नेपालमा कतिपय पढेलेखेका मानिस यो भएन, त्यो भएन, सरकारले यो गरेन, राजनीतिक दलले त्यो गरेनन्, महँगी बढ्यो, भ्रष्टाचार बढ्यो भनेर बेलाबेलामा हल्लाखल्ला गरिरहन्छन् । तर, राम्ररी हेर्दा सबै थोक ठिकठाक नै भइरहेको छ त !
अब अहिले मौसम चिसो छ । कहिले यो तातो, पीरो पनि हुन्छ । धेरै नेपाली गरीब छन् । कतिपय नेपालीसँग घर छैन । घर भएकासँग भित्र एसी छैन वा हिटर छैन । उनीहरुसँग गाडी छैन । त्यसैले उनीहरुलाई चिसो हुन्छ होला । तर, अब मौसम नै खराब भएपछि सरकारले पो के गर्न सक्छ र ? समस्या नै मौसमको हो, सरकारको होइन । जनता गरीब छन्, यसमा सरकारले के नै गर्न सक्छ र ?
त्यसकारण समस्या जनताको हो, सरकारको होइन । कुरै नबुझी मान्छेहरु नेतालाई, सरकारलाई गाली गरिरहन्छन् । कतिपय नेपालीसँग जागीर छैन होला । अब जागीर नभएपछि त पैसो कमाइँदैन नि । खोज्नु पर्दैन त जागीर ? स्वदेशमा नपाए बिदेश जानु । एउटा राम्रो जागीर खानु । पाइहालिन्छ जागीर विश्वभरि जताततै । श्रम गर्न स्वीकृति नै नदिएका देशमा त गएर मजाले जागीर खाएर, पैसा कमाएर आफन्तलाई, गर्लफ्रेण्ड÷ब्वाइफ्रेण्डलाई पैसा पठाएको पठायै छन् अरुहरुले । नत्र देशमा यत्तिका मोबाइल, बाइक, टीभी आदि कसरी बिक्थ्यो त देशमा ? जग्गाको भाउ कसरी बढ्थ्यो ? अहिले जग्गाको भाउ बढेका कारण कति सजिलो भएको छ सबैलाई । अलिकति टुक्रा जग्गा बेच्यो, मोटरसाइकल किनेर नयाँनयाँ मोबाइल झुण्ड्याउँदै घुम्न पाइरहेका छन् नेपाली युवाहरुले । नेपाली युवाहरुलाई जस्तो यस्तो सुविधा संसारमा कसैलाई कतै छ ? मानिसहरु त्यसै यो र त्यो भएन भनेर विनाकाम बकबक मात्र गरिरहन्छन् ।
अहिले देशैभरि पुनर्निर्माणको काम जोडतोडले भइरहेको छ । सडकहरु फराकिला पारिँदैछन् । फराक पार्न भत्काउँदा काठमाडौं धुलिमाडौं भएको छ । भत्काउँदा धूलो नआउने प्रविधि त नेपालसँग छैन । धूलो मार्न पानी छैन । अनि कसरी धूलो हट्छ त ? तर अबुझहरु लौ धूलो भयो, कहिले हिलो भयो भनेर कराइरहन्छन् । अब जाडो छ । ठेकेदार, कामदारलाई पनि चिसो लाग्दो हो । अनि बिदा बस्दा हुन् । घरमा बस्नेहरुले सडक बनेन, धूलो भयो भनेर कराउँदैमा सडक बन्छ र ? मुग्लिङ–नारायणगढ सडक खण्ड बनाउन शुरु गरेको यतिका समय भइसक्यो, एक छेउ काम सकिएको छैन । तर, त्यहाँ वरिपरि बस्ने मानिसहरु बुद्धका अनुयायीजस्ता शान्त छन् । ३ घण्टामा छिचोल्ने काठमाडौं–नारायणगढ १२ घण्टा लाग्दा पनि यात्रुहरु साइड सिन हेर्नमै मस्त छन् । कसैले खासै गुनासो गरेका पनि छैनन् । तर, केही विकासविरोधी भने सरकारलाई धारे हात लाएरै बसिरहन्छन् । यसमा गर्ने के, लौ भन्नोस् त ?
मौसम र समयअनुसार कुराहरु फेरिन्छन् । परिस्थिति पनि फेरिन्छ । लोकमानहरु जोकमान बन्छन् । काजीहरु ‘पाजी’ हुन्छन् । पाजीहरुले बाजी मार्छन् । त्यसैले समय परिस्थितिको अगाडि कसैको केही लाग्दैन । यो एउटा उदाहरण नै हेरौं न । अर्थमन्त्री कृष्णबहादुर महरा ७ महीनाअघिदेखि नै देशको अर्थतन्त्र उकास्न अचूक मन्त्ररुपि एउटा योजना भनौं वा खाका सार्वजनिक गर्न चाहन्थे रे । तर, उनले समय अभावका कारण त्यो बाहिर निकाल्नै सकेनन् रे । र, बल्ल सार्वजनिक गरे । हुन पनि विदेश भ्रमण पनि छोड्ने कुरा भएन । हेलिकोप्टरमा स्वदेश याने जिल्ला वा कार्यकर्ता भेटघाट पनि छुटाउने कुरा भएन । अनि समय कतिखेर पाउनु ? यता सुनकाण्ड उता एनसेनको लफडा छँदै छ मिलाउनुपर्ने । फेरि पूँजीगत खर्च नभएर देशमा तरलताको नयाँ समस्या शुरु भो । अब अरु मन्त्रालय खासगरी काङ्ग्रेसी मन्त्रीहरुले बजेटै नचलाइदिएपछि कसरी गर्ने पूँजीगत खर्च ? फेरि बैङ्कमा लगानीयोग्य पैसा भएन, पैसा मिलाइदेऊ भनेर हुलका हुल मान्छेहरु डेलिगेशन आउँछन् । अर्थमन्त्रीले पनि के गर्नु ? ५० करोड वा १÷२ अर्बसम्म भए त आफ्नै पकेटबाटै भने पनि सापटी दिऊँ भन्थे होला । तर, बैङ्कलाई त्यत्तिले नपुग्ने । राष्ट्र बैङ्कलाई बोलाएरै लौ पैसो देऊ बैङ्कलाई भने, राष्ट्र बैङ्कले रिपो हो कि के हो जारी गर्दियो । तर, बैङ्कहरुले त्यो लिएनन् । शायद उनीहरुले मागेको अर्कै कुरा थियो ।
जीवनमा हिसाब भनेपछि पिसाव आउने, त्यस्मा पनि यो अर्थशास्त्रलाई के हो अर्थोकै शास्त्र बुझेर अर्थमन्त्रीलाई हुनसम्म गाह्रो परेको कुरा कस्ले बुझिदिने ? केही बोल्न पनि नहुने । माछा खान मन लागेर यसो भुरा माछाका कुरा के सुनाएका थिए पोखरामा ‘लौ सुन, ठूला माछाहरुलाई उम्किन दियो’ भनेर एक थरी मानिसहरु गिल्याउन थालिहाले । अर्थमन्त्रीले अर्थतन्त्रका लागि केही गर्न नचाहेका त होइनन् नि । तर, समय र मौसमले साथै दिइराख्या छैन । विचरा गरुन् के उनले पनि ?
अहिले सबैले सरकारलाई स्थानीय चुनावको घोषणा गर भनेर भनिरहेका छन् । तर, चुनाव गर्ने माहौल ख्वै बनेको ? माहौल नबनी चुनाव घोषणा गर्ने कुरा पनि भएन । यसरी हरेक कुरामा एउटा अनुकूल मौसम हुन जरूरी हुन्छ । अहिले नेपालमा हरेक क्षेत्रमा, हरेक विषयमा मौसम प्रतिकूल भएकाले मात्र कामहरु नबनेका हुन्, विकास हुन नसकेको हो । तर, मौसम सुध्रनासाथ सबै ठीक हुन्छ । नपत्याए कुनै पनि ज्योतिषीलाई गएर सोध्नुभए पनि हुन्छ ।