करीब २ वर्षदेखि निरन्तर घटिरहेको नेपाली शेयरबजार घट्ने क्रम अझै रोकिएको छैन । शेयरबजारका लागि उर्वर मानिने असार, साउन र भदौ महीनामा पनि बजार निरन्तर घटिरहेको छ । यो बजारमा लगानी गरेका करीब १५ लाख लगानीकर्ताहरूको सम्पत्ति केही महीना अघिसम्म रू. २१ खर्ब थियो । तर, हाल सम्पत्ति घटेर रू. १४ खर्बमा आइसकेको छ । एकातिर लगानीकर्ताहरूले रू. ७ खर्ब सम्पत्ति गुमाइसकेका छन् भने अर्कोतिर राज्यले पनि करोडौंको कर गुमाइसकेको छ । केही समय अगाडिसम्म दैनिक अर्बाैंको कारोबार हुने गरेकोमा अहिले यो १२ देखि ५० करोडमा खुम्चिएको छ । सरकार र नियामक निकायले बजार विस्तारका लागि कुनै ठोस नीति ल्याउन सकेका छैनन् ।
यतिबेला लागनीकर्ताहरूको मनोबल निकै घटेको छ । यस अवस्थामा ठूलाभन्दा पनि साना लगानीकर्ताको मनोबल धेरै घटेको छ । जुन नयाँ लगानीकर्ताले १५ सय देखि १८ सय विन्दुमाथि बजार हुँदा पहिलो लगानी गरेका थिए, उनीहरूले यसबीचमा पाएको बोनस र हकप्रद शेयरसमेत जोड्दा पनि आफ्नो लगानी उठाउन सकेका छैनन् । देखासिकीमा लागेर पूँजीबजारमा आएका लगानीकर्ताहरूले अहिले धेरै तनाव झेलिरहेका छन् । उनीहरू घाटामा शेयर बेचेर शेयरबजारमा नफर्किने गरी पलायन भएको खबर पनि सुनिन्छ । हुन त पूँजीबजार सधैं एकै किसिमको हुँदैन, कहिले घट्ने र कहिले बढ्ने गर्छ । यो यसको विशेषता नै हो । तर, बजार सधैं एकै प्रकारले घटिरहनु भने राम्रो मानिँदैन । यतिबेला ठूला लगानीकर्ता मर्कामा परेका छैनन् । किनभने, उनीहरूले नेप्से परिसूचक न्यून हुँदा शेयर खरीद गरेका थिए र त्यो लगानी नाफासहित उठाइसकेका छन् । त्यो नाफाले पुनः बजार घट्दा शेयर खरीद गरेका छन् । साना र नयाँ लगानीकर्ताहरू चाहिँ बजार बढेको बेलामा आउँछन् भने बजार घटेको बेलामा आत्तिएर शेयर विक्री गर्छन् ।
नेपालको शेयरबजारको इतिहासलाई हेर्दा एकपटक १ हजार १ सय ७५ को विन्दुमा पुगेर घट्दै २ सय ९२ सम्म पुगेको थियो । अहिलेको अवस्था करीब १ हजार ८ सयभन्दा माथि पुगेर घट्दै १ हजार २ सयभन्दा मुनि आइपुगेको छ । जतिबेला बजार बढेर १ हजार ८ सय ८० को उच्च विन्दुमा पुगेको थियो, त्यति बेला दैनिक १ अर्बदेखि २ अर्बसम्मको शेयर कारोबार हुन्थ्यो । तर, यति बेला दैनिक कारोबार खुम्चिएर १२ करोडदेखि ५० करोडसम्म पुग्ने गरेको छ ।
कता गए ती लगानीकर्ता ? बजार घटे पनि कारोबार किन बढ्न सकेन ? बजारमा हल्ला सुनिन्छ भारतको शेयरबजार बढेकाले र नेपालमा ब्याजदर बढेकाले माडवारीहरू भारत छिरे रे । नेपाली शेयरबजारका ठूला खेलाडी माडवारी मात्रै हुन् त ? तर त्योे पत्याउन सकिँदैन । त्यस्ता माडवारीहरूले सजिलै आफ्नो लगानी भारत लैजान सक्छन् त ? अहिले माडवारी समुदायसहित सबै ठूला लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् भन्ने व्याख्या चाहिँ बढी चित्तबुझ्दो देखिन्छ ।
आपूर्ति बढ्यो माग बढेन
