गण्डकी प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले पाँचओटा आधार तय गरेको छ । ५ वर्षभित्र समृद्ध गण्डकी प्रदेश बनाउने लक्ष्य लिई सरकारले काम गर्ने मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकोे प्रतिबद्धता छ । मुलुक सङ्घीयतामा गइसकेपछिका उपलब्धि, समृद्ध प्रदेशका आधार, गण्डकी प्रदेशको सम्भावनालगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक अभियानका लागि पोखरा संवाददाता सुरेन्द्र पौडेलले गरेको कुराकानीको सार :मुलुक सङ्घीयतामा गएको छ । सङ्घीयताको उपलब्धिलाई कसरी हेर्नुुहुन्छ ?
५ वर्षभित्र सबै क्षेत्र हिजोका भन्दा भिन्न हुनुपर्छ । स्वास्थ्य क्षेत्र, शिक्षा प्रणाली, बेरोजगारी समस्यालगायत क्षेत्रमा सुधार हुनुपर्छ । गरीबी हटेर समृद्धितर्फ लम्कनुपर्छ । जनताले भोगेका समस्या क्रमिक समाधानतर्फ उन्मुख हुनुपर्छ । अहिलेको भन्दा आमूल परिवर्तन ५ वर्षभित्रै हुनुपर्छ । यदाकदा सङ्घीयताको विरोध भएको पनि पाइन्छ । जनताले सङ्घीयता हाम्रै लागि हो भन्ने बुझ्न केही समय लाग्छ । जनताले आफूलाई चित्त नबुझेको कुरामा प्रतिक्रिया दिनुलाई म अस्वाभाविक ठान्दिनँ । अहिले करप्रति असन्तुष्टि छ । हामीमा हतार गर्ने बानी छ । राजनीतिक तथा आर्थिक परिवर्तनपछि उपलब्धि आउन केही समय कुर्नुपर्छ ।
सङ्घीयताको आलोचना शुरू भइसकेको छ, यस विषयमा के भन्नुहुन्छ ?
सङ्घीय शासन प्रणाली लागू भएको र सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह बनेको ५ वर्ष पुगेपछि के भयो के भएन यसबाट के उपलब्धि भयो वा भएन भनेर मूल्याङ्कन गर्नुपर्छ । कामको शैलीमा तत्काल प्रतिक्रिया आउन सक्छन् । आलोचना हुन सक्छ र सुझाव पनि दिनुपर्छ । तर, अहिले नै सङ्घीय शासन प्रणाली सफल र असफल भनेर मूल्याङ्कन गर्ने समय भएको छैन । ५ महीनामा परिणाम खोज्नु भनेको अदूरदर्शिता र अपरिपक्वता हो । अहिले युरोप जुन अवस्थामा छ, त्यो अवस्थामा आउन पनि करीब ५/६ सय वर्ष लागेको छ । हामी ५/६ महीनामै विरोध गर्न शुरू गर्छौं । सङ्घीयताको वास्तविक उपलब्धि अबको ५ वर्षमा स्पष्ट देखिनेछ ।
समृद्ध गण्डकी प्रदेशका लागि कुन–कुन आधारलाई प्राथमिकता दिनुभएको छ ?
हामीले पहिलो प्राथमिकता पर्यटन क्षेत्रलाई दिएका छौं । प्रदेशको पर्यटन नीति बनाउँदै छौं । पर्यटन क्षेत्रका विभिन्न विधा छन् । धार्मिक, साहसिक खेल, पर्यटनलगायत विभिन्न विधाका पर्यटक हामी भिœयाउन सक्छौं । साहसिक खेलअन्तर्गत प्याराग्लाइडिङ, रक क्लाइमिङ, हनी हण्टिङलगायतलाई ब्राण्डिङ गर्न सक्छौं । संसारमै नभएका प्रसिद्ध धार्मिक स्थल यस प्रदेशमा भएकाले धार्मिक पर्यटनको पनि धेरै सम्भावना छ । खेल पनि पर्यटनको आधार हो । साहसिक खेलका विभिन्न गतिविधि हामी सञ्चालन गर्न सक्छौं । प्रदेशमा एक प्रसिद्ध विश्वविद्यालय सञ्चालन गर्ने हाम्रो सोच छ । यसबाट युवा पलायनलाई पनि रोक्न सकिन्छ । पर्यटनसँगै हामी यस प्रदेशलाई शिक्षा, स्वास्थ्य र खेलकुदसम्बन्धी हबको रूपमा विकास गर्नेछौं ।
गण्डकी प्रदेशमा पर्यटनका सम्भावना के कस्ता छन् ? पर्यटनलाई केन्द्रमा राखेर केके काम गर्ने तयारीमा हुनुहुन्छ ?
