नेपालमा धेरै काम कुराहरु हुनहुन खोज्छन् अनि ठ्याक्क थ्रेसहोल्डले रोक्छ, अर्थात् सङ्घारमा गएर ट्याक्क अड्किन्छ । अङ्ग्रेजीको ‘थ्रेसहोल्ड’ भनेको नेपालीमा सङ्घार नै हो । संविधान पारित हुनहुन लाग्या बेलामा पनि त्यस्तै भा’थ्यो, ठ्याक्कै अड्क्याथ्यो । अन्ततः दोस्रो संविधानसभाले चाहिँ त्यो थ्रेसहोल्ड जसोतसो कट्यो, तर त्योभन्दा पनि अग्लो अर्को थ्रेसहोल्डचाहिँ अझै काट्न मुश्किल भइराखेको छ । सरकारले काठमाडौं–निजगढ फाष्ट ट्र्याक बनाउने भनेर बाटो खोलेर अन्तरराष्ट्रिय (नेपालमा अन्तरराष्ट्रिय भन्नाले प्रायः भारतीय बुझ्नुपर्छ) ठेकेदारलाई ठेक्का पनि दिइसकेको थियो । तर, त्यो पनि त्यहाँ थ्रेसहोल्डमै रोकियो ।
मूल्य अभिवृद्धि कर अर्थात् भ्याट सबै व्यवसायमा लागू गराउने भनेर उहिल्यै घोषणा गरेको थियो नेपाल नामक सरकारले । तर, त्यसमा ‘थ्रेसहोल्ड’ ले अघि बढ्न दिएको छैन । होचिँदै जानुपर्ने भ्याटको ‘थ्रेसहोल्ड’ निरन्तर अग्लिँदो छ र फलस्वरुप भ्याट तिर्नुपर्ने बाध्यताबाट थुप्रै व्यवसायी मुक्त छन् । यद्यपि, उपभोक्ताले भने त्यो भ्याट तिरिरहेका छन् ।
नेपाल देशमा प्रायःजसो सरकारी योजना, मन्त्री, प्रधानमन्त्री, राजनीतिक नेताका योजना, प्रतिबद्धता, आश्वासन प्रायः सबैसबैमा यस्तै थे्रसहोल्डले अड्काउँछ अथवा यो त सापसिँढीको खेलजस्तो पो हो कि ? अब त पुग्योपुग्यो वा भयोभयो भन्ठान्यो । तर, ९९ मा पुगेको गोटी सर्पको मुखमा पुगेर फेरि तल पुछारको लहरमा झरेजस्तो हुन्छ ।
त्यसैले यो ‘थ्रेसहोल्ड’ भन्ने चीज त बडो अचम्मको पो हुँदोरहेछ त । यै हप्ता देउराली जनता फर्मास्युटिकलको २६औं वार्षिकोत्सवको अवसरमा औषधि व्यवस्था विभागका महानिर्देशक भन्दै थिए कि ‘देशको हितमा कुनै काम गर्न खोज्यो, कहाँकहाँबाट ठ्याक्क कि त कसैको फोन आउँछ, कि त सरकारी कर्मचारीले नै कसैको इशारामा यस्तो कुरा भन्दिन्छ वा गर्दिन्छ कि त्यो काम त्यहीँ रोकिन्छ अर्थात् त्यहीँ होल्ड भइदिन्छ ।’ यसको मतलव यो ‘थ्रेसहोल्ड’ भनेको बाटोमा हिँड्दा लाग्ने ठेस हो कि ! त्यसकारण यसलाई ‘ठेसहोल्ड’ पो भन्दा ठीक होला । गोरामोराहरुले नेपाली प्रवृत्ति देखेर नेपाली शब्द ठेस चोरेर अङ्ग्रेजीमा मिसाउन भ्याइहालेछन् ।
तर, सबै कुरामा भने ‘थ्रेसहोल्ड’ले मात्र काम गर्दैन वा सबै काम अड्किँदैन । नेपालमा बेलाबेलामा चमत्कार पनि हुने गर्छ । उदाहरणकै लागि अब संविधान आउँदै आउँदैन भनेको फ्याट्टै आयो । नेपालमा लोडशेडिङ कम्तीमा ५/१० वर्षसम्म त (अझ कसैकसैले त २०/३० वर्षसम्मै) हट्दै हट्दैन भनेर नेपालका मै हुँ भन्ने तथाकथित् विज्ञहरु कुर्लीकुर्ली भाषण गरिहिँड्थे स्वदेश विदेश सबैतिर । तर, एक जना कुलमान के आएका थिए, उनले त ती सबै विज्ञहरुलाई लोप्पा ख्वाइदिए । मेलम्चीको पानी आउँछ भनेर सुनेको धेरै भयो । त्यहाँ पनि शायद कुनै किसिमको ‘थ्रेसहोल्ड’ लागेर नआएको होला । अहिले पानी नपिलाए पनि मेलम्ची आयोजनाले धूलो चैं मज्जाले पिलाइरा’छ । यति गरेपछि आशा गरौं, अब असोजमै पानी पनि पिऊँला, कुनै ‘ठेस’ लागेन भने ।
त्यस्तै, अहिले स्थानीय चुनावी मौसमको बाजा बज्न थालेको छ । उहिले उहिले गाउँघरतिर बाजा सुनिएपछि जन्ती आइपुग्न लाग्यो भन्ने थाहा हुन्थ्यो । त्यसैगरी, चुनावी बाजा सुन्न थालिएपछि चुनाव पनि आउनै लाग्यो भन्ने मान्नैपर्यो । त्यसकारण त्यो चुनावी मौसम शुरु नै भइहाल्न पनि बेर छैन । त्यसैले ‘थ्रेसहोल्ड’कै कारण नेपालमा क्यै पनि हुँदैन भनेर मनमा ठेस लगाएर नबस्नु होला । सरकारले बजेटअनुसार खर्च नगरिदिएर अहिले बैङ्कमा तरलता नभएर बैङ्क व्यवसायी सबै पीडित छन् । तर, स्थानीय चुनावको घोषणा भइदियो भने तरलैतरल कुराहरुको बाढी नै आइदिन बेरै लाग्दैन, चाहे तरल नगद होस् वा तरल मदिरा । यसरी जुनजुन कुरा भएन वा हुँदैन भनेर सोचिरहनुभएको छ, हेरिरहनुहोला, त्यो चमत्कारपूर्ण रुपमा ठ्याक्क हुन बेर पनि लाग्दैन है ? नभन्दै संसदीय समितिले दलहरुको ‘थ्रेसहोल्ड’ विषयक विवाद क्या मज्जाले टुङ्ग्याइदिहालेछ । कसरी ? त्यो विधेयक पढेर थाहा पाइहाल्नुहुन्छ नि ।