ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ अर्ब २२ करोड रुपैयाँको अन्योल

Jan 14, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी ऐन–२०७४ जारी भएपछि २०६६–६७ देखि कामदारबाट संकलन गरिँदै आएको १ प्रतिशत सामाजिक सुरक्षा करको २ खर्ब २२ करोड रुपैयाँ के हुन्छ भन्ने अन्योल देखिएको छ । अर्थ मन्त्रालय स्रोतले सो कर यथावत् संकलन गरिने र त्यसको रकम सो करमा योगदान नगर्ने तर सामाजिक सुरक्षाको सूचीमा परेका एकल/असहाय महिला, वृद्धवृद्धा, अभिभावकहीन बालबालिका लगायतलाई सामाजिक सुरक्षा दिन प्रयोग हुने बताएको छ । सामाजिक सुरक्षा कोष स्रोतले भने आजसम्म जम्मा भएको र अब उठाइने समेत उक्त करको रकम सासु कोष अन्तर्गत आउनुपर्ने र करमा योगदान गर्ने कामदारको हितमा प्रयोग गरिनुपर्नेमा जोड दिएको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले करको विषय अर्थ मन्त्रालयको कार्यक्षेत्रमा आउने र हालसम्म मन्त्रालयले सो ‘कर कोष’ बारे कुनै जानकारी नगराएको अभियानलाई बताए । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस २२ गतेसम्ममा यस्तो कर बापत २ अर्ब २१ करोड ९९ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ । ‘सामाजिक सुरक्षा कर बापत संकलित मौज्दात कामदारको सामाजिक हितमा उपयोग गर्न कामदार, रोजगारदाता र सरकार सम्मिलित सञ्चालक समिति रहनेगरी स्थायी संयन्त्र स्थापना गरिनेछ’ तत्कालीन सरकारी घोषणामा उल्लेख छ । यसबाट उक्त कर ‘कामदारको सामाजिक हितमा’ उपयोग हुनुपर्ने देखिन्छ । अर्थ मन्त्रालयका राजस्व सम्बद्ध अधिकारीहरू भने संकलित १ प्रतिशत कर सामाजिक सुरक्षाको सूचीमा परेका एकल/असहाय महिला, वृद्धवृद्धा, कमजोर आर्थिक अवस्था भएर जटिल रोग लागेका बिरामी र अभिभावक नभएका बालबालिकालाई सामाजिक सुरक्षा दिन प्रयोग हुने गरेको बताउँछन् । ‘जुनसुकै कर राजस्वको स्रोत हो, त्यो सरकारको खातामा संकलन हुन्छ,’ अभियानसँगको कुराकानीमा एक पूर्व राजस्व सचिवले भने, ‘१ प्रतिशत कर पनि प्रणालीमा आउँछ र योगदान नगरेका तर राज्यले सुरक्षा दिनुपर्ने सूचीमा परेकालाई सामाजिक सुरक्षा दिन खर्च हुन्छ ।’ १ प्रतिशत करबारे अर्को अन्योल यो कर तिर्ने कामदारले कर कोषबाट के के सुविधा पाउने वा कुनै पनि सुविधा नपाउने भन्नेमा हो । अधिवक्ता परशुराम कोइरालाले १ प्रतिशत करलाई सरकारले काम गर्न सक्ने कामदारबाट लिने र काम गर्न नसक्नेलाई दिन सक्ने राजस्व स्रोतका रूपमा अथ्र्याए । उनले भने, ‘यसलाई आर्थिक ऐनमा विशेष प्रकृतिको प्रत्यक्ष करको रूपमा व्यवस्था गरिएको छ, त्यसैले योगदान गर्ने कामदारलाई यसले कुनै प्रत्यक्ष सुविधा दिँदैन ।’ तर १ प्रतिशत कर लगाउँदा आव २०६७/६८ मा सरकारले गरेको घोषणाले भने यसमा योगदान गर्ने कामदारले अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले सुनिश्चित गरेका मध्ये चार प्रकारका सुरक्षा पाउने आशय दिने जानकारहरू बताउँछन् । ती हुन्– बिरामी कामदारको औषधि उपचारको सुरक्षा, महिला कामदारलाई मातृत्व सुरक्षा, कामका क्रममा दुर्घटनामा परेका कामदारको बीमा र कामदारमा आश्रित परिवारको सुरक्षा । श्रम ऐनले पनि कामदारलाई त्यस्ता सबै सुरक्षाको सुनिश्चितता दिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले पनि यो १ प्रतिशत कर योगदान गर्ने कामदारको सुरक्षामा खर्चने परिकल्पना गरेको छ । ऐनको दफा २६ को उपधारा २ ङ मा ‘सामाजिक सुरक्षा कर बापत हालसम्म संकलित र भविष्यमा संकलन हुने रकम’ सामाजिक सुरक्षा कोषमा जम्मा हुने उल्लेख छ । यसले अहिलेसम्म जम्मा भएको २ अर्ब २२ करोड रुपैयाँ मात्र होइन, सो कर बापत अब जम्मा हुने रकम पनि सामाजिक सुरक्षा कोषमा जाने स्पष्ट पार्दछ । ऐनले स्पष्ट भनिसकेपछि पनि अन्योल रहनु चाहिँ अनौठो हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)