यहाँ प्रशस्त तालतलैया छन् । तालको संरक्षण एवम् विकास गरेर मनोरञ्जनका विभिन्न कुरा जोड्न सकिन्छ । तालमा विभिन्न खेलका गतिविधि सञ्चालन गर्न सकिन्छ । तालसँगै जोडेर लेखनाथमा चिडियाखाना बनाउने तयारी भइरहेको छ । फेवाताल र सराङकोटलाई केबलकारले जोडिनेछ । हिमागृह, रत्नमन्दिरलगायत पुराताŒिवक महŒवका स्थान सर्वसाधारणका लागि खुला गर्न सकिन्छ । पोखराको पर्यटनलाई मनाङ, मुस्ताङलगायत जिल्लासँग जोड्नुपर्छ । संसारमा उत्कृष्ट मानिएको अन्नपूर्ण सर्किट पनि यस प्रदेशमा छ । यसबाट पनि पर्यटकको आकर्षण बढाउन सकिन्छ । लोमान्थाङलाई हामी ‘हिडन किङ्डम’ भन्छौं । पुरातात्त्विक महत्त्वका सामान रहेको यस क्षेत्रलाई संरक्षण गरी आधुनिक प्रविधिसँग जोडेर पर्यटन विकास गर्न सकिन्छ । ढोरपाटन पनि उत्कृष्ट पर्यटकीय गन्तव्य हो । जङ्गल सफारीलगायत विभिन्न तरिकाले यहाँ घुम्न सकिन्छ । पोखराबाहेक प्रदेशभित्रका विभिन्न स्थानमा हामी पर्यटन प्रवद्र्धन गर्न सक्छौैं । नेपालमै पुरानो होम स्टे पनि यसै प्रदेशमा छ । सार्कस्तरीय नमूना गाउँ ‘घले गाउँ’ पनि यसै प्रदेशमा छ । लमजुङ, तनहुँ, स्याङ्जा, नवलपुर, म्याग्दीलगायत जिल्ला होम स्टे सञ्चालित जिल्ला हुन् । गरीबी निवारण तथा स्वरोजगार स्थापनामा पनि होम स्टे महत्त्वपूर्ण बनेको छ । स्थानीय स्तरका उत्पादलाई पनि पर्यटनसँग जोडेर ब्राण्डिङ गर्न सकिन्छ ।
पर्यटनको विकासका लागि पूर्वाधारमा कसरी जोड दिनुहुन्छ ?
ठूला–ठूला पूर्वाधारको निर्माण पर्यटन क्षेत्रसँग जोडिएको छ । पोखराआसपास बहुउद्देश्यीय बहुसांस्कृतिक ग्राम बनाउने हाम्रो लक्ष्य छ । निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी गरेको छ । पोखरा तथा आसपासका ताललाई मोनोरेलमार्फत जोड्ने योजना छ । अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ बाट सञ्चालनमा आउने भनिएको छ । पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र निर्माण गरिने भनिएको कोरला–त्रिवेणी राजमार्ग यस प्रदेशको मेरुदण्ड हुन् । यी राजमार्गको स्तरोन्नति आवश्यक छ । सडकमार्ग राम्रो भएमा स्थलमार्ग भएर आउने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुनेछ । आन्तरिक तथा बाह्य गरेर करीब ९ लाख पर्यटक अहिले पनि पोखरा आउने गरेको देखिन्छ । सबै पूर्वाधार विकास भएमा पोखरामा पर्यटक भित्र्याउन अप्ठ्यारो छैन ।
पर्यटक बढाउन कस्तो अभियान चलाउनुहुन्छ ?
सन् २०२० मा हामी छिमेकी देशका पर्यटक भित्र्याउने प्रयास गर्छौं । चीन, भारतलगायत देशका पर्यटक कसरी धेरैभन्दा धेरै ल्याउन सकिन्छ भनेर विभिन्न कार्यक्रम गर्नेछौं । यहाँका टेलिभिजनमा पोखरा र समग्र गण्डकी प्रदेशका छोटाछोटा डकुमेण्ट्री बनाएर प्रचारप्रसार गर्न सकिन्छ । कार्यशाला गोष्ठीलगायत विभिन्न अभियान सञ्चालन गर्नेछौं । समस्याको पहिचान गरी समाधान गर्छौं । सन् २०२२ लाई गण्डकी प्रदेश भ्रमण वर्षको रूपमा विकास गर्नेछौं ।
समृद्ध प्रदेशका लागि पर्यटनपछि ऊर्जालाई प्राथमिकतामा राख्नुभएको छ । गण्डकी प्रदेशमा ऊर्जाको भविष्य कस्तो छ ?
