नेपालमा खासगरी काठमाडौंभित्र पनि र यहाँबाट बाहिरका जिल्लाहरु जोड्ने सुरूङमार्ग अर्थात् टनेलहरु थुप्रै बन्दैछन् । सीतापाइलाबाट मात्रै धादिङ निस्कने दुई फरक टनेल बन्दै छन् । त्यै टनेल बनाउने काममा व्यस्त भएकै कारण होला अहिलेको सरकारले मन्त्रिपरिषद्को बैठक बस्न नभ्याएका कारण पृथ्वी जयन्तीका अवसरमा छुट्टी नदिएको । त्यस्तै, नागढुङ्गाबाट नौबीसे निस्कने टनेल, काठमाडौं–हेटौंडा सुरूङ मार्ग पनि बन्ने कुरा अझै चालू नै छ । मेलम्चीको टनेल त बनी नै सक्यो । अझ मेट्रो रेल पनि बन्ने रे । त्यसका लागि पनि टनेल त बनाउनै पर्छ । नेपालमा क्यै भएन भन्नेलाई टनेल एउटा गतिलो झापड हुन सक्छ । जेहोस्, यसको मतलब नेपाल अब टनेलमय बन्दै गइरहेको प्रमाणित गरिरहन परेन ।
होइन नेपालमा यो ‘टनेल क्रान्ति’ कसरी शुरु भयो त भनेर विचार लडाउँदा थाहा भयो कि यो त सत्तासीन माओवादी दलले उहिल्यै भारतसँग युद्ध गर्न भनेर टनेल बनाउन शुरु गर्या’थे । पछि उनीहरु आफैं संसदीय व्यवस्थाको टनेलभित्र छिरेपछि जमीनभित्र टनेल बढाउने कुरा हराएको थियो, अब ब्युँझियो । त्यसैले यो संसदीय युगमा आएपछि टनेल संस्कृति फस्टाउनुमा यसको श्रेय माओवादीलाई दिनैपर्छ ।
भलै टनेल बनाउने खास काम भनेको मुसाहरुको हो । त्यसैले नेपालको राजनीतिमा पनि यो मुसा प्रवृत्ति (मुप्र) हावी छ । यो मुप्र पञ्चायतकै बेलामा शुरु भाको हो । तर, पञ्चायतबाट संसदीय व्यवस्थामा मुप्र भित्र्याउने श्रेय भने महान् राष्ट्रवादी नेता श्रीश्री कमल थापालाई जान्छ । संसदीय व्यवस्थामा भने मुप्रका प्रणेता श्री २ शेरबहादुर देउवा हुन् भनेर भनिरहन परेन ।
उसो त पहिले पहिले राजा महाराजाले पनि टनेल बनाउने गर्थे रे । अब त जताततै महाराजै महाराज पदस्थापन भएको बेला झन् कति टनेलहरु बनाउने हुन् कुन्नि ? टनेल बन्नु त शायद राम्रै कुरा होला । तर, देशैभरि जताततै प्वालैप्वाल बन्यो भने के हुने हो होला ? एक त टनेल भनेको भूमिगत हुनु हो । यसको मतलव देशमा भूमिगतहरु थुप्रै हुने भए । पौराणिककालमा दानवहरु मात्र पाताल अर्थात् टनेलमा बस्थे रे । हैन कतै हामी नेपाली जनतालाई पनि दानव नै बनाउन लाग्या पो हुन् कि क्या हो जताततै टनेल बनाएर ?
त्यो त होइन होला कि ? उतिखेरका ताना सर्मा अहिलेका तारानाथ शर्माले उत्तर अमेरिका र क्यानाडालाई पाताल भनेका थिए, उनको स्मरणात्मक किताब ‘पाताल प्रवासको एक चोइटो’ मा । बरु हाम्रा सरकारी अधिकारी र नेताहरुले नेपाललाई पनि अमेरिका र क्यानाडा नै पो बनाउन लाग्या हुन् कि टनेलै टनेल निर्माण गरेर ? त्यसो हो भने नेपाल स्वीट्जरल्याण्ड चैं नबन्ने भएछ कि क्या हो ? अमेरिका वा क्यानाडा बनाउन पनि मेट्रो रेलहरु गुडाउनुपर्ने होला शहरभित्रभित्रै टनेल बनाएर । त्यो कसरी बनाउने ? बल्लबल्ल रत्नपार्क–भोटाहिटीमा एउटा सबवे वा टनेल बनेको थियो कुनै जमानामा । तर, केही वर्षभित्रै बन्द गर्नुपर्यो । किनकि त्यहाँभित्र पानी पो निक्ल्याथ्यो रे । पानी मात्र कहाँ हो र, त्यहाँबाट देवी देउतासमेत निक्लेका थिए रे । अहिले त पानी काठमाडौंमा सुकिसक्यो नै होला । पानी त नआउला । तर, अस्ति नक्सालमा एउटा होटल बनाउने भनेर खन्दै जाँदा ठूलै भ्वाङ परेजस्तै शहरैभरि भ्वाङैभ्वाङ पर्न थाल्यो भने के गर्ने ? अझ ३३ करोड देवीदेउता भएको देशमा अचेल देवीदेउता जताततै बस्नुपर्ने स्थितिमा राखिएका छन् । कति त विदेशिई पनि सके क्यारे, यहाँ बस्ने ठाउँ नपाएर । अब टनेलबाट पनि नेमुनिका जमानाका अरु देवीदेउता निस्कन थाले भने कहाँ राख्ने उनीहरुलाई ? पर्दैन फसाद ?
त्यसमा पनि नेपाल भौगर्भिक हिसाबले पनि हिमालय पर्वत, महाभारत शृङ्खला, चुरे भनेका संसारकै कान्छा पर्वतमाला भएकाले यहाँ भूइँचालो गइरहन सक्छ भन्छन् भूगर्भविद्हरु । कमजोर भूबनोटका कारण साँच्चै परारको जस्तै वा ठूलो भूकम्प आइदियो भने परेन फसाद ? सबै टनेलहरु एउटैमा मिसिएर एउटै टनेलरुपी नयाँ ब्ल्याक होलभित्र सबै नेपाल र नेपाली छिर्नुपर्ने पो हुन्छ कि ?
त्यसैले यो टनेलै टनेलले नेपालमा उज्यालो ल्याउने हो कि अँध्यारो, भेउ पाउनै गाह्रो भो बा ?