ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ कम्पनी थपिएपछि फस्टाउँदै बीमाबजार

Sep 3, 2018  
वार्षिकोत्सव बिशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
गत आर्थिक वर्ष (आव)मा नौओटा जीवन बीमा कम्पनी थपिएपछि बीमाबजार फस्टाउँदै गएको पाइन्छ । यसबाट पछिल्लो समय बीमाबजारको पहुँच र दायरा पनि बढ्दै गएको छ । अघिल्लो आव २०७२/७३ मा कुल जनसङ्ख्याको ७ प्रतिशतमा रहेको बीमाको पहुँच गत आवमा ११ प्रतिशतसम्म पुगेको छ । पुराना कम्पनीले भन्दा नयाँले उल्लेखनीय रूपमा शाखा विस्तार गरेको बीमा समितिले बताएको छ । समितिका अनुसार नयाँ कम्पनीहरूको मात्र ४ सयभन्दा बढी शाखा रहेका छन् । नियामक निकायको कार्यशैली र नयाँ कम्पनी थपिएकाले यस्तो सफलता मिलेको समितिको भनाइ छ । केही महीनाअघि सञ्चालनमा आएका तीन निर्जीवन बीमा कम्पनीले पनि बीमाबजारमा थप टेवा पु¥याउने समितिको विश्वास छ । नेपालमा हाल १ पुनर्बीमा, १८ जीवन र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । कम्पनीको सङ्ख्या थप भएसँगै बढ्दो प्रतिस्पर्धाले शहरमुखी बीमा कम्पनीहरू ग्रामीण क्षेत्रमा जान थालेको समितिको ठहर छ । समितिका अनुसार ७७ ओटै जिल्लामा जीवन बीमा कम्पनीका शाखा स्थापना भइसकेका छन् । यसले बीमा जागरण बढाउनसमेत सहयोग पुग्ने समितिको विश्वास छ । समितिको असार मसान्तसम्मको तथ्याङ्कअनुसार देशभर सबै जीवन बीमा कम्पनीका १ हजार ३८ शाखा छन् । ती शाखामा करीब ३ हजार ४ सय कर्मचारी र हजारौं बीमा अभिकर्ता कार्यरत रहेको तथ्याङ्कमा उल्लेख छ । यसबाट रोजगारी सृजनासँगै बीमाबारे जनचेतना पनि वृद्धि भइरहेको पाइन्छ । यसको फलस्वरूप बीमाको पहुँच वृद्धि भई ११ प्रतिशत पुगेको समितिको विश्वास छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा गणना गर्दा कुल जनसङ्ख्याको करीब १४ प्रतिशतमा बीमाको पहुँच पुगेको समितिको दाबी छ । सरकारले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेपछि म्यादी जीवन बीमा गर्नेको सङ्ख्या बढेको छ । यसले बीमा कम्पनीको बीमाशुल्क आर्जनमा समेत वृद्धि भएको छ । तथ्याङ्कअनुसार असारमसान्त सम्ममा उक्त बीमालेखमार्फत झण्डै रू. २ अर्ब बीमाशुल्क आर्जन भएको छ । समितिको यसअघिको ५ वर्षे रणनीतिमा विसं २०७५ सम्म बीमा पहुँच २५ प्रतिशत पुर्‍याउने उल्लेख गरिए तापनि यो सम्भव देखिँदैन । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले यही गतिलाई निरन्तर दिँदै बीमाको पहुँच गुणात्मक रूपमा बढाउने योजना रहेको बताए । उनले भने, ‘हामी एक घर एक बीमालेख’ भन्ने मूल नाराका साथ अगाडि बढेका छौं । अबको केही वर्षमा नै बीमा पहुँच उच्च मात्रामा वृद्धि हुनेछ ।’ आम मानिसले सम्पत्ति, कृषि र जीवनको बीमा गरे भने यसको पहुँच वृद्धि हुन समय नलाग्ने उनको भनाइ छ । उनले नयाँ कम्पनी आएपछि बीमाबजारमा प्रतिस्पर्धा बढेको बताए । उनले भने, ‘कम्पनीको सङ्ख्या र प्रतिस्पर्धा बढेर मात्रा हुँदैन । हामी बीमाको दायरा गुणस्तरीय ढङ्गले बढाउने तयारीमा छौं ।’ त्यसका लागि समितिले जनचेतनामूलक कार्यक्रम अगाडि बढाउने उनको भनाइ छ । बीमाको वृद्धिदर तुलनात्मक रूपमा बढे पनि मानिसले क्षमताअनुसारको बीमा गर्ने नगरेको कम्पनीहरूको भनाइ छ । एक कम्पनीका सीईओले भने, ‘आम मानिसले कतिको बीमा गर्नुपर्छ भनेर बुझेका छैनन् । कसैको १० लाखको बीमा गर्ने क्षमता छ । तर, उसले १ लाखको मात्र बीमा गरेको पाइन्छ ।’ समितिको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीले असारमसान्त सम्ममा रू. ३९ अर्ब ८ करोड ७३ लाख बीमाशुल्क आर्जन गरेका छन् । यस्तै निर्जीवन बीमा कम्पनीले रू. २२ अर्ब ३५ करोड ७६ लाख बीमा शुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ । कम्पनीको अनिवार्य रूपमा चुक्तापूँजी बढाउनुपर्ने व्यवस्थाले बीमाक्षेत्रको पूँजीमा पनि सुधार आएको विज्ञहरू बताउँछन् । यतिबेला बीमाबजारमा नयाँ र आधुनिक योजनाहरू देखिन थालेका छन् । यसले गर्दा आम मानिस बीमाप्रति आकर्षित हुँदै गएको बीमा कम्पनीहरूको भनाइ छ । यसप्रकारका वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सके बीमा व्यवसायले अझ फड्को मार्ने कम्पनीहरूको तर्क छ । सरकारले मोटर बीमा अनिवार्य गरेपछि त्यसको प्रभाव पनि बढेको छ । निर्जीवन बीमाबजारमा यसको अंश झण्डै ४५ प्रतिशत रहेको छ । तर, जीवन बीमा भने अपेक्षाअनुरूप हुन नसकेको कम्पनीहरूको भनाइ छ । जीवन बीमा बाध्यकारी नभएको र विपन्नताका कारण पनि यसको पहुँच नबढेको विज्ञहरू बताउँछन् । तर, आर्थिक अवस्था सबल भएका नागरिकलाई पनि बीमा गराउन नसक्नु कम्पनीहरूको कमजोरी रहेको उनीहरूको तर्क छ । यद्यपि, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले जनधनको क्षति गरेपछि बीमाप्रति आम मानिसको आर्कषण बढ्दै गएको पाइन्छ । तर, अपेक्षाअनुरूप बीमाप्रति मानिसको आर्कषण नबढेको प्रभु इन्स्योरेन्सका सीईओ सञ्चित वज्राचार्यको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)