साना किसान विकास लघुवित्त : कम्पनी विश्लेषण (आइतवार, ६ माघ २०७५)
Jan 20, 2019
 
लगानी
कम्पनी विश्लेषण
यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनी सदस्यलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृति गराई कम्पनीले माघ १८ गतेको वार्षिक साधारणसभामा छलफलका लागि पेश गर्ने भएको छ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनका लागि माघ ३ गतेदेखि बुक क्लोज गरेको छ । कम्पनीले विगतका ४ वर्षमा लगातार यही अनुपातमा लाभांश दिँदै आएको छ । हाल कम्पनीको रू. ६२ करोड ८८ लाख २७ हजार चुक्तापूँजी रहेको छ । १ वर्षको कारोबार अवधिमा कम्पनीको शेयर सबैभन्दा बढी रू. १ हजार ३ सय ८ र सबैभन्दा कम रू. १ हजार २० मा कारोबार भएको छ ।
प्राविधिक विश्लेषणखरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म २ हजार ८ सय ३८ कित्ता शेयर खरीद र ३ सय ७४ कित्ता शेयर विक्री गर्ने माग छ ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ । कम्पनीको आरएसआई न्युट्रल जोन ५४ दशमलव ९६ स्केलमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेको देखाउँछ । त्यस्तै गरी स्ट्यान्डर्ड डेभिएशन ७ दशमलव ३१ विन्दुमा छ । यसले उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम न्यून हुन्छ भने प्रतिफल पनि न्यून हुने गर्दछ । सोही अवधिको कारोबार अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने मूल्यरेखा नजिकिन खोजेका छन् । हालको शेयरमूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवार २५ प्रतिशत बोनसपछि मूल्य समायोजन भई रू. ८ सय ६५ दशमलव ६० मा खुलेको कारोबार अन्तिममा ३१ दशमलव ४० अंक बढेर रू. ८ सय ९७ मूल्य कायम भएको छ ।