रौनक अंग्रेजी नयाँ वर्षको : गुल्जार हुन्छन् यी शहर
Jan 1, 2019
 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
केही दशकयता नेपालमा अंग्रेजी नयाँ वर्ष उत्साहका साथ मनाइँदै आएको छ । नेपालीले अन्य धर्म, संस्कृतिका चाडपर्व र उत्सवलाई पनि आत्मसात् गर्दै आ–आफ्नो तरीकाले मनाउन थालेका हुन् । अंग्रेजी नयाँ वर्षको १ हप्ताअघि आउने क्रिशमसले समेत नेपालमा ‘फेस्टिभ’ माहोल सृजना गर्छ । यो पर्वदेखि नयाँ वर्षको पहिलो हप्तासम्म देशका प्रमुख शहरमा पर्यटकीय चहलपहल बढ्छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन र पर्यटक लक्षित गतिविधिले यी शहर गुल्जार बन्ने गर्छन् ।
काठमाडौंका ठमेल, झम्सिखेल, बौद्ध, न्यूूरोडका साथै पोखरा, सौराहा, धरान, भेडेटार, नेपालगञ्ज जस्ता शहरमा अंग्रेजी नयाँ वर्ष विशेष रूपमा मनाइन्छ । नेपालमा जाडोयाम घुम्ने समय मानिने हुँदा नयाँ अंग्रेजी नयाँ वर्षको अवसरमा मानिस यी गन्तव्य पुग्ने गर्छन् ।
नयाँ वर्षमा उपत्यकाका दरबारमार्ग, वसन्तपुर, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, नगरकोट, नमोबुद्ध र ललितपुरको गोदावरीमा चहलपहल बढ्छ । सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा अहिलेदेखि नै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको पाइन्छ । आगामी वर्ष भ्रमण गर्न सकिने गन्तव्यबारे अहिले नै चर्चा यहाँ हुन थालेको छ । यो नयाँ वर्षकै अवसरमा विभिन्न ठाउँमा पर्यटक पुग्ने क्रम पनि बढेको छ ।
ठमेल
नेपाल आउने विश्वभरका पर्यटकको पहिलो गन्तव्य बनेको छ ठमेल । यहाँ हरेक देशको जीवनशैली तथा संस्कृति अनुकूल खानेकुरा र सरसामान पाइन्छ । त्यसैले पनि ठमेलमा सधैंजसो पर्यटकको चहलपहल हुन्छ । चाइनिज कर्नर होस् वा रसियन बार÷रेष्टुराँ, पब वा होटल, सबैले कुनै न कुनै रूपमा ती मुलुकको चिनारी झल्काएका हुन्छन् । अघिल्लो वर्षदेखि ‘वाकिङ स्ट्रिट’ बनाइएको ठमेलको रौनक त्यसै पनि बढेको छ । नयाँ वर्षको बेला ठमेलमा विभिन्न कन्सर्ट तथा सांस्कृतिक प्रदर्शनी हुन्छ । यसले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाएको छ ।
पोखरा
पोखरा देशकै सर्वाधिक व्यस्त रहने पर्यटकीय गन्तव्य हो । अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकले होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । एक तथ्यांक अनुसार पोखराका होटलमा २० हजारभन्दा बढी बेड छन् । यस्तै आसपासका धम्पुस, रूपाकोट, बेगनास लगायत स्थानका होटलमा समेत गरी यहाँ ४० हजारभन्दा बढी पर्यटक एकैपटक वास बस्न सक्छन् ।
सौराहा
नेपालकै तेस्रो मुख्य पर्यटकीय क्षेत्रमा पर्छ सौराहा । नयाँ वर्षको बेला यहाँका होटल तथा लजहरू पर्यटकले भरिन्छन् । यहाँ आन्तरिक र बाह्य दुवै पर्यटक उत्तिकै संख्यामा आउँछन् । यद्यपि यो वर्ष यहाँ आयोजित हात्ती महोत्सवले बाह्य पर्यटकलाई समेत विशेष आकर्षित गरेको छ । सौराहामा ६० भन्दा बढी होटल/रेस्टुराँ र १ सय साना पर्यटन व्यवसाय सञ्चालित छन् ।
सौराहा आउने पर्यटकहरू विशेगषरी हात्ती चढेर जंगल सफारी, नदीमा डुंगा शयर र पदयात्रा गर्छन् । चितवन निकुञ्ज घुम्न मात्रै वार्षिक २ लाखभन्दा बढी पर्यटक आउँछन् । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, हात्ती लगायत वन्यजन्तु अवलोकन सकिन्छ ।
नगरकोट
नगरकोट काठमाडौंबाट ३० किलोमिटर पूर्व भक्तपुर र काभ्रेको सिमानामा पर्छ । राजधानीबाट नजीक रहेकाले कतिपय पर्यटक परिवार सहित र कतिपय साथीको समूह बनाएर नगरकोट पुग्ने गर्छन् । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि चर्चित यो ठाउँमा ‘न्यू इयर इभ’ मनाउन धेरै पर्यटक पुग्छन् । नगरकोटमा रहेको भ्यू टावरबाट काभ्रे र काठमाडौं उपत्यकाको दृश्यका साथै नेपालका अधिकांश हिमाल हेर्न सकिन्छ ।
धुलिखेल
धुलिखेल काठमाडौंबाट ३० किलोमिटर पूर्वमा पर्छ । सफा र सानो नगर धुलिखेलमा सुविधासम्पन्न रिसोर्ट र होटल छन् । काठमाडौंको भीडभाडबाट छूटकारा पाउन धुलिखेल उत्कृष्ट गन्तव्य हो । यहाँ सधैंजसो विदेशी पर्यटकको चहलपहल हुन्छ भने अंग्रेजी नयाँ वर्षमा झनै रमाइलो माहोल बन्छ । धुलिखेल र आसपासका होटल/रिसोर्टमा प्रतिदिन ५ हजारभन्दा बढी पर्यटक बस्न सक्छन् ।