ग्रेगोरियन पात्रोअनुसार मंगलवारदेखि नयाँ वर्ष इश्वी सन् २०१९ शुरू भएको छ । जिसस क्राइष्टलाई यातना दिएर मारिएपछि इश्वी संवत् मनाउन थालिएको हो ।
ग्रेगोरी पात्रो इश्वी संवत्मा आधारित छ । यो संसारका सबैजसो ठाउँमा प्रयोग गरिन्छ । यो जुलियन पात्रोको रूपान्तरण हो ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको संवत््लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिएको हो । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रशियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवम् ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् ।
खासगरी विश्वमा इसाई धर्मावलम्बीले ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष सन् २०१९ मनाउँदै छन् । विश्वका अधिकांश मुलुकमा सो संवत्् प्रचलनमा छ । इसाई धर्मका प्रवर्तक जिजस क्राइष्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । यसअघि जुलियस पात्रो प्रचलनमा थियो । शासक जुलियस सिजरले प्रचलनमा ल्याएकाले यसलाई जुलियस पात्रो भनिएको थियो ।
वैज्ञानिक मानिँदैन इश्वी संवत्
यो संवत् गणनामा पटकपटक अप्ठ्यारो र विवाद देखिँदै आएको छ । यसैकारण यसलाई अवैज्ञानिक भनिएको छ । यस संवत््मा सौरमासको गणना हुने भएकाले यसमा विवाद आउने ज्योतिषहरूको तर्क छ । ज्योतिष शास्त्रमा चन्द्रमासको गणना हुन्छ । तर, इश्वी संवत््मा सौरमासको मात्र गणना हुने भएकाले यो ज्योतिष शास्त्रमा नमिलेको हो ।
नेपालका संवत्
समय, वर्ष जनाउन र गणना गर्न, विधि व्यवहार चलाउन संवत्को आवश्यता पर्छ । विश्वका हरेक देशमा आआप्mनै साल–संवत् अस्तित्वमा वा प्रचलनमा छन् । नेपालमा राज्यद्वारा आधिकारिक रूपमा प्रचलनमा ल्याइएका संवत् विक्रम र नेपाल हुन् । विक्रम संवत् प्रशासनिक कार्यमा प्रचलनमा छ भने नेपाल संवत्् चाडपर्व, संस्कृति र जनजीवनसँग सम्बद्ध छ । यसैगरी भूगोल र जनजातिका आधारमा आआप्mनै संवत् छन् ।
किराँत संवत्
नेपालमा मानिएको हालसम्मको पुरानो संवत् किराँत संवत् हो । कुलुङ जातिले यो संवत्लाई यले दोङ भन्छन् भने लिम्बू जातिले येले तङ्बे र सुनुवार जातिले यले थोचे भन्छन् । । कुलुङको जीवन–चक्रअनुसार यो संवत् ५०७८ पुगेको छ । यो संवत् सबै किराँती जाति लगायत हायू, थामी, सुरेल आदिले पनि मान्छन् ।
विक्रम संवत्
नेपाल र भारतको राष्ट्रिय संवत्का रूपमा प्रचलनमा रहेको यो संवत् वैशालीका राजा विक्रमादित्यले चलाएको मानिन्छ । यो संवत् ग्रेगोरियन पात्रो (अंग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महीना १५ दिन अगाडि छ । यस संवत् अनुसार वर्षको शुरू वैशाख महीनाको पहिलो दिनदेखि हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह नक्षत्रका नाम पनि महीनाहरूसँग सम्बन्धित छन् । भारतको वैशालीका तत्कालीन राजा विक्रमादित्यको नाममा चलेको यो संवत्लाई चन्द्रशमशेरले नेपालमा प्रचलनमा ल्याएका हुन् । यसअघि सरकारी कामकाजमा नेपाल संवत्को प्रचलन थियो ।
बुद्ध संवत्
महामानव सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि बुद्ध संवत् शुरू भएको हो । उनका चेलाले भगवान् बुद्धको नाममा बुद्ध संवत् चलाएका हुन् ।
नेपाल संवत्
यो संवत् भक्तपुरका व्यापारी शंखधर साख्वाले गरीब जनताको ऋण मुक्त गरेपछि नेपालको नाममा यो संवत् चलाएका हुन् । तत्कालीन नेपाः देशका महाराजा राघवदेवले ११३९ वर्षपहिले यो संवत् चलाएका हुन् । म्हः पूजादेखि यो संवत् शुरू हुन्छ । यसअघि नेपालमा शाक संवत् प्रचलनमा रहेको थियो ।
अंशुवर्मा संवत्
यो संवत् अंशु वर्माले आफू महासामन्त भएपछि राजा शिवदेवको पालामा चलाएका हुन् । केही इतिहासकारका अनुसार, ललितपुरको बुङ्मती नजिकको शिलालेखमा अंशुवर्मा संवत् २९ लेखिएको छ । यसबाहेक नेपालमा मिथिला संवत्, थारू, तामाङ, गुरुङ, शेर्पा आदि जातजातिको पनि आआफ्नै संवत् छन् ।
ल्होसार संवत्
ल्होसार तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातिले नयाँ वर्षको आरम्भका रूपमा मनाउने पर्व हो । ल्होछारु शब्दमा ल्हो को अर्थ वर्ष वा साल हुन्छ भने छारु वा सारुको अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदाय यस्ता ल्हो अर्थात् वर्ष १२ ओटा भएको विश्वास गर्छन् । १२ वर्षको नाम पशुपछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ । यसरी यस समुदायले १२ वर्ष एक युगको परिकल्पना गरेको हुनसक्ने विश्वास गरिन्छ ।
हिजरी संवत्
इस्लामी पञ्चांग वा क्यालेन्डर वा मुस्लिम पात्रो अनुसार हिजरी संवत् मनाइन्छ । यो चन्द्रमानमा आधारित पात्रो हो । इस्लामिक धार्मिक पर्व यसै पात्रोअनुसार मनाइने हुँदा यो संवत् इस्लामिक मुलुकहरूका साथै विश्वभर छरिएर रहेका मुस्लिमले जानकारीमा राखेका हुन्छन् । यस संवत् अनुसार वर्षमा ३५४ वा ३५५ दिन हुन्छन् । यो सौर क्यालेन्डरदेखि ११ दिन कम छ । तर, यसमा इस्लामिक धार्मिक तिथिहरू स्थिर हुन्छन् । त्यसैले प्रत्येक वर्षको पछिल्लो सौर पात्रोदेखि ११ दिनपछि हुन्छन्, जसलाई हिजरा वा हिजरी पनि भनिन्छ । हजरत मुहम्मद मक्काबाट मदीना फर्किएको दिनदेखि हिजरी संवत् शुरू भएको मानिन्छ ।