देशको आर्थिक विकासका लागि तुलनात्मक लाभको क्षेत्रका रूपमा लिइएको नेपालको पर्यटन क्षेत्र नयाँ सम्भावनाको शिखरतर्फ उन्मुख भएको छ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरी २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइरहेको समयमा पर्यटन क्षेत्रमा भइरहेका गतिविधिले नेपालको पर्यटन क्षेत्रलाई सम्भावनाको दिशातर्फ लैजाँदै गरेको सङ्केत मान्न सकिन्छ ।
राष्ट्रिय ध्वजावाहकले अन्तरराष्ट्रिय उडानका लागि दुईओटा वाइडबडी एयरबस खरीद गरी यो वर्षदेखि थप अन्तरराष्ट्रिय गन्तव्यमा उडान शुरू गर्न लागेको छ । यस्तै, निजी कम्पनी श्री एयर, बुद्ध एयर, यती एयर, सौर्य एयर, हिमालयन एयरलगायत कम्पनीले आन्तरिक तथा बाह्य उडानका लागि विमान थप्दै गएका छन् । यसरी उड्डयन क्षेत्रमा ठूलो रकम लगानी भएको छ । अर्कोतर्फ नेपालका ठूला व्यावसायिक घरानादेखि विश्वका नाम चलेका चेन होटलले नेपालको होटल क्षेत्रमा अर्बौंको लगानी गरिरहेका छन् । सन् २०१८ का ७ महीनाको अवधि हेर्दा नेपालको पर्यटन क्षेत्र सकारात्मक दिशातर्फ नै उन्मुख भएको पाइएको पर्यटन व्यवसायीको बुझाइ छ ।
नेवानि र निजीक्षेत्र
सानाठूला गरी १४ ओटा विमान रहेको नेपाल वायुसेवा निगमले दुईओटा वाइडबडी विमान ल्याएसँगै अन्तरराष्ट्रिय उडानमा पुनः प्रतिस्पर्धा गर्न सक्ने भएको छ । एउटा बोइङमार्फत अन्तरराष्ट्रिय सेवा दिइरहेको निगम अब वाइड बडीबाट आफ्नो गुमेको अन्तरराष्ट्रिय बजार हिस्सा बढाउने योजनामा छ । सरकारले ‘पर्यटन वर्ष–२०२०’ घोषणा गरे पनि अन्तरराष्ट्रिय गन्तव्यमा राष्ट्रिय ध्वजावाहकको उडान नभएसम्म पर्यटक आगमन नबढ्ने आकलन भइरहेका बेला यसले पर्यटनमा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिन्छ । दुईओटा वाइडबडी विमान आएसँगै निगमले अन्तरराष्ट्रिय बजारमा उडान विस्तार गर्ने रणनीति बनाएको छ । यी विमानबाट निगमले अन्तरराष्ट्रिय बजार हिस्सा १८ प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ ।
यस्तै, निगमले आन्तरिक बजार हिस्सा बढाउने लक्ष्यका साथ आगामी आवभित्र १० नयाँ विमान खरीद गर्ने लक्ष्य लिएको छ । ९ ओटा विमानबाट आन्तरिक उडान गर्दै आएको निगमले आन्तरिक बजारमा ३ प्रतिशत मात्र हिस्सा छ । उसले बजार विस्तारका लागि आन्तरिकमा आठ र अन्तरराष्ट्रिय उडानमा दुईओटा विमान थप्ने योजना सावर्जनिक गरिसकेको छ । राष्ट्रिय ध्वजावाहकसँगै निजी कम्पनीले यो वर्ष आन्तरिक उडान तथा क्षेत्रीय (भारत) उडानमा आफ्नो सेवा विस्तार गरिरहका छन् ।
नेपाल यूरोपियन युनियनको सुरक्षा सूचीबाट अझै हट्न नसके पनि अन्तरराष्ट्रिय नागरिक उड्ड्न प्राधिकरण आईकाओको गम्भीर सुरक्षा चासोबाट भने हटिसकेको छ । यसले नेपाली विमान कम्पनीहरूलाई अन्तरराष्ट्रिय गन्तव्यमा जान सहज हुँदै गएको छ । सरकारी निकायले यूरोपियन युनियनमा समेत नेपालको उड्डयन क्षेत्रमा भइरहको प्रगतिको निरन्तर गरेको रिपोर्टिङले निकट भविष्यमा त्यो क्षेत्रसमेत खुल्ने आशा गर्न सकिन्छ ।
अन्तरराष्ट्रिय उडानका सन्दर्भमा यो वर्ष जापानसँग भएको दुईपक्षीय सम्झौताले जापानको एउटा विमानस्थलबाहेक अन्यमा नेपालले उडान गर्न सहज बनाएको छ । यस्तै, अन्तरराष्ट्रिय उडानका लागि नेपालले लामो समयदेखि माग गर्दै आएको नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारत सहमत भएको छ । यससँगै रूटको अभावमा हुन नसकेका अन्तरराष्ट्रिय उडानसमेत अब सम्भव हुन थालेका छन् । यो सहमतिले नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ प्रवेश मार्गको विषय सम्बोधन भएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच गत १२ मे २०१८ मा जारी संयुक्त व्यक्तव्यअनुरूप दुवै पक्षबीच प्राविधिक तहमा वार्ता भएको थियो । दुवै पक्षबीच भएको सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाई रूटलाई दुईतर्फी बनाउनेछ । त्यस्तै, पूर्वतर्फ काठमाडौं–जनकपुर–पटनाबीचको एकतर्फी रूटलाई दुईतर्फी बनाउने विषयमा पनि दुवै पक्षबाट सुरक्षा मूल्याङ्कन गरी लागू गर्ने सहमति भएको छ ।
