विद्यार्थीलाई परीक्षामा कम प्राप्ताङ्क आउला भन्ने धेरै नै चिन्ता हुन्छ । अझ कतिपय अवस्थामा त विद्यार्थी थोरै प्राप्ताङ्क कारण फेल पनि हुनुपरेको छ । यस्तो परिस्थतिलाई केही कम गर्न चीनमा अनौठो प्रयासको थालनी गरिएको छ । चीनको नान्जिङस्थित एक माध्यमिक विद्यालयले ‘मार्क्स बैङ्क’ स्थापना गरेकोे छ । मार्क्स बैङ्कको स्थापनापछि विद्यार्थीले कम अङ्क प्राप्त गरे पनि उसलाई कुनै तनाव हुने छैन ।
माक्र्स बैङ्कबाट विद्यार्थीले कम अङ्क प्राप्त गरेको विषयका लागि प्राप्ताङ्क सापटी लिन पाउँछन् । कम अङ्क प्राप्त गरेको विषयमा पनि सजिलै उत्तीर्ण हुने भएपछि विद्यार्थीमा तनाव कम हुने विश्वास विद्यालय प्रशासनले लिएको छ । चीनमा यो निकै ठूलो चर्चाको विषय भएको छ । यसले परीक्षामा चरम तनाव भोग्नुपर्ने परम्परागत शिक्षा प्रणालीमाथि चासो पनि बढाइदिएको छ । गतवर्षको नोभेम्बर महीनामा चीनले ४९ जना विद्यार्थीका लागि यो स्किम ल्याएको थियो । उनीहरुले भाषा, जीव विज्ञान, रसायनशास्त्र तथा इतिहास जस्ता पढ्न धेरै कठिन हुने विषयका लागि प्राप्ताङ्क सापटी लिन पाउने छन् ।
यस्तो प्राप्ताङ्क सापटी लिने विद्यार्थीले सापटी लिएबापतको अङ्क अर्को जाँचमा धेरै प्राप्ताङ्क ल्याएर फिर्ता गर्नुपर्ने हुन्छ । वास्तविक बैङ्कमा जस्तै यहाँ पनि विद्यार्थीलाई उनीहरुको व्यवहार, रेकर्ड, विद्यालयमा उपस्थितिको सङ्ख्याजस्ता कुराका आधारमा ‘क्रेडिट स्कोर’ दिइनेछ । यदि उनीहरुले सापटी लिएको प्राप्ताङ्क समयमै तिर्न सकेनन् भने उनीहरुलाई ‘कालो सूची’मा समेत राख्न सकिने बताइएको छ । शिक्षकको अनुमति भएमा विद्यार्थीले आफ्नो प्राप्ताङ्क ऋण कक्षाकोठाका अन्य विद्यार्थीलाई समेत तिर्न लगाउन सक्नेछन् । एजेन्सी