वर्षभर सबै दिन उस्तै हुन्छन् । घण्टा, दिन, महिना र ऋतु फेरिए जस्तै वर्ष पनि फेरिन्छन् । यस क्रममा १ दिनमा त्यति ठूलो परिवर्तन केही हुँदैन । तर पनि हामीले पात्रो अनुसार नयाँ वर्षको पहिलो दिनलाई विशेष उत्साहका साथ मनाउने गरेका छौं । हाम्रो आधिकारिक पात्रो विक्रम संवत् अनुसार वर्षको पहिलो दिन वैशाख १ होस् वा नेपाल संवत्को पहिला दिन अर्थात् म्ह पूजाको दिन होस् । तामाङ, शेर्पा, गुरुङ, थकाली समुदायको नयाँ वर्ष (लोसार वा ल्होछार) होस् वा ग्रेगोरियन पात्रो अनुसारको जनवरी १ नै किन नहोस् ।
आइतवार गुरुङहरूको नयाँ वर्ष तमु लोसार मनाइयो । मंगलवार ग्रेगोरियन पात्रो अन्तर्गतको नयाँ वर्ष २०१९ शुरू हुँदै छ । विश्वभर धेरै देशले जनवरी १ लाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । पछिल्लो समय नेपालीले पनि जनवरी १ लाई विशेष दिनको रूपमा मनाउन थालेका छन् ।
ईपू ४५ मा रोमन राजा जुलियस सिजरले जुलियन पात्रो ल्याए । पृथ्वीले सूर्यको परिक्रमा गर्न लगाउने समयको आधारमा उक्त पात्रो बनाइएको थियो । पात्रो शुरू भएपछि वर्ष शुरू हुने दिन पनि तोक्नुप¥यो । उनले नै जुलियन पात्रो प्रयोगमा आएको पहिलो दिन अर्थात् जनवरी १ लाई नयाँ वर्षको रूपमा मनाउन थालेको कथन पाइन्छ । सिजरले अप्रिल १ लाई वर्षको पहिलो दिन बनाएको भनाइ पनि प्रचलित छ ।
त्यसभन्दा पहिला अर्थात् ईपू ७ सयमा रोमका पहिलो राजा रोमुलसले १० महीनाको १ वर्ष भएको पात्रो ल्याएका थिए । चन्द्रमाको मासिक चक्र अर्थात् चन्द्रमासमा आधारित यो पात्रोमा वर्ष मार्चमा शुरू हुन्थ्यो र डिसेम्बरमा सकिन्थ्यो । यस पात्रोमा १ वर्षमा ३ सय ४ दिन मात्रै थिए । रोमन राजा नुमा पोम्पिलियसले पात्रोमा जनवरी र फेबु्रअरी थपेर रोमन वर्षलाई ३ सय ६५ दिनको बनाए । मध्यकालमा जनवरी १ मा नयाँ वर्ष मनाउने चलन हरायो । पात्रोमा देखिएको गडबडीका कारण त्यति बेला डिसेम्बर २५ र मार्च २५ मा नयाँ वर्ष मनाएको पनि पाइएको छ ।
सन् १५८२ को अक्टोबरमा भेनिसका पोप ग्रेगोरी १३औंले नयाँ पात्रो ल्याए । उनको नामका आधारमा यस पात्रोलाई ग्रेगोरियन पात्रो भनियो । उक्त क्यालेन्डर अनुसार क्याथोलिक देशहरूले जनवरी १ लाई नयाँ वर्ष शुरू हुने दिनका रूपमा मनाउन थाले । १२ मध्ये ७ महीना ३१ दिनका र ४ महीना ३० दिनका थिए । फेबु्रअरी सामान्यतया २८ दिनको भए पनि हरेक चौथो वर्षमा भने यो महीना २९ दिनको हुने व्यवस्था गरियो । बेलायत प्रोटेस्टेन्टहरूको बाहुल्य भएको देश भएकाले त्यहाँ मार्च २५ का दिनमै नयाँ वर्ष मनाइन्थ्यो । तर सन् १७५२ मा त्यहाँको संसदीय ऐनले यूरोपका अन्य देशकै हाराहारीमा बेलायतलाई ल्याउन जनवरी १ लाई नयाँ वर्षको रूपमा मनाउन थाल्यो ।
ग्रेगोरीको नयाँ पात्रो आएपछि जनवरीमा नयाँ वर्ष मनाउन थाले पनि फ्रान्समा भने अप्रिल १ मा नै नयाँ वर्ष मनाइन्थ्यो । विस्तारै जनवरी १ मा नयाँ वर्ष मनाउनेले अप्रिल १ मा नयाँ वर्ष मनाउनेलाई ‘मूर्ख’ भन्न थाले । ग्रेगोरियन पात्रोका पक्षधरहरूले उनीहरूलाई गिज्याउने र ठट्टामा उडाउने गर्न थाले । यसपछि अप्रिल १ लाई अप्रिल फूल मनाउने चलन शुरू भएको हो भन्ने भनाइ पनि प्रचलित छ ।
कुन देशको नयाँ वर्ष कहिले ? ग्रेगोरियन पात्रो प्रयोग नगर्ने वा अन्य परम्परा संस्कृति भएको देशमा भने नयाँ वर्ष फरक फरक दिन मनाइन्छ । नेपाल लगायत केही देशले भने आफ्नो पात्रोका साथै ग्रेगोरियन पात्रो पनि प्रयोग गरिरहेका छन् । यी देशमा भने एउटै वर्षमा पनि पात्रो अनुसार दुई वा सोभन्दा बढी नयाँ वर्ष मनाइन्छ ।
कुन देशमा कसरी मनाइन्छ ? संसारमा १ वर्षमा धेरैपटक नयाँ वर्ष मनाइन्छ । इरानको २० मार्चमा अनि तामिलको अप्रिल १४ मा पर्छ । विभिन्न देशमा नयाँ वर्ष मनाउने तरीका आ–आफ्नै छन् । यसै सन्दर्भमा केही देशमा नयाँ वर्ष कसरी मनाइन्छ भन्नेबारे संक्षिप्त जानकारी दिइएको छ :
भारत यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरीका फरक पाइन्छ । बंगालमा नयाँ वर्षको अवसरमा देवीदेवताको पूजा गरी नाचगान र हासखेल गरिन्छ । कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेँलो लुगा लगाएर आफ्ना आपन्तजनलाई उपहार दिने चलन छ । आसाममा यस दिन पशुको पूजा गरिन्छ । पञ्जावमा यस दिन झाँगड नृत्य आयोजना, गणेश र लक्ष्मीको पूजा, सामूहिक रूपमा नाचगान र रमाइलो गरिन्छ । राजस्थानमा नयाँ वर्षको अवसरमा मीठामीठा परिकार सेवन गरिन्छ । यस्तै, जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन पनि छ ।
चीन चिनियाँहरू आफ्ना मान्यजनबाट आशीर्वाद लिने, मिष्ठान्न भोजन खाने र सफासुग्घर राख्ने गरेर नयाँ वर्ष मनाउँछन् ।
जापान जापानमा नयाँ वर्षको अवसरमा हरिया वृक्ष घर वरिपरि सजाएर शुद्ध जलको प्रयोग गरिन्छ । यस्तै मान्यजनबाट आशीर्वाद लिने, मीठा फलफूल सेवन गर्ने र आफूले लिएको ऋण तिर्ने चलन छ ।
कोरिया नयाँ वर्ष मनाउन कोरियामा ३ दिनसम्म सरकारी बिदा दिइन्छ । यस समयमा त्यहाँका सबैजसो पसल बन्द हुन्छन् । नयाँ वर्षमा कोरियालीहरू चामलको रक्सी तथा चामलको रोटी खान्छन् । यसो गर्दा आयु बढ्ने उनीहरूको विश्वास छ ।
थाइल्यान्ड थाईहरू नयाँ वर्षको दिन आफ्नो घरआँगन सफासुग्घर राख्छन् । यस्तै दीपावली र बौद्ध गुम्बामा प्रार्थना गरेर आफन्तसँग शुभकामना आदान प्रदान गर्छन् ।
इन्डोनेशिया इन्डोनेशियामा नयाँ वर्षलाई ‘गोलुगान’ भन्छन् । त्यस दिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन् । साथै, मीठामीठा परिकार खाएर एकआपसमा बधाई र शुभकामना व्यक्त गर्दछन् ।
मंगोलिया नयाँ वर्षको दिन मंगोलियनहरू रातभरि जाग्राम बस्छन् । त्यसपछि आफ्ना आमाबाबु तथा मान्यजनबाट आशीर्वाद लिई मीठा परिकार खाएर रमाउँछन् ।
मेक्सिको यहाँका जनजातिको बाहुल्य भएको स्थानमा यस दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँछन् ।
जर्मनी यस दिन त्यहाँ पानीले भरिएको धातुको भाँडामा मुद्रा (सिक्का) खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन छ ।
पोर्चुगल पोर्चुगलमा नयाँ वर्षको दिन साँढे जुधाएर रमाइलो गरिन्छ । साथै शहरभर धुनी जगाएर पटाकाबाजी गरी उत्सव मनाइन्छ ।
बेलायत बेलायतमा ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्ने चलन छ । मानिसहरू नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाच्छन् । नयाँ वर्ष शुरू हुने रातको ठीक १२ बजे बढाईं गरिन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्ष शुरू भएको भन्ने हुन्छ ।
(एजेन्सीको सहयोगमा)