पर्यटनपछि ऊर्जालाई हामीले प्राथमिकतामा राखेका छौं । धेरैभन्दा धेरै जलस्रोत उत्पादन गरेर धेरै रोयल्टी लिएर आन्तरिक आम्दानी बढाउने हाम्रो लक्ष्य छ । धेरै प्रोजेक्ट सञ्चालन भएपछि रोजगारीको अवसर पनि सृजना हुन्छ । विद्युत् धेरै उत्पादन भएपछि हाम्रो प्रदेशमा सञ्चालनमा रहेका उद्योग तथा कलकारखानामा २४सै घण्टा विद्युत् उपलब्ध गराउन सक्छौं । विद्युत्को कमी छैन भन्ने प्रत्याभूति गराउनुपर्छ र उद्योगले आफ्नो क्षमताअनुसार उत्पादन गरेको छ भन्ने सन्देश दिनुपर्छ । प्रदेशका सबै शहरलाई उज्यालो बनाउनुपर्छ, जसले शान्ति सुव्यवस्था कायम गर्न सहज हुनेछ । गण्डकी प्रदेशलाई डिजिटल प्रदेशको रूपमा विकास गर्ने भनेका छौं । सबै ठाउँमा छिटोभन्दा छिटो विद्युत् सेवा पुग्न आवश्यक छ । सबै स्थानमा टेलिफोन, अनलाइन चल्नुपर्छ । वाइफाई हुनुपर्छ । यसका लागि पनि ऊर्जा आवश्यक छ । धेरैभन्दा धेरै विद्युत् उत्पादन गरी पेट्रोलियम पदार्थको खर्च कटौती गर्न चाहन्छौं । ग्यास सिलिण्डरको ठाउँमा बिजुलीबाट चल्ने इलेक्ट्रिक ओभन प्रयोग गर्न सकिन्छ । ग्यासका सिलिण्डर प्रतिस्थापन गर्न सके पनि धेरै पैसा बचत हुन्छ । सौर्य ऊर्जा र वायु ऊर्जाको पनि सम्भावना यस प्रदेशमा छ ।
गण्डकी प्रदेशमा कृषिको अवस्था कस्तो छ ?
कृषि क्षेत्रलाई हामीले तेस्रो प्राथमिकतामा राखेका छौं । कृषिमा आधुनिकीकरण गर्न आवश्यक छ । खाद्यान्न, तरकारी, फलफूल, दूध, दही, मासु र माछामा आत्मनिर्भर बन्नुपर्छ । हामीले जे–जे कुरा आयात गरेका छौं, ती सबै आयात गर्न नपर्ने अवस्था सृजना गर्नुपर्छ ।
औद्योगीकरणको सम्भावना कस्तो छ ?
गण्डकी प्रदेशमा औद्योगीकरण कम भएको छ । जनशक्ति तथा अन्य हिसाबले हामी अगाडि छौं । घरेलु तथा मझौला उद्योगको धेरैभन्दा धेरै प्रवद्र्धन गर्नुपर्छ । औद्योगिक क्षेत्र स्थापना गर्नुपर्छ । लघु उद्यम, घरेलु उद्योग, साना उद्योगको तीव्र विकास गरेर उत्पादन प्रवद्र्धन गर्नुपर्छ । यसले रोजगारी पनि सृजना गरी आर्थिक रूपमा सबल बनाउँछ । हामीले यस वर्ष करीब ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेका छौं । यी चारओटै क्षेत्रको विकासका लागि हामीलाई पूर्वाधार विकास आवश्यक छ ।
विकासको प्रमुख आधार पूर्वाधारलाई मानिन्छ, पूर्वाधार विकासमा प्रदेश सरकार कसरी अगाडि बढ्छ ?