लामो समयदेखि बढिरहेको शेयर आपूर्तिका कारण बजार बढ्न नसकेको हो । आईपीओ तथा एफ्पीओ स्वीकृत भएर बजारमा आइरहेका छन् । साथै, कम्पनीहरूले आफ्नो नाफाको आधारमा शेयरधनीहरूलाई बोनस तथा हकप्रद शेयरसमेत दिइरहेका छन् । शेयरमा लगानी गर्नेले आश गर्ने पनि लाभांश बोनस शेयर र हकप्रद शेयर नै हो । तर, राष्ट्र बैङ्क र बीमा समितिले चुक्तापूँजी पु¥याउन दिएको निर्देशनले गर्दा प्रायः सबै कम्पनीहरूले हकप्रद जारी गरी चुक्तापूँजी पूरा गरिसकेका छन् । यसका लागि केही कम्पनीले जारी गरेको हकप्रद शेयरको विक्री नभएर दुईतीनपटकसम्म पनि लीलाम गर्नुपरेको छ । यसले बजार मूल्यमा असर पारिरहेको छ । तर, सरकारले यसलाई सम्बोधन गर्नेतर्फ कुनै ठोस निर्णय गरेको छैन । करीब ३ देखि ४ वर्षअघि कुनै कम्पनीको हकप्रद आउँदा लगानीकर्ताहरूको आवेदन दिनेको लाम आँखाले नभ्याउनेसम्म हुने गथ्र्यो । कम्पनीको साधारणसभामा आउने शेयरधनीहरूले अर्को कम्पनीले दिएको लाभांशबराबर वा त्योभन्दा बढी लाभांश किन दिन नसकेको भनेर चिन्ता व्यक्त गर्थे । तर, अहिले यस्तो समयमा कम्पनीहरूलाई बचाउन मात्रै आग्रह गरिरहेका हुन्छन् ।
शेयरबजार घट्नुका कारण
बैङ्कहरूको उच्च ब्याजदर
शेयर आपूर्ति अत्यधिक बढ्नु
माग बढाउने खालका उपाय अपनाउन नियामक निकायले ध्यान नदिनु
बजारमा फैलाइने विभिन्न नकारात्मक हल्ला
हल्लाको पछाडि दौडिने सोझा लगानीकर्ता
हालको समस्या हकप्रद र एफ्पीओको विक्री हुन छाडिसकेको मात्रै होइन, आईपीओको पूरा विक्री भइरहेको छैन । माउण्टेन हाइड्रोले स्थानीय बासिन्दाहरूका लागि जारी गरेको आईपीओमा पूर्ण आवेदन परेको छैन । साथै, हकप्रद शेयरका लागि आवेदन दिएको १ वर्षसम्म पनि डिम्याट खातामा नआउने समस्या अझै छ । यसरी लगानीकर्ताहरूको पूँजी १ वर्षसम्म विना ब्याज होल्ड भइरहेको छ । उदाहरणका लागि ग्रीन डेभलपमेण्टले १ बराबर ४ को अनुपातमा जारी गरेको हकप्रद शेयर १ वर्ष हुँदा पनि अझै नेप्सेमा सूचीकृत हुन सकेको छैन । अरू कम्पनीको पनि यस्तै हुँदै गयो भने कम्पनीले जतिपटक हकप्रद जारी गरे पनि बिक्छ भन्ने पुरानो मान्यता ध्वस्त हुन्छ ।
अत्यधिक आपूर्तिका कारण थला परेको बजारलाई तुरुन्तै उठाउन कुनै निकायले पहल गरेको छैन । सरकारले ल्याएको नीतिमा पनि आपूर्ति बढ्ने कुरा त आएको छ, तर माग बढाउने कुरा आउन सकेन ।
माग बढाउने एउटा उपाय
गैरआवसीय नेपालीहरूलाई नेपालको शेयरबजार खुला गर्ने एउटा उपाय हुन सक्छ । तर, त्यसतर्फ केही प्रगति भएको छैन । आपूर्तिअनुसार शेयर खपत बढाउने नीति कहिले आउला भन्ने पर्खाइमा लगानीकर्ता बसेका छन् । आपूर्ति बढेपछि बजारको स्वास्थ्य ठीक गर्न त्यसअनुरूप मागको पनि सृजना गर्न सक्नुपर्छ जुन कार्य नेपाल सरकार र नियामक निकायले मात्र गर्न सक्छन् ।
पूँजीबजार विस्तारका लागि आवश्यक काम
पूर्ण अनलाइन ट्रेडिङ तुरुन्त आउनुपर्ने
एनआरएनलाई भित्र्याउने
बैङ्कमा ब्याजदरको सीमा तोक्ने
मार्केट मेकरको व्यवस्था गर्ने
ब्रोकरलाई मार्जिन ट्रेडिङ सुविधा
दीर्घकालीन लगानीकर्ता र ट्रेडरका लागि पूँजीगत लाभकर छुट्टाछुट्टै गर्ने