ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा धितोपत्र बजारको विकास र सम्भाव्यता

Sep 3, 2018  
वार्षिकोत्सव बिशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
धितोपत्र बजारको विकासक्रम मुलुकको आर्थिक विकास प्रभावकारी वित्तीय प्रणालीविना सम्भव हुँदैन । विभिन्न वित्तीय संस्था, वित्तीय बजार र वित्तीय उपकरणहरू वित्तीय प्रणालीअन्तर्गत पर्दछन् । कुनै पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउन धितोपत्र बजारको महत्त्वपूर्ण भूमिका हुन्छ । विभिन्न क्षेत्रमा छरिएर रहेका ससाना रकमलाई एकमुष्ठ बनाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न धितोपत्र बजारले सहयोग गर्दछ । धितोपत्र बजार यस्तो क्षेत्र हो, जहाँबाट सर्वसाधारणमा शेयर तथा ऋणपत्र जारी गरी अर्बौंको रकम सङ्कलन गर्न सकिन्छ । नेपालको इतिहासमा वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्क लिमिटेडले पहिलोपटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारिक रूपमा शुरू भएको धितोपत्र बजार हालसम्म आइपुग्दा केही हदसम्म परिपक्व भएको छ । अनौपचारिक शुरुआतको करीब ४ दशकको अन्योलपश्चात् २०३३मा सेक्युरिटी खरीदविक्री केन्द्रको स्थापना भएपछि मात्र धितोपत्र बजारको संस्थागत विकासको शुरुआत भएको पाइन्छ । त्यसपश्चात् नेपालको धितोपत्र बजारको गतिशीलताका लागि धेरै उल्लेखनीय कामहरू हुँदै आएका छन् । २०४६को राजनीतिक परिवर्तनपछि लिइएको उदारवादी खुला आर्थिक नीतिका कारण नेपालको धितोपत्र बजारमा निजीक्षेत्रका कम्पनीहरूको प्रवेश शुरू भयो । धितोपत्र बजारको व्यवस्थापनका लागि तत्कालीन सरकारले नियमनका लागि नेपाल धितोपत्र बोर्ड र धितोपत्र कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जको स्थापना गर्‍यो । २०४९मा धितोपत्र कारोबार ऐन, २०४० लाई संशोधन गरी धितोपत्र बजारको स्वायत्त नियमनकारी निकाय स्थापना गर्न सक्ने गरी गरिएको कानूनी व्यवस्थालाई धितोपत्र बजारको गतिशीलताका लागि चालिएको महत्त्वपूर्ण कदम भन्न सकिन्छ । ऐन संशोधनपछि २०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो । स्थापनापश्चात् नेपालको धितोपत्र बजारलाई सभ्य, मर्यादित र व्यवस्थित बनाउने काममा बोर्डले निरन्तरता दिँदै आएको छ । नेपाल स्टक एक्सचेञ्जले २०५० पुस २० गते दोस्रो बजारमा कारोबार गर्न शुरू गरेको हो । हालसम्म नेपाल स्टक एक्सचेञ्जमा १ सय ९६ कम्पनीहरू सूचीकृत छन् । ५० ओटा स्टक ब्रोकर कम्पनी र देशका विभिन्न स्थानमा तिनका ४१ ओटा शाखा कार्यालयबाट धितोपत्रको कारोबार हुँदै आएको छ । धितोपत्रको निष्कासन तथा व्यवस्थापनका लागि २५ मर्चेण्ट बैङ्करहरूले आफ्नो ठाउँबाट सेवा दिँदै आएका छन् । धितोपत्र कारोबारको राफसाफ प्रक्रियामा सीडीएस एण्ट क्लियरिङ लिमिटेडले भूमिका निर्वाह गरेको अवस्था छ । नेपालको पूँजीबजारलाई थप आधुनिकीकरण र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ २०७५ पुस ७ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पूर्ण स्वामित्वमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको स्थापना भएको हो । कम्पनीको मुख्य उद्देश्य भनेको धितोपत्रको अभौतिकीकरण गरी केन्द्रीय निक्षेप गर्ने र धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट गर्ने रहेको छ । नेपालभरि धितोपत्रको केन्द्रीय निक्षेप सेवा विस्तार गर्न सीडीएससीले हालसम्म ६९ ओटा निक्षेप सदस्यमार्फत ५० ओटा राफसाफ सदस्य र ४ ओटा राफसाफ बैङ्कमार्फत दोस्रो बजारमा सम्पन्न भएका धितोपत्र कारोबारको राफसाफ र फर्छ्योट कार्य गर्दै आएको छ । धितोपत्र कारोबारका लागि प्रविधिमा भएको सुधार धितोपत्र बजारको सुधारका लागि पछिल्लो समय प्रविधिमा क्रमिक सुधार देखिएको छ । सीडीएससीको स्थापनासँगै डिम्याटलाई व्यवस्थापन गरी डिम्याटमार्फत नै धितोपत्रको कारोबार अनिवार्य गरिएको छ । यसबाट कागजी प्रणालीको पूर्णरूपमा अन्त्य भएको छ । धितोपत्र निष्कासन तथा व्यवस्थापन कार्य गर्दै आएका मर्चेण्ट बैङ्कहरूले डिम्याटबाट धितोपत्र कारोबार गर्ने प्रक्रियाले काम गर्न सहज भएको टिप्पणी गरेका छन् । पछिल्लो समय धितोपत्र कारोबारमा डिम्याट अनिवार्य गरेसँगै १३ लाखभन्दा बढी लगानीकर्ताहरूले डिम्याट खाता खोलिसकेका छन् । धितोपत्र बजारलाई प्रविधिमैत्री बनाउन गत आर्थिक वर्षदेखि नै नेपाल धितोपत्र बोर्डको पहलमा आस्बा प्रणाली लागू गरियो । आस्बालाई थप प्रविधिमैत्री बनाउन सीडीएससीले गत फागुन ११ गतेदेखि नै आस्बासम्बन्धी केन्द्रीकृत प्रणाली सी—आस्बा प्रणालीको विकास गरी विभिन्न बैङ्क तथा वित्तीय संस्थामार्फत देशव्यापी रूपमा लागू गरेको छ, जसले गर्दा बैङ्किङ पहुँच पुगेको नेपालका अधिकांश ठाउँबाट लगानीकर्ताले प्राथमिक बजारमा धितोपत्र खरीद गर्न सक्ने प्रविधिको विकास भएको छ । सी—आस्बा प्रणाली लागू भएसँगै धितोपत्र बाँडफाँट प्रक्रियाको अवधि पनि छोटो भएको छ । यस प्रणालीको विकाससँगै मेरो शेयर एपको माध्यमबाट लगानीकर्ताहरूले प्राथमिक तथा दोस्रो बजारमा निष्कासन भएका शेयरहरू घरमै बसेर खरीद गर्न सक्ने भएका छन् । यो प्रविधिको विकासबाट लाइन बसेर आवेदन दिने अवस्था कुनै कुनै कम्पनीको शेयर खरीदका लागि मात्र देखिएको छ । विशेष गरी जलविद्युत् कम्पनीहरूले स्थानीयका लागि आईपीओ जारी गर्दा लिखित आवेदनलाई प्राथमिकता दिने गरेको छ । धितोपत्र दोस्रो बजार पनि पूर्ण विद्युतीय प्रणालीमा जाने तयारीमा छ । साउन १ गतेदेखि नै नेपाल स्टक एक्सचेञ्जले अनलाइन प्रणालीको पूर्ण परीक्षण शुरू गरिसकेको छ । सम्भवतः असोजभित्र पूर्ण अनलाइन प्रणाली लागू गर्ने तयारी नेप्सेको छ । हाल सबै लगानीकर्ताले युजर नेम र पासवर्ड लिने कार्यलाई सक्रियताका साथ अघि बढाइएको छ । अनलाइन कारोबार प्रणाली पूर्णरूपमा लागू भएपश्चात् डिम्याट खाता भएका देशविदेशमा रहेका नेपालीले सहज तरीकाले धितोपत्रको कारोबार गर्न सक्नेछन् । अनलाइन कारोबार प्रणालीको परीक्षण हुनुअगावै धितोपत्र खरीदविक्री आदेश इण्टरनेटको माध्यमबाट दिन सकिने गरी सेमी अनलाइन प्रणालीको विकास भइसकेको छ । धितोपत्र बजार विस्तारको सम्भाव्यता धितोपत्र बजारमा भएको विकासक्रमलाई हेर्दा यो क्षेत्रको सम्भाव्यता आशालाग्दो देखिन्छ । देशको अर्थतन्त्रलाई गतिशील बनाउने यो क्षेत्रको विकासका लागि सरकारी निकायदेखि सम्बद्ध नियामक निकायहरूले प्रभावकारी नीति तथा कार्यक्रमका साथ अघि बढ्न आवश्यक छ । यसै प्रसङ्गमा सरकारी निकाय र धितोपत्र बजारलाई नियमन गर्ने निकायले अघि सारेको नीति तथा कार्यक्रमलाई हेर्दा आगामी दिनमा धितोपत्र बजारको विकासको पहुँच विस्तार हुने कुरामा दुईमत छैन । पूर्वअर्थमन्त्री डा. रामशरण महतदेखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत नेपालको धितोपत्र बजारको भविष्य राम्रो भएको टिप्पणी गरेका छन् । पूर्वअर्थमन्त्री महतले पूँजीबजार लगानीकर्ता सङको कार्यक्रममा जुन देशको पूँजीबजार बलियो हुन्छ, त्यो देशको अर्थतन्त्र बलियो हुने टिप्पणी गरेका थिए । बजार घट्दैमा आत्तिनु नपर्ने भन्दै उनले कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोष जस्ता कम्पनीहरूले ‘मार्केट मेकर’को भूमिका निर्वाह गर्नुपर्ने भनाइ राखेका थिए । सरकारले यस वर्षको बजेटमा एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई पूँजीबजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने उल्लेख छ । साथै प्राइभेट इक्यूटी, भेञ्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थाहरूलाई पूँजीबजारमा प्रवेश गराउने सरकारको योजना रहेकाले पूँजीबजारमा लगानीका साधनहरू पनि बढ्ने देखिन्छ । बजेटमा विदेशी लगानी र ऋण प्रवाहलाई नेपालको क्रेडिट रेटिङ गराई सहजीकरण गर्ने व्यवस्थाबाट पनि पूँजीबजार विस्तारमा सहयोग मिल्ने देखिन्छ । नेपाल राष्ट्र बैङ्कले यस वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैङ्कहरूलाई छुट्टै सहायक कम्पनी स्थापना गरी धितोपत्र व्यवसायीको कारोबार गर्न पाउने व्यवस्था मिलाउने उल्लेख गरेको छ । शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणमा राखिएको शेयर मूल्य २० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरेको छ, जसबाट मार्जिन कलको त्रासमा रहेका लगानीकर्तालाई केही राहत मिलेको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले यस वर्षको नीति तथा कार्यक्रममा एक नेपाली एक डिम्याट खाताको अभियानलाई प्राथमिकतामा राखेको छ । यस कार्यक्रमबाट नेपालभरि धितोपत्र बजारमा जनसहभागिता बढ्ने बोर्डको विश्वास छ । यसका साथै धितोपत्र दोस्रो बजार कारोबार सुविधा देशव्यापी रूपमा विस्तार गर्न धितोपत्र बजारमा अन्तरराष्ट्रिय स्तरको कारोबार प्रणाली भित्र्याउन, ऋणपत्र बजारलाई प्रभावकारी रूपमा विकास गर्न तथा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवम् गुणात्मक रूपमा अगाडि बढाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति पत्र प्रदान गर्ने प्रक्रियालाई यस वर्ष पनि अगाडि बढाउने कार्यक्रम तय गरेको छ । वस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायी सेवा सञ्चालन अनुमति दिने र ओटीसी कारोबारलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन स्वचालित कारोबार प्रणालीको व्यवस्था गर्ने जस्ता कार्यहरू गरी बजार पूर्वाधारहरूको सुधार तथा विकास गर्ने योजना बोर्डको छ । पूँजीबजारको विकासका लागि यी निकायहरूले अघि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनमा आय पूँजीबजारको भविष्य उज्ज्वल देखिन्छ । यस वर्षको मौद्रिक नीतिले रू. ५० करोड वा सोभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह गर्दा सो संस्थाको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङ कर्जा मूल्याङ्कनको आधारमा लिनुपर्ने व्यवस्था गरेको छ । यसर्थ, निजीक्षेत्रका कम्पनीहरूका लागि व्यवसाय गर्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण लिनुभन्दा सस्तो ब्याजदरमा ऋणपत्र जारी गरी पूँजी सङ्कनल गर्न प्रभावकारी हुने देखिन्छ । समग्रमा नेपाल धितोपत्र बोर्डको व्यापक रूपमा जनसहभागिता बढाउने एक नेपाली एक डिम्याट खाता योजना, सरकारको बजेटमा ७७ ओटै जिल्लामा पहुँच पुगेका वाणिज्य बैङ्कहरूलाई धितोपत्र व्यवसाय गर्न दिने व्यवस्था र नेपाल स्टक एक्सचेञ्जको पूर्ण अनलाइन प्रणालीको कार्यान्वयनपश्चात् धितोपत्र बजारको पहुँच विस्तार र विकासले पूर्णता पाउने सम्भावना देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)