पूर्वाधार विकासलार्ई हामीले विशेष प्राथमिकतामा राखेका छौं । सबै शहर, वडा तथा टोलटोलमा बाटो विस्तार गर्नुपर्छ । ५ वर्षमा सबै स्थानीय केन्द्रमा बाटो पु¥याउने भनिएको छ । सिङ्गो प्रदेशलाई नै व्यापारको केन्द्र बनाउने, व्यापारको सञ्जाल विस्तार गर्ने तथा गाउँ र शहरबीच सडक सञ्जाल विस्तार गर्नुपर्छ । प्रदेशमा उद्योग व्यवसायका गतिविधि धेरैभन्दा धेरैै सञ्चालन हुन् भन्ने हाम्रो चाहना छ । प्रत्येक गाउँमा उद्योग ग्राम खोल्ने र गाउँमै कोल्ड स्टोर खोल्ने, सङ्कलन केन्द्र स्थापना गर्नुपर्छ । ग्रामीण क्षेत्रमा धेरै खोलानाला छन् । स्थानीय सरकारलाई त्यसबाट विद्युत् उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ ।
५ वर्षमा २ हजार ५ सय डलर प्रतिव्यक्ति आम्दानी बनाउने लक्ष्य लिनुभएको छ । यो सम्भव छ ?
अहिले प्रतिव्यक्ति आय १ हजार २८ अमेरिकी डलर छ । हामीले ५ वर्षमा यसलाई २५ सय पुर्याउने लक्ष्य लिएका छौं । यो एकदम कठिन छ । सबै क्षेत्रको विकास गर्न सके यो सम्भव छ ।
सुशासनको पाटोलाई कसरी लिनुहुन्छ ?
पर्यटन, ऊर्जा, कृषि, उद्योग र पूर्वाधार यी पाँच क्षेत्रले मात्र समृद्धि हुँदैन । शान्तिसुरक्षा पनि आवश्यक छ । समयमै काम सम्पन्न गर्नुपर्छ । कर्मचारीले पनि राम्रोसँग काम गर्नुपर्छ । कार्यालय पनि स्रोत र साधनले सम्पन्न हुनुपर्छ । हामीले सुशासनलाई पनि महत्त्व दिएका छौं । ५ वर्षभित्र हामी यस प्रदेशलाई डिजिटलाइज्ड प्रदेशको रूपमा विकास गर्नेछौं । ई–गभर्नेन्स स्थापित गर्छौं । यसले सुशासनमा योगदान दिन्छ । जनताले पनि छिटोभन्दा छिटो आफ्नो काम सक्ने वातावरण बन्नेछ । यसले भ्रष्टाचार नियन्त्रणमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ ।
बजेटप्रति तपाईंको टिप्पणी के छ ?
सङ्घबाट प्राप्त हुने बजेट र हामीले यहाँ राजस्वबाट सङ्कलन गर्ने स्रोत हेर्दा सबैभन्दा कम बजेट पाउने हामी हौं । यद्यपि, आम्दानीको हिसाबले हामीभन्दा धेरै कम आम्दानी गर्ने प्रदेश पनि छन् । सङ्घलाई दिएको बजेट करीब १३ प्रतिशत छ । यसलाई २० प्रतिशत बढाएर ३३ प्रतिशत पुर्याउनुपर्छ । सङ्घीय बजेटको ३३ प्रतिशत बजेट प्रदेश सरकारले पाए भने यस प्रदेशको बजेट झण्डै ६० अर्ब हुन्छ । हाम्रो प्रदेश कम आम्दानी भएको प्रदेश हो तर त्यसलाई धेरैभन्दा धेरै परिचालन गरेर आम्दानी बढाएर १ खर्बको बजेट बनाउने गरी हामी लाग्नेछौं । जुन ८ प्रतिशतबाट १२ प्रतिशत आर्थिक वृद्धिदर पु¥याउने सपना देखेका छौं, त्यसलाई पूरा गर्न निजी क्षेत्रको लगानी, बाह्य अनुदान, सहयोग वा ऋणको कुरा र आन्तरिक ऋणको कुरा महत्त्वपूर्ण छ ।
लगानी सम्मेलन गर्ने तयारी गर्दै हुनुहुन्छ । कस्तो हुन्छ लगानी सम्मेलन ?
गण्डकी प्रदेशमा लगानी भिœयाउने लक्ष्यले लगानी सम्मेलन गर्दै छौं । जसमा देश तथा विदेशका लगानीकर्ताको सहभागिता रहन्छ । आगामी वैशाखसम्म हामीले लगानी सम्मेलन गरिसक्ने लक्ष्य लिएका छौं । निजी क्षेत्रको धेरैभन्दा धेरै लगानी हामी भिœयाउन चाहन्छौं । अहिलेसम्म कति लगानी भित्र्याउने भन्ने निश्चित छैन । हामीले सोचेअनुसार भयो भने १ वर्षमै करीब २५ अर्ब लगानी भित्रिन पनि सक्छ । ५ वर्षभित्र १ खर्बको लगानी भित्र्याउने हाम्रो लक्ष्य हो ।