ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइतवारदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै अप्पर स्याङ्गे हाईड्रोपावर [भिडियोसहित]

कस्तो छ कम्पनीको समग्र अवस्था ?

२०८० असार, ८  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आइतवारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ देखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ देखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको हो ।

हेर्नुस् भिडियो

जारी पूँजी रू. २२ करोडको १० प्रतिशतले हुन आउने २ लाख २० हजार कित्ता आईपीओ स्थानीयमा बाँडफाँट गरिएको हो भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ प्रतिशेयर रू. १०० अंकित मूल्यमै विक्री गरिएको छ ।

दोस्रो चरणका विक्री गरिने शेयरमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । यीबाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

सर्वसाधारणले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सर्वसाधारणमा आईपीओ विक्री अवधि छिटोमा असार १३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ छिटो अवधि असार १३ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरको प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको परिचय

२०६५ माघ १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको यस कम्पनी २०७३ चैत १७ गते पब्लिक लिमिटेडमा परिणत भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय चण्डोल, काठमाडौंमा छ । ऊर्जा मन्त्रालयबाट २०७४ जेठ २२ गते २ दशमलव ४ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न कम्पनीले अनुमति पाएको थियो । उक्त अनुमति पत्र २१०९ जेठ २१ गतेसम्म बहाल रहनेछ ।

कम्पनीले लमजुङ जिल्लाको तत्कालीन ताघ्रिङ गाउँविकास समितिमा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट २०७८ फागुन १५ गतेदेखि व्यापारिक उत्पादन शुरु भएको हो । यस आयोजनाको कुल अनुमानित लागत रू. ५० करोड ४८ लाख छ भने प्रतिमेगावाट कुल अनुमानित लागत रू.२१ करोड ३ लाख छ । 

पूँजी संरचना

रू.२२ करोड अधिकृत पूँजी रहेको यस कम्पनीको जारी पूँजीसमेत रू. २२ करोड नै छ । हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. १३ करोड ३० लाख रहेको कम्पनीको सर्वसाधारणमा समेत आईपीओ जारीपछि चुक्ता पूँजी रू. २२ करोड कायम हुनेछ । उक्त पूँजीमा संस्थापकतर्फ ६० दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र सर्वसाधारणमा २९ दशमलव ५५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । 

वित्तीय अवस्था

कम्पनीले निर्माण गरेको आयोजनाबाट विद्युत उत्पादन शुरु गरेको एक वर्ष बितिसकेको छ । तर, कम्पनी अझै नोक्सानीमा छ । आयोजना निर्माणका लागि कम्पनीले रू. ३५ करोड कर्जा लिएको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. २ करोड ५ लाखभन्दा बढी सञ्चित नोक्सानीमा छ । वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ५४ रहेको कम्पनी रू. १४ दशमलव ६३ प्रतिशेयर नोक्सानीमा छ । चालू आर्थिक वर्ष ०७९/८० सम्म कम्पनीले सञ्चित नोक्सानी घटाएर रू. ८५ लाख ७२ हजारमा झार्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने कम्पनीले रू. ६१ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

सञ्चालक समिति

पाँच सदस्यीय सञ्चालक समिति रहेको यस कम्पनीमा वीरबहादुर घले अध्यक्ष छन् । अध्यक्ष घलेले गत वैशाख ७ गतेदेखि लागू हुने गरी कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएकाले हाल गैर कार्यकारी हैसियतमा सञ्चालक समितिको अध्यक्षको रूपमा मात्र छन् । सञ्चालक समितिको सदस्यहरूमा सोनम लामा, सौरभ ढकाल, सुरज राजवहाक र दीपिका ज्ञवाली छन् । ज्ञवाली महिला एवम् स्वतन्त्र सञ्चालकको रुपमा रहेकी हुन् ।

दोस्रो बजारमा कति पाउला मूल्य ?

कुनै पनि कम्पनीको धितोपत्र कारोबारका लागि भने दोस्रो बजारमा सूचीकृत हुनुपर्ने हुन्छ । यसर्थ कम्पनीको यो आईपीओ पनि धितोपत्र प्राथमिक बजारमा विक्री गरी दोस्रो बजारमा सूचीकृत हुनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य बजार सञ्चालकले निर्धारण गर्नेछ ।

हाल दोस्रो बजार सञ्चालकको रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्नेछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता रू. ८४ दशमलव ५४ देखि अधिकतम प्रतिकित्ता रू. २५३ दशमलव ६२ सम्मको मूल्यरेञ्ज पाउने देखिन्छ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)