यसैगरी पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उड्ने वायुयानका लागि मौजुदा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रूटलाई उडान सुरक्षा मूल्याङ्कन गरी सोही आधारमा लागू गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । निर्माणाधीन गौतम बुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तरराष्ट्रिय वायुयानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेश मार्ग दिने सम्बन्धमा सेप्टेम्बर, २०१८ को अन्त्यसम्म विस्तृत प्राविधिक अध्ययन मूल्याङ्कन हुनेछ । नयाँ हवाई रूटसम्बन्धी यो सहमतिले नेपाल र भारतबीच सीमापार उडानलाई सहयोग पुग्ने नेपाल नागरिक उडड्यन प्राधिकरणको धारणा छ ।
पर्यटन आगमन बढ्दो
नेपालमा पछिल्लो समय पर्यटक आगमनसमेत वृद्धि भएको छ । पछिल्लो ७ महीनामा करीब ६ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो । सन् २०१८ को जुलाईसम्ममा ५ लाख ९३ हजार २ सय ९९ जना पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हवाईमार्ग र अन्य ६ ओटा स्थलमार्ग नाका भएर आउने पर्यटकको सङ्ख्या ६ लाखभन्दा बढी छ । यो अवधिमा ५ लाख २२ हजार ३ सय १७ जना पर्यटक हवाईमार्ग र करीब ७१ हजार पर्यटक स्थलमार्गबाट आएको विभागको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो तथ्याङ्कअनुसार जुलाईमा मात्र त्रिभुवन विमानस्थलबाट ७३ हजार २ सय ८५ जना पर्यटक नेपाल आएका छन् । यो अवधिमा भारत र चीनका साथै सार्क मुलुक, यूरोपेली देश तथा अमेरिका र बेलायतबाट आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
विभागले दिएको तथ्याङ्कअनुसार जनवरीमा ५७ हजार ५ सय ५५ र फेबु्रअरीमा ६६ हजार १ सय ८५ र मार्च महीनामा ९३ हजार २ सय ५८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अप्रिलमा ९८ हजार ८ सय २५ जना र मे महीनामा भने ६८ हजार ८ सय २९, जुनमा ६५ हजार १ सय ५९ र जुलाईमा ७३ हजार २ सय ८५ जना पर्यटक हवाइमार्ग हुँदै नेपाल आएका छन् ।
होटलको सङ्ख्या र लगानीमा वृद्धि
नेपालको परिवर्तित परिवेशअनुसार होटलको सङ्ख्या बढ्दै गएको छ । गतवर्ष विभिन्न खालका होटलको सङ्ख्या १ सय २१ ओटा रहेकामा यो वर्ष १ सय २८ पुगेको छ । त्यस्तै, पर्यटकस्तरका होटलको सङ्ख्या ४ सय ७६ रहकामा यो वर्ष ४ सय ९८ पुगेको छ । होम स्टेको सङ्ख्या पनि २ सय ४५ बाट २ सय ५२ पुगेको छ ।
सातओटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट
सरकारले सीमित क्षेत्रमा केन्द्रीकृत भएको पर्यटन गतिविधि विस्तार गर्ने उद्देश्यले सातओटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो ।
पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदनअनुसार प्रदेश–१ मा इलामको सन्दकपुर, प्रदेश–२ मा धनुषाको धनुषाधाम, प्रदेश–३ मा मकवानपुरको कुलेखानी (इन्द्रसरोवर), गण्डकी प्रदेशमा कास्कीको पञ्चासे, प्रदेश–५ मा कपिलवस्तुको निग्लिहवा, कर्णाली प्रदेशमा मुगुको रारा र प्रदेश–७ मा कैलालीको भादालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ । सरकारको चालू आवको बजेट र नीति तथा कार्यक्रममा परेको सो योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले देशका ७७ जिल्लामा पर्ने नयाँ १ सय पर्यटकीय गन्तव्यस्थल विकास गर्न बजेट विनियोजन गरी ठाउँ सिफारिशका लागि सार्वजनिक सूचना आह्वान गरिसकेको छ । हरेक प्रदेशमा कम्तीमा १० ठाउँलाई समेट्नेगरी पर्यटकीय गन्तव्य विकास गर्ने योजना छ । उक्त कार्यका लागि मन्त्रालयले चालू आवमा रू. ५० करोड
विनियोजन गरेको छ ।
पूर्वाधार विकास सुस्त
गतवर्षको तुलनामा यो सङ्ख्या राम्रो भए पनि पूर्वाधारको विकासविना पर्यटक आगमन बढाउन कठिन हुन्छ । सन् २०२० धेरै टाढा नभएकाले अहिलदेखि तयारी आवश्यक भएको होटल एशोसिएशन नेपाल (हान)का महासचिव विनायक शाहको प्रतिक्रिया छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको छ । सरकारले सन् २०१९ सम्ममा भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई सम्पन्न गर्ने गरी काम भए पनि कामले लिन सकेको छैन । यद्यपि समयमै काम सक्ने निर्देशन दिएको र सोहीअनुरूप काम भइरहेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दाबी छ । नेपालको आफ्नै काम गर्ने शैली र प्रशासनिक जटिलताबीच पनि पर्यटनको विकासमा जेजति प्रयास भएका छन्, त्यसले नेपालको समग्र पर्यटन क्षेत्रमा नयाँ आशाको सञ्चार भने अवश्य गरेको छ ।