब्रोकरलाई शाखा खोल्न दिने र बैङ्क तथा वित्तीय संस्थालाई शेयर दलालको काम गर्ने अनुमति दिने कुरा चल्यो । तर, त्यो पनि अगाडि बढेन । यसमा त अहिले भएका ब्रोकरहरुले समेत नेप्सेमै गएर बैङ्कलाई लाइसेन्स दिनै हुँदैन भनेर धर्ना कस्न गएछन् चुपचाप, पत्रकारहरुलाई समेत थाहै नदिई । हुन पनि आफ्नो गाँस काटिने कुरा गर्न किन दिन्थे ब्रोकरहरुले ? तर, बोर्ड र नेप्सेका हाकिमहरु त बजार विस्तार गर्ने, दुर्गममा पनि नयाँ लगानीकर्ताहरुले समेत लगानी गर्न सकून् भन्नेतिर लाग्नुपर्ने हो नि । तर, लागेका छैनन् । किन नलागेका होलान् त हाकिमहरु बजार विस्तारमा ? यसो घोत्लिएर विचार गर्दा यसमा यस्ता कारण हुन सक्ने पो देखियो त ।

एक त बैङ्कहरुलाई ब्रोकर लाइसेन्स दिनै हुँदैन । किनभने नेप्से र बोर्डकै कतिपय हाकिमहरुको ब्रोकर कम्पनीमा लगानी हुन सक्छ । आफ्नो नभए आफ्ना मान्छेको लगानी हुन सक्छ । रिटायर भएपछि काम र मामको जोहो त जो गर्नुपर्‍यो नि । दोस्रो ‘बजार जाये भाँडमे ।’ बैङ्कलाई ब्रोकर बनाएर आफ्नै खुट्टामा वञ्चरोले हान्ने काम मूर्खले पो गर्छ त ।

त्यसो होइन भने अर्को सम्भावना पनि छ । बजार घटेकाले लगानीकर्ताहरुमा निराशा छाएको देखेर नेप्से र बोर्डका हाकिमहरुमा लगानीकर्ताहरुलाई केही समय भए पनि मनोरञ्जन दिनुपर्दछ भन्ने पवित्र उद्देश्य जागृत भएको हुन सक्छ । त्यही भएर ‘तँ रोएजस्तो गर् म कुटेजस्तो गर्छु’ भनेर एउटाले बजार विस्तारका विभिन्न योजना अघि ल्याएजस्तो गर्ने, अर्काेले त्यसलाई रोक्ने गरेका पो हुन् कि ?

यो सबै शृङ्खलामा नेप्सेको एउटा अर्घेल्याइँ भने स्पष्ट देखिन्छ । त्यो के भने बोर्ड भनेको त नेप्सेको हाकिम पो हो । हाकिमलाई त मान्नु पर्‍यो नि । कसरी ‘जदौ’ गर्ने जान्नु पनि पर्‍यो । हाकिम भइसकेपछि अलि हाकिमी पारा पनि देखाउन नपाए त्यो भएको के मतलब, होइन त ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)