योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा चरणबद्ध रूपमा देशभरबाट रोजगारदाता र श्रमिकको सूचीकरण हुनेछ । यस क्रममा सर्वप्रथम मङ्सिर ६ गतेदेखि काठमाडौं र प्रदेश ३ भित्रका रोजगारदाताको सूचीकरण शुरू भएको छ । हालसम्म करीब ४ सय ५० रोजगारदाता सूचीकरणमा आबद्ध भइसकेको सामाजिक सुरक्षा कोषको तथ्यांक रहेको छ । दर्ता हुनेमा आईएमई ग्रूप, सीजी, नर्भिक हस्पिटल जस्ता ख्यातिप्राप्त कम्पनीहरू समेत रहेको कोषकी प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् । दर्ता प्रक्रियामा बीमा कम्पनी, बचत तथा ऋण सहकारी संस्था, कन्सल्टेन्सी, आईटी कम्पनीका साथै खासगरी सेवा क्षेत्र बढी आएका छन् । सूचीकरणको काम अनलाइनबाटै गर्ने व्यवस्था गरिएको छ ।
रोजगारदाता सूचीकरण
१. सामाजिक सुरक्षा कोषको वेबसाइट www.ssf.gov.np मा जाने र त्यहाँ रहेको दर्ता गर्नुहोस् लेखेको ट्याबमा क्लिक गरी ‘रोजगारदाता’ लेखेको विकल्प छान्ने ।
२. त्यसपछि आउने पेजमा मागिएका सबै जानकारी राखी submit मा क्लिक गर्ने ।
३. त्यसपछि खुल्ने पेजमा त्यहाँ मागिएका जानकारी राखी submit मा क्लिक गर्ने ।
त्यसपछि रोजगारदाता दर्ता पूरा हुन्छ ।
श्रमिक सूचीकरण
रोजगारदाताले सामाजिक सुरक्षा कोषबाट आफ्नो कम्पनीको सूचीकरण नम्बर प्राप्त गरेपछि सोही कोषमा आफूकहाँ कार्यरत सबै श्रमिक (योगदानकर्ता) को सूचीकरण गर्नुपर्छ । यसपछि श्रमिकले पनि आफ्नो परिचय नम्बर पाउँछन् । रोजगारदाताले पछिपछि रोजगारीमा आबद्ध हुने श्रमिकको पनि क्रमशः सूचीकरण गराउँदै जानुपर्नेछ । योगदानकर्ता सूचीकरणको प्रक्रिया भने हालसम्म शुरू भइसकेको छैन । जतिसक्दो चाँडो गर्न योगदानकर्ताको सूचीकरण गरिदिन कम्पनीहरूबाट अनुरोध आउने गरेको कोषकी प्रवक्ता भट्टराईले बताइन् ।
योगदानकर्ता सूचीकरण भएको दिनबाट सामाजिक सुरक्षा कोषमा उनीहरूको योगदानको गणना शुरू हुन्छ । त्यसपछि उक्त श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराउने सुविधाहरूको हकदार हुन्छ । यसरी सूचीकृत श्रमिकलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार र वृद्धावस्था सुरक्षाका सुविधा प्राप्त हुनेछन् ।
योगदानकर्ताले १ महीना मात्रै योगदान गरेको भए पनि सोही अनुसारको हिसाबले उपदान पाउँछन् भने पेन्सनका लागि १५ वर्ष योगदान गरेको हुनुपर्छ । तर बीमा भने योगदान गरेको पहिलो दिनबाटै लागू हुन्छ । देशका विभिन्न स्थानका लागि रोजगारदाताको सूचीकरण थाल्ने मिति फरक भएकाले सोही अनुसार सम्बन्धित क्षेत्रका श्रमिकको सूचीकरण हुँदै जानेछ ।