ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैङ्कमा सुक्खा, सरकार मख्ख !

Jan 27, 2017  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

प्रत्येक वर्ष जबजब यो सुक्खा मौसम शुरू हुन्छ, तबतब खेतबारीमा मात्र होइन, बैङ्कमा पनि तरलता याने लगानी गर्ने पैसा नभएर सुक्खा लाग्ने गर्छ । त्यसपछि बैङ्क र बैङ्कहरुको माउ राष्ट्र बैङ्क (राबै) बीच होली खेल्न शुरु हुन्छ ।

राबै भन्छ बैङ्कहरुले अस्वाभाविक कर्जा दिएका कारण तरलता सङ्कट आईपरेको हो । अनुत्पादक क्षेत्रमा लगानी धेरै भो । आफ्नो घाँटी हेरेर पो हाड निल्नुपर्छ । संस्थागतभन्दा व्यक्तिगत निक्षेप ल्याउनुपर्‍यो । दीर्घकालीन लगानीमा जोड दिनुपर्‍यो, आदिआदि ।

तर, बैङ्कहरु भन्छन्– ए बाबै, रिन माग्न ग्राहक आएपछि नदिने ? ऐननियमभित्र बसेर दिएको कर्जा कसरी अस्वाभाविक भयो ? घर कर्जा कसरी अनुत्पादक हुन्छ ? भारतमा त्यै उत्पादक हुने, नेपालमा चैं

नहुने ? अटो लोन नदिनु ? लोन नदिए नाफा कसरी कमाउने ? नाफा नकमाए शेयरहोल्डरलाई के दिने ? अनि ८ अर्ब चुक्ता पूँजी पु¥याउन बाध्य गरेपछि त्यो पूँजीअनुसार शेयरहोल्डरलाई नाफा दिन परेन ? वाणिज्य बैङ्कहरुलाई विकास बैङ्कको जस्तो काम गर भनेर उर्दी जारी गरेर हुन्छ ? विकास बैङ्क भनेर ल्याएको एनआईडिसी र कृषि विकास बैङ्कलाई चैं वाणिज्य बैङ्क बनाउने । अनि कुरो कसरी मिल्छ हाकिमसा’ब ?

त्यसमा पनि आजको जमानामा जनताले बैङ्कले ब्याज थोरै दिन्छ भनेर तकियामुनि पैसा राख्या छन् र व्यक्तिगत निक्षेप तान्नलाई ? भुइँचालो गएपछि त मान्छेले घरमा पैसा राख्न झन् कम पो गरेका छन् त ।

तर, सर्वसाधारण भने यी दुई बाउछोरा बैङ्कको जुहारी बुझ्दैनन् । को सही हो, को गलत हो, छुट्याउन सक्तैनन् । उसलाई त आफूले शुरु गरेको नयाँ उद्योग वा व्यवशायमा बैङ्कले रिन नदिए कामै रोकिने स्थितिले सताएको छ । तरलता अभावकै कारण अचानक बढ्ने ब्याजले गर्दा उत्पादन लागत बढ्ने भो भन्ने थप चिन्ता छ । कतिपयलाई त्यै उद्योग खुल्ला र जागीर खाऊँला भनेको त्यै पनि नपाउने भो भन्ने चिन्ता छ ।

यसरी यो तरलतामा सुक्खा लाग्नुमा दोषी को त भन्न गाह्रो छ । यसो लाटो बुद्धिले हेर्दा त बैङ्करहरुले पनि व्यक्तिगत निक्षेप सङ्कलन गर्न त्यति जाँगर नलाएको देखिन्छ । नत्र १० वा २० लाख ल्याउनेलाई मात्र १०/१२ प्रतिशत ब्याज दिन्छौं भनेर किन भनिरहन्थे र ? १०/२० हजार ल्याउनेलाई पनि दिन्थे होला नि ? तर, मुख्य कुरा बैङ्कहरुलाई पुराण सुनाएर मात्र आफ्नो कर्तव्य पूरा हुन्छ भन्ठान्ने राबैका हाकिमहरुको जति बखान गरे पनि कमै होला ।

किनकि कमर्शियल बैङ्क नाफामुखी नभए सूर्यमुखी फूल भएर बस्ने त होइन होला, जताजता राबैका हाकिमहरु कुद्छन् उतैउतै मात्र लागिरहने ? संसारमै वाणिज्य भनेकै अल्पकालीन लगानी गरेर नाफा कमाउने हो । ट्रष्ट रिसिप्ट, ओभर ड्राफ्ट नै दिने हो । ६ महीनाभन्दा बढी हद्द भए १ वर्षभन्दा धेरै सोच्ने नै होइन । विकास बैङ्कको जस्तो त होइन क्यारे कमर्शियल बैङ्कहरुको काम ? डा. युवराज, डा. चिरञ्जीवी, नरबहादुर वा रामबहादुर जसलाई पनि आज कुनै कमर्शियल बैङ्कको सीईओ बनाए पनि त्यै नै गर्थे जुन अहिले नेपाली बैङ्कका सीईओहरुले गरिरहेका छन् । भनेपछि राबै किन एकोहोरो बैङ्कको मात्र दोष देखाएर आफू पानीमुनिको ओभानो बनिरहेको होला ?

निर्देशिका जारी गरिदिँदैमा देशको अर्थतन्त्र चलायमान हुने होइन क्यारे । देश त यसै पनि श्री पशुपतिनाथले चलाइदिरानै थे नि ।  अझ सरकारको आर्थिक सल्लाहकार र देशकै प्रमुख मौद्रिक अधिकारीको अख्तियारी पाएको संस्थाले आफ्नो काम पनि गर्नुपर्छ भन्ने कुरा त कसैले सम्झाउन नपर्ला कि ?

यता, सरकार लक्ष्यभन्दा बढी राजस्व उठेकोमा मख्ख छ । सरकारले अर्थतन्त्र सुधारको बाटोमा रहेको र आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतले हुने भनेको भन्यै छ । बजेट पनि चाँडै ल्यायो । तर, मरे पनि खर्च चैं गर्दैन । यसरी बजेटमा भनेअनुसार सरकारले खर्च गर्ला र बजारमा पैसा आऊला भनेर योजना बनाएका बैङ्कहरुलाई सरकारले त धोखा दियो । विदेशीसँग लिएको सहयोग रकम र जनतासँग उठाएको कर खर्च नगर्ने नेता र सरकारलाई चैं आर्थिक सल्लाहकार भएर राबै चूँ नबोल्ने, अनि बैङ्कलाई मात्र पेल्ने ? अर्थतन्त्रमा जे भए पनि दोषजति बैङ्कलाई मात्र थोपर्ने ? यो कुरा चैं अलि हजम भएन कि गभर्नरसा’बहरु ?

खासमा बैङ्किङ प्रणालीमा पर्याप्त तरलता छ कि छैन भनेर ब्यारोमिटर लगाएर बेलाबेलामा नापजाँच गर्ने र त्यसको उचित व्यवस्थापन गराउने र मूल्यवृद्धिलाई ट्याप्प आफ्नो नियन्त्रणमा राख्ने दुई मुख्य काम नै त हो राबैको । त्यत्ति पनि नगर्दिने हो भने राबै किन चाहियो बाबै ? त्यहाँ डाक्टरसा’बहरु किन चाहियो ? यो पङ्क्तिकारको लाटो बुद्धिले त यही नै भन्छ । राबैका हाकिमहरुको बाठो बुद्धिले चाहिँ केके भन्छ कुन्नि ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)