मन्त्रिपरिषद्को बैठकमा गतहप्ता बीमा समितिको अध्यक्ष कस्लाई बनाउने भनेर कुरा उठ्दा अर्थमन्त्रीले आफ्नो कोटको खल्तीबाट फुत्त एउटा नाम निकालेछन् । तर, त्यो देखेर प्रधानमन्त्रीको अनुहार निन्याउरो भएपछि मन्त्रीले लिष्ट फेरि खल्तीमै थन्क्याएछन् । र, यो हप्ता प्रमले खल्तीबाट निकालेको लिष्टबाटै अध्यक्ष छानिए । तर, मन्त्री, प्रधानमन्त्रीले खल्तीबाट फुत्त लिष्ट निकालेर यस्ता विभिन्न समिति, विभाग, बोर्ड आदिका लागि प्रमुख, उपप्रमुख, महाप्रबन्धकहरू बनाउने चलन नेपालमा पुरानै हो । सभासद्मा उम्मेदवारहरुको नाम पनि नेताहरुले खल्तीबाट फुत्त निकालेर नै बनाउने गरेको हो, नेता र केन्द्रीयता मोडलको प्रजातान्त्रिक नेपालमा । यसमा खराबी पनि के नै छ र ? कहिलेकाहीँ अहिलेजस्तै राम्रै मान्छे पनि त पर्छन् ।
झन् लोकतन्त्रपछिको गणतन्त्रमा त खल्तीबाटै मान्छे बनाउने नेताहरूको अधिकारकै कुरा हो । यति पनि गर्न नपाउने भए उनीहरूले जीवनमा राजनीति गरेको मतलब नै के रह्यो र ?
मानिसहरू नेताहरूका काम कारबाहीको बिनाकाममा विरोध गरिरहन्छन् । त्यस्ता विरोधको कुनै तुक छैन । म त भन्छु नेपालमा राजनीतिक दल र नेताहरूलाई असीमित अधिकार दिइनुपर्छ । जनता भनेका जनता हुन्, नेता भनेका नेता हुन् । जनतालाई पनि नेता हुने अधिकार छ । तर, नेता बन्न सक्नु पनि पर्यो नि । नेतृत्व दिने मान्छे अर्थात् नेता त भगवान् पो हो ।
नेताहरूले चाहेजति खर्च गर्न पाउनुपर्छ । चाहेको कुरा खान पाउनुपर्छ, लाउन पाउनुपर्छ । चाहेको ठाउँमा हेलिकोप्टर वा हवाईजहाज चढेर जान पाउनुपर्छ । त्यसैले म भन्छु–नेताजीहरु हो, तिमीहरुले मनलाग्दी जेजे गरे पनि हुन्छ । नेपाली जनता भनेका यस्तै त्यस्तै हुन्, जे पनि भनिरहन्छन् । तर, तिमीहरु हात्ती हौ, तिमी हिँडिरहु । यो देश तिम्रो बिर्ता हो, तिमीलाई जसरी चलाउन मन लाग्छ, चलाए हुन्छ ।
जनता विकास विकास भन्छन्, तिमी बन्द गर्दै हिँड । जनता फेन्सी खोल्छु भन्छन्, फूटपाथमा जीवन चलाउँछन्, तिमी फिरौती लिँदै हिँड । जनता प्रविधि आयात गर्ने कुरा गर्छन्, तिमी राजनीति नै गर । जनता नियम कानून मान्ने कुरा गर्छन्, तिमी आफ्ना लागि नियम कानून नै फेरिदेऊ । जनता उद्योग बलियो बनाउने कुरा गर्छन्, तिमी पार्टी बलियो बनाउनतिर लाग । जनता करबलले मात्र कर तिर्छन्, तिमी लक्ष्य निर्धारण गरेरै कर असुल । जनता उत्पादन बढाउने कुरा गर्दै हिँड्छन्, तिमी पार्टी कार्यकर्ता बढाउँदै जाऊ । जनता सामान निर्यात गर्छु भन्छन्, तिमी मान्छे निर्यात बढाऊ ।
निजीक्षेत्र आफ्नो व्यापार बढाउने कुरा गर्छ, तिमी सरकारले गर्ने व्यापार साथसाथै आफ्नो पनि व्यापार बढाऊ । जनता क्षमताको वर्गीकरण गरौं भन्छन्, तिमी जातीय वर्गीकरण, भौगालिक सीमा खण्डीकरण गर । हिजो हाम्रा पुर्खाले बाइसे र चौबीसेमा खण्डित राज्य जोडेर नेपाल बनाएर गल्ती गरे । तिमी आज फेरि नेपाललाई खण्डखण्डमा विभाजन गर र संघीयता जस्तै नयाँनयाँ नाम देऊ र सुधार गरें भन । तिमी जनतालाई सपना देखाऊ, सपना देखाउने तिम्रो धर्म हो । अब देशलाई स्वीट्जरल्याण्ड, सिङ्गापुर बनाउने पुराना सपना नदेखाऊ । तिम्रा हैकम चलेका बेला मिल्छ भने बरु अब चन्द्रमा वा मङ्गलग्रहमै बस्ती बसाल्ने सपनाको खेती शुरु गर । त्यो फसल पो अझ फस्टाउँछ कि ?