गुराँस लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ६ माघ २०७५)
Jan 20, 2019
 
लगानी
कम्पनी विश्लेषण
बीमा समितिले दिएको निर्देशन बमोजिम यस कम्पनीले यसै आर्थिक वर्षभित्र रू. २ अर्ब चुक्तापूँजी पुर्याउनुपर्नेछ । हाल कम्पनीको रू. ५९ करोड ४० लाख चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफा समेतबाट ८ प्रतिशत बोनस र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर बीमा समितिको स्वीकृति र आगामी साधारणसभाले पारित गरेछि मात्र वितरण हुनेछ । पूँजीवृद्धिका लागि बोनस र हकप्रदलाई माध्यम बनाउने योजनामा रहेको यस कम्पनीले ६० प्रतिशत हकप्रद विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : बिहीवार भएको कम्पनीको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म १ हजार ९३ कित्ता शेयर खरीद र ६ सय १८ कित्ता शेयर विक्री गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन घट्ने सङ्केत गर्दछ । कम्पनीको आरएसआई न्युट्रल जोन ५४ दशमलव ८१ स्केलमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यस्तै स्ट्यान्डर्ड डेभिएशन ५ दशमलव ७८ विन्दुमा छ । यसले उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम न्यून हुन्छ भने प्रतिफल पनि न्यून हुने गर्दछ । सोही अवधिको कारोबार अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको शेयरमूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ७ हजार २५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ७ हजार ४९ मा प्रतिरोध र सस्तिएमा रू. ७ हजार १० मा टेवा पाउने देखिन्